व्यावसायिक आइडिया भए लगानीको समस्या छैन: वरिष्ठ उपाध्यक्ष ढकाल


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भएमा लगानीको समस्या नरहेको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने धारणा राखे ।

“यदि तपाईंसँग आइडिया छ, तपाईं आमजनताको लागि काम गर्नुहुन्छ र इमानदारीसाथ काम गर्नुहुन्छ भने तपाईलाई लगानीको समस्या हुँदैन,” उनले भने, “बैंक तथा वित्तीय सस्थाहरु र लगानीकर्ताहरु लगानी गर्न तयार हुन्छन् ।”

पछिल्लो समयमा देखिएको तरलता समस्याले केही समस्या देखिएको तर सामान्य अवस्थामा लगानीको समस्या नभएको उनको भनाइ छ।

मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरु मारमा परेको बताए । अहिले बैंकमा देखिएको तरलताको समस्या लामो नरहने उनको भनाइ छ ।

“अहिले निजी क्षेत्रले उठाएको एजेण्डाहरु निजीक्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रको सुधारको लागि हो,” ढकालले थपे, “निजीक्षेत्रका एजेण्डा भन्दै वेवास्ता गर्दै जाने हो भने यसको परिणाम सबै नेपालीले भोग्नुपर्नेछ ।”

उनले सरकारी संयन्त्रबिच एकआपसमा समन्वयको कमी रहेको र यसको मार निजीक्षेत्रले खेप्नुपरेको बताए।रेमिट्यान्स, बैंकिङ तथा पर्यटन क्षेत्रको आफ्नो व्यवसायिक सफलताको उदाहरण दिँदै ढकालले राज्यको प्राथमिकता र आम जनताको सेवासँग जोडिएको कुनै पनि व्यवसाय सजिलै सफल हुने अपेक्षा व्यक्त गरे।