महाभारत र खानीखोलाका तेत्तीस सय घरमा विद्युत पुर्याइँदै


काभ्रे । जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पुर्याउन धामाधम काम भइरहेको छ ।

दुई गाउँपालिकाका स्थानीयलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले रु एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो । तत्कालीन अवस्थामा जिल्लास्थित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितलाई सम्मानार्थ महाभारतको बनखुमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई दुई गाउँपालिकामा बिजुलीको मागपत्र पेस गरेका थिए । सोही मागका आधारमा सरकारद्वारा विद्युतीकरणको रकम विनियोजन गरिएको थियो ।

रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप रु ३० करोड माग गरी विद्युतीकरणको कामलाई अन्तिम चरणमा पुर्याइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार महाभारत गाउँपालिकाको वडा नं ३ फोक्सिङटार, ४ र ५ स्थित बुढाखानीका सबै घरमा बिजुलीबत्ती बल्ने गरी सबै काम हालै सम्पन्न भएको छ ।

गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदानसमेत उपलब्ध गराएको जिम्बाले बताए । उनका अनुसार हाल तीनवटा वडाका लागि एक हजार तीन सय घरधुरीका लागि मिटर पुर्याइएको छ भने हाल घर–घरमा वायरिङको कार्य भइरहेको छ । हाल शाखा लाइन विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ ।

महाभारत गाउँपालिकामा तीन हजार तीन सय घरधुरी छन् । सबै घरमा बिजुली, खानेपानी पुर्याउने गरी कार्य भइरहेको गाउँपालिका प्रमुख जिम्बाले बताए । यस प्रसारण लाइनबाट खानीखोलाको दुईवटा वडाका बासिन्दा लाभान्वित हुने जनाइएको छ ।

महाभारत गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कान्छामान जिम्बाका अनुसार यही वर्षभित्र सबै घरमा बिजुली बत्ती बालिसक्ने गरी कामलाई तीव्रता दिइएको छ । केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग, कलकारखाना सञ्चालन गर्न सकिएको थिएन । यसअघि लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो । रासस