जापान अनुभवले जन्माएको सिलौटो रेस्टुराँ


सहरका मानिसले गाउँले जीवन र खान्की मन पराउने जमात बढ्न थालेपछि भण्डारीले सिंहदरबारको छेउमा कसरी गाउँको स्वाद दिने उद्देश्य राखेर सिलौटोले सेवा दिइरहेको छ । नामै सिलौटो भएकाले सिलौटोमा पिसेको मसला नै प्रयोग गर्ने रेस्टुराँको प्रतिबद्धता छ ।

दोलखामा जन्मिएका मोहन भण्डारी २०३९ सालमा बुबासँग काठमाडौं आए । बालापन जन्मथलोमा बिताए पनि युवा अवस्था काठमाडौंमै बित्यो । उच्च माध्यमिक र स्नातकसम्मको अध्ययनको क्रममा परिवारसँगै काठमाडौंको अनामनगर नै उनको अस्थायी घर बन्यो । अवसरको खोजीमा जापान पुगेका उनी मोटरपार्ट बनाउने कम्पनीमा काम गरेका थिए । जापानी नागरिकले गरेकोे मेहनत देखेर उनी निकै प्रभावित बनेको बताउँछन् । मेहनतमा रमाउन सक्ने भएपछि ‘नेपाल गएर यति मेहनत गरे पक्कै सफल भइन्छ’ भन्ने महत्वकांक्षा बोकेर आठ वर्षको जापान बसाइ टुङ्गाउँदै सन् २००३ मा भण्डारी नेपाल फर्किए । त्यसयता उतावचढावकाबीच नेपालमा उद्यमशीलतामा होमिएका छन् उनी । पछिल्लो समयमा उपभोक्ताको आकर्षण बन्दै गरेको काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजका सञ्चालक भण्डारी स्वदेशमै उद्यमशीलतामा रमाउन चाहने युवा उद्यमी हुन् । 

जापानबाट फर्केर उद्यमशीलतामा

जापानबाट फर्केपछि भण्डारीम उद्यमी बन्ने हुटहुटी बढ्न थाल्यो । नेपाल फर्किएको केही समयपछि ट्राभल एजेन्सी खोले, धुलिखेल नजिक रेस्टुराँ पनि चलाए । सुरुका व्यवसाय उनले सोचेजस्तो सफल हुन सकेनन् । तर पनि उनले हिम्मत हारेनन् । आफूूभित्रको उद्यमी बन्ने सपना मर्न दिएनन् । युवा अवस्था बिताएको अनामनगरमै फरक किसिमले रेस्टुराँ चलाउने सोचका साथ जग्गाको खोजी गर्न थाले । खोजेजस्तो अलिक फराकिलो जग्गा फेला पारे काठमाडौंको मुटु अनामनगरमा । करिब डेढ रोपनी जग्गा लिजमा लिएर भण्डारीले सुरु गरेको रेस्टुराँ हो सिलौटो रेस्टुराँ एण्ड कटेज ।  

अनामनगरजस्तो व्यस्त ठाउँमा पार्किङ सुविधासहितको विजनेस गर्न निकै चुनौतीपूर्ण छ । “अनामनगरजस्तो प्राइम लोकेसन (ग्लोबल बैंकसँगै) जस्तो ‘प्राइम लोकेसन’ मा भनेजस्तो स्पेस पाउनु पनि उद्यमशीलताका लागि ढोका खुलेजस्तो महसुस भयो,” भण्डारी भन्छन्, “तर फस्टाउन थालेको व्यवसाय केही महिनामा नै कोरोना महामारीले ठप्प भयो ।” कोरोनाले थपेको चुनौतीलाई धैर्यताको कसिले बाँधी राख्यो सिलौटो कटेजले । थोरै सहज हुन थालेपछि कटेजले होम डेलिभरी र टेक अवे हुँदै सामान्य अवस्थातर्फ आफूलाई डोर्याउन थाल्यो । उनको धैर्यतालाई परिवार र सिलौटोका सदस्यले बल पुर्‍यायो । प्रतिकूल परिस्थितिबीच रेस्टुराँले आफ्नो व्यवसाय विस्तार गर्न थाल्यो । 

व्यस्त सहरमा जापानी शैलीको कटेज

कोरोना महामारीबाट जनजीवन सामान्यतर्फ फर्कंदै गर्दा भण्डारीले व्यापारलाई कसरी फैलाउने, सेवा कसरी विस्तार गर्ने योजना बनाउन थाले । सिलौटो कटेजमा बनाएका प्यागोडा शैलीका कटेज जापानमा धेरैको रुचिमा पर्छन् । सहरका मान्छेले बजारिया मसलेदारभन्दा टिपिकल र हाइजिन नेपाली खाना मनपराउने पारखीलाई लक्षित गरेर सिलौटो कटेजलाई विकसित गरियो । सडकबाट हेर्दा सामान्यजस्तो देखिए पनि भित्र चारैतिर कटेजभित्र फैलिएको खुल्ला ठाउँले मन आनन्दित हुने वातावरण निर्माण गरिएको छ । 

बाहिरको कोलाहलभित्र छिर्नसाथ शान्त वातावरणको आभास हुन्छ । कटेज प्रवेश गर्दा नै सांस्कृतिक परम्परा झल्किने पुराना भाँडाकुँडा, भित्तामा सजाइएका आँखीझ्याल, चित्रकलाका सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर आगन्तुकहरू सेल्फी खिचिरहेका भेटिन्छन् । कटेजका आकर्षक शैलीमा सजाइएका बत्तीले भिन्नै अनुभव हुन्छ । बाहिर बोर्डमा लेखिएको सिलौटो कटेज नामले नै यसको पहिचान दिन्छ । ठूलो सिलौटोमा हातैले पिसेको मसलाबाट बनेका परिकार प्यागोडा शैलीका कटेजमा शान्त वातावरणमा बसेर लोकल आइटमका परिकारको आनन्द लिन पाउनु नै सिलौटो कटेजको प्रमुख विशेषता हो । 

पर्याप्त पार्किङ, ब्यांक्वेटदेखि पार्टीसम्मको सुविधा 

सिंहदरबार पूर्वीगेट छेउमा रहेको सिलौटोमा छिर्ने जो कोही वाटर फाउन्टेन (कृतिम झरना)को आवाजले प्रकृतिसँगै रमाएको अनुभव हुन्छ । पाहुनाका लागि बनाइएको विभिन्न कक्ष, अनि कुर्सी वरपर सजाइएका विभिन्न फूल तथा बोटबिरुवाले माहोल अझ रमणीय हुन्छ । “अनामनगरको प्रमुख समस्या नै पार्किङको हो, यही कुरालाई मध्यनजर गरेर हामीले ३६ भन्दा बढी गाडि अट्ने तीनवटा पार्किङको व्यवस्था गरेका छौं,” उपभोक्ताको समस्यालाई प्राथमिकतामा राखेको उनी सुनाउँछन् । पार्टीका लागि पर्याप्त स्पेससहितको हल, सानोदेखि मध्यम खालको टोलिका लागि बैठक कक्ष तथा कटेजको व्यवस्था गरिएको छ सिलौटोमा । 

सिलौटो कटेज खोल्दा सुरुका दिनमा उनले ब्यांक्वेट र ठूला मिटिङ हलको योजना बनाएका थिएनन् । केही नयाँ सेवा गर्दै जाने योजनालाई पच्छ्याउँदा विवाह पार्टीदेखि पत्रकार सम्मेलन लगायतका कार्यक्रमका लागि ब्यांक्वेटदेखि ठूला मिटिङ हलको सुविधा सिलौटोमा छन् । आवश्यकता पनि थपिँदै गयो, नयाँ सेवा विस्तार गर्दा धेरै सुविधा एउटै छानामुनि दिने गरी व्यवस्था मिलाएको उनले बताए । लगानीका हिसाबले पनि ५० लाखबाट सुरु भएको उनको व्यवसायमा अहिले दुई करोड बढी लगानी गरिसकेका छन् । सिलौटो कटेजमा एकपटकमा करिब एक सयजना मानिसलाई सेवा दिनसक्ने क्षमता छ । ब्यांक्वेट हलमा विवाह, पार्टी तथा सेमिना सञ्चालन गर्न सकिन्छ । यसमा करिब तीन सयजना मानिसलाई सर्भिस दिन सकिने उनले जानकारी दिए । 

कटेजमा बसेर सिलौटोमा पिसेको आइटमको स्वाद लिन पाइने भएपछि यसको नाम सिलौटो कटेज राखिएको हो । सहरका मानिसले गाउँले जीवन र खान्की मन पराउने जमात बढ्न थालेपछि भण्डारीले सिंहदरबारको छेउमा कसरी गाउँको स्वाद दिने उद्देश्य राखेर सिलौटोले सेवा दिइरहेको छ ।

पारिवारिक वातावरण, न्यानो आतिथ्यता

पारिवारिक वातावरण र आतिथ्यतामा कुनै पनि सम्झौता नगर्ने सिलौटोको विशेषता रहेको भण्डारीको भनाइ छ । “उपभोक्ताको सन्तुुष्टिका लागि सेवामा कुनै सम्झौता गरेका छैनौं,” उनले भने । कटेजको बाहिर (बाटोतर्फ) सिलौटोकै बेकरी सपसमेत छ । जहाँ सिलौटोमै बनेको केकदेखि कफिसम्मको सुविधा छुट्टै उपलब्ध छ । बेकरीको बाहिर काठमाडौं महानगरको सित्तैमा शौचालय प्रयोग गर्न दिने अभियानलाई साथ दिएको सन्देश लेखिएको बोर्डसमेत छ । सिलौटोले दिने सेवा तुलनात्मक रूपमा सस्तो र गुणस्तरीय रहेको उनको दाबी छ । एक पटक सिलौटो पसेका जो कोही पनि दोहोरिएर पटक पटक आउने गरेकाले रेस्टुराँमा थप सेवा सुविधा थप्न बल पुुगेको भण्डारी बताउँछन् । 

दैनिक करिब दुई लाखको व्यापार गर्ने योजना अनुरुप चलेको सिलौटो कटेजले प्रत्यक्ष रूपमा करिब २० जनालाई रोजगारी दिएको छ । एउटा छानामुनि काम गर्ने कर्मचारीमा समझदारी नभए काममा एकरूपता नआउने बताउँछन् । “हामीबीच काममा एकरूपताले भएको कम सबैजना मिलेर गर्छाैं, भाइबहिनी व्यस्त हुँदा मैले टेबुल सफा गर्ने र खाना पुर्‍याइदिने काम गर्छु,” उनी भन्छन्, “नयाँ डेकुरेसन गर्दा कतिपउ आइडिया उनीहरूले ल्याउँछन् हामीले छलफल गरेर सकेसम्म आफैं बनाउने प्रयास गर्छौं । किचनबाहिका मानिसले आउटडोरका सबै काम मिलेर गर्छौं ।” ठूलोसानोको भावना नराखी परिवारका सदस्यको व्यवहारले कटेज चलाउन केही सजिलो भएको उनी बताउँछन् । काममा एकरूपता हुँदा व्यवस्थापन गर्न पनि सहज हुने उनको अनुभव छ । 

सिलौटोमा पिसेको मसला र रैथाने स्वाद

कटेजमा बसेर सिलौटोमा पिसेको आइटमको स्वाद लिन पाइने भएपछि यसको नाम सिलौटो कटेज राखिएको हो । सहरका मानिसले गाउँले जीवन र खान्की मन पराउने जमात बढ्न थालेपछि भण्डारीले सिंहदरबारको छेउमा कसरी गाउँको स्वाद दिने उद्देश्य राखेर सिलौटोले सेवा दिइरहेको छ । नामै सिलौटो भएकाले सिलौटोमा पिसेको मसला नै प्रयोग गर्ने रेस्टुराँको प्रतिबद्धता छ । यसका लागि बाहिरबाटै देखिने किचेन र किचेनबाहिर ठूलो सिलौटो राखिएको छ । सिलौटोमा कहिले मसला त कहिले टमाटरको अचार पिँधिरहेको देख्न सकिन्छ । “सहरका मानिसलाई गाउँमा पिस्ने सिलौटोले मसला पिसेर फरक स्वाद दिने निधो गरें, बस्नका लागि जापानमा धेरै रुचाइने प्यागोडा शैलीका कटेज निर्माण गरेपछि सिलौटो कटेज नाम दिएका हौं,” भण्डारीले सुनाए । 

ठूलो सिलौटोमा मसला पिसेर खानाको परिकारमा राख्दा ग्राहक पनि सन्तुष्ट हुने गरेको उनले सुनाए । “सहरको बीचमा शान्त वातावरणमा, प्राकृतिक मनोरम दृश्य हेर्दै गाउँले जीवनशैली अनुभव लिन सकियोस् भन्ने उद्देश्यले सिलौटो कटेज खोलेको हुँ,” सञ्चालक मोहनले भने, “फास्टफुुडका केही आइटमबाहेक सबै परिकारमा प्रयोग हुने मसला सिलौटोमा पिसेर प्रयोग गरेका छौं ।” टिमुर र अकबरेकोे स्वादमा सिलौटोमा पिसेर बनाइने चटनी यहाँ आउने धेरै ग्राहकको रोजाइ बनेको छ । कटेजमा थरिथरीका फूल र वनस्पतिले वातावरणमा थप रौनकता थपेको छ । सुरुका दिनदेखि नै नेपाली खानालाई प्राथमिकता दिएको भण्डारी बताउँछन् । लोकल कुखुरा, कालिज, बँदेल, लोकल खसीका विभिन्न आइटम ग्राहकको चाहना अनुरुप बनाउने गरिएको छ ।

ग्राहकको रुचिमा नयाँ वातावरण 

यसो त मेनुमा भएका सबै आइटम सिलौटोका विशेष आइटम रहेको बताउने भण्डारी ग्राहकले नयाँ वातावरणमा फरक स्वाद लिन चाहने भएकाले सेवा पनि यसै अनुरुप दिने गरिएको बताउँछन् । “सिलौटो मेनुमा भएका ननभेज आइटममा आयातीतभन्दा हाम्रो वातावरणमा हुर्किएका खसी र कुखुरा ल्याउने गरेका छौं,” उनले भने, “माछा, कुखुरा, खसी, कालिजजस्ता आइटम हामी आफैले पालेर राखेका छाैँ, ग्राहकको रुचिअनुसार यहीं फ्रेस बनाएर दिने गरेका छौं ।” नेपाली खानालाई प्रवद्र्धन गर्न सिलौटो थाली सेट खानाको व्यवस्था गरिएको छ भने त्यसमा प्रयोग हुने सबैखाले मसला सिलौटोमा पिसेर प्रयोग गरिन्छ । आगो बालेर ढुंगामा खसी, कुखुरा पोलेर(स्टोन बार्बिक्यु) खान सकिने व्यवस्था सिलौटोमा गरिएको भण्डारीले बताए ।  

ग्राहकले खानाको फकरफरक स्वादसँगै फरक किसिमको वातावरणमा बस्न रुचाउने कारण उनले डेकुरेसनमा पनि निकै ध्यान दिएका छन् । “सधै एउटै खाना त्यो पनि एउटै ठाउँमा बसेर खाना रुचाउँदैनन्,” मोहन भन्छन, “ग्राहकको रुचिअनुसार एसीसहितको डिलक्स रुमदेखि पलेटी कसेर चकटीमा खाना मिल्ने वातावरण छ ।” डेकुरेसन परिवर्तन गरिरहने उनले एउटा योजना नै अघि सारेका छन् । नाफाको २० प्रतिशत डेकुरेसनका लागि छुट्याउने बताए । ग्राहक सिलौटो कटेजमा खानासँग वातावरणको पनि आनन्द लिन सकुन् । खानासँगै युवापुस्ताको सोचाइमा आकर्षक फोटो पनि पर्ने भएकाले फोटोका लागि फोटोग्राफरको व्यवस्था पनि गरेको उनले बताए । 

(टक्सार म्यागजिन, असाेज/कार्तिक २०७९, पृष्ठ ८० देखि ८३)