समृद्धिका लागि माटो सुहाउँदो कृषि यान्त्रिकरण


पछिल्लो समयमा स्वदेशमै उद्योग खोलेर स्वदेशमै उत्पादन बढाउने भन्ने जमात छ । व्यवसायीहरू ग्रामीण भेगमा सानोसानो औजारको मर्मत केन्द्र खोल्न, प्रविधिको सप्लाइ गर्ने, किसानसँग सिधै जोडिएर काम गर्ने, गाउँगाउँमा गएर जोडिने गरेका छन् । सरकारले साथ दिने हो भने हामीले संस्थागत रूपमा र व्यवसायी पनि प्रभावकारी रूपमा कृषि यान्त्रिकरण अगाडि बढाउन लागि पर्नेछौं ।

कृषि कर्मलाई सजिलो बनाउन यन्त्र, औजार, उपकरण तथा प्रविधिको प्रयोग गरिन्छ । नेपालमा परापूर्वकालदेखि हाते यन्त्रहरू प्रयोग गरेको पाइन्छ । गाउँघरकै आरनमा बन्ने हसिया, कोदालो, फाली, बेल्चा आदिले कृषि कर्ममा केही सहजता थपेको पाइन्छ । मानिसको खानपानमा आएको परिवर्तन, विश्व व्यापीकरण, सहरीकरण, जनसंख्य वृद्धिजस्ता कारणले कृषि उपजको उत्पादन बढाउँदै लैजानुपर्ने अवस्था देखिन्छ । 

बढ्दो मागलाई पूर्ति गर्न विश्वभर कृषिमा यान्त्रिकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने काम भइरहेको छ । खनजोत गर्नेदेखि बीउबिजन रोप्ने, गोड्ने, सिँचाइ गर्ने, अन्न भित्र्याउने, दूध दुहुनेजस्ता काम कृषि मेसिनरीका कारण सहज भएको छ । परम्परागत रूपमा प्रयोग गरिँदै आइएका कृषि यन्त्र हराउँदै जाने, खेतीयोग्य जमिन बाँझिने, कृषि मजदुरको अभाव रहनेजस्ता समस्या पछिल्ला दशकमा विद्यमान देखिन्छ । यसका बाबजुुद नेपालमा कृषि यान्त्रिकीकरणको व्यापक रूपमा प्रयोग भने हुन थालेको छ । कृषिको आधुनिकरणसँगै यान्त्रिकरण पनि अघि बढिरहेको छ । 

विश्वमा विकसित हुने प्रविधि नेपालमा सहज उपलब्ध गराउन सम्भव हुन थालेको छ । पछिल्लो आठ वर्षयता कृषि यान्त्रिकरण प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल कृषि इन्जिनियरिङ व्यवसायी संघ (नामिया) को गठन गरेर संस्थागत रूपमा काम गरिरहेको अवस्था पनि छ । सरकारी संयन्त्रमा पनि कृषि यान्त्रिकरणका लागि काम गर्ने निकाय सक्रिय बन्न थालेको अवस्था विद्यमान छ । कृषि यान्त्रिकरणको विषय सरकारको बजेट भाषणदेखि गाउँघरका चियागफसम्ममा हुन थालेका छन् । यसको महत्वको चर्चासँगै हामीले सोचबुझका साथ सरकार, निजी क्षेत्र, आमकिसान मिलेर यस क्षेत्रको अवसर र चुनौतीलाई राम्रोसँग मनन गरेर अगाडि बढ्न जरुरी छ । 

कृषि यन्त्र प्रयोगका चुनौती 

सरकारले कृषि यन्त्र प्रयोगलाई प्रवद्र्धन गर्दै आएको छ । यस्ता यन्त्रमा सरकारको अनुदान पनि छ । वितरण गरिएका कृषि यन्त्रले कृषि उत्पादनमा फरक पर्यो कि परेन वा यसको सदुपयोग राम्रोसँग हुन सक्यो कि सकेन भन्ने प्रश्न अहम् छ । यो सकारात्मक पाटो हो कि किसानले आधुनिक कृषि यन्त्र अपनाउन थालेका छन् । तर प्रयोगमा ल्याएर पनि विभिन्न कठिनाइलाई सामाधान गर्न सकिएको छैन । कृषि यन्त्र धमाधम बिक्री भइरहेका छन् तर केही समयको प्रयोगपछि त्यत्तिकै थन्किएका छन् । धेरैभन्दा धेरै मेसिन त्यत्तिकै राखिएको छ । केही समय प्रयोग भएर बिग्रिएका मेसिन बनाइएको पाइँदैन, बनाउने जनशक्ति पनि हुँदैनन् । हामीले गुणस्तर प्रविधिमा ध्यानै दिएका छैनौं । 

यान्त्रिकरणका नाममा गुणस्तरहीन प्रविधि भित्र्याइरहेका छौं र यो किसानकोमा पुगेको छ । अर्कोतर्फ किसानसँग प्रविधि प्रयोगको ज्ञान सीपको अभाव देखिन्छ । यस्तै हो भने नेपाल कृषि यन्त्रको डम्पिङ साइट बन्ने जोखिम देखिन्छ । देखिएको समस्या समाधान गर्न गुणस्तरीय मेसिन किसानकोमा पुर्‍याउनु पर्दछ । प्रविधि किसानले लिए तर त्यो प्रविधिको प्रयोग गर्न किसानसँग ज्ञान, सीप भएन भने यसको औचित्य हुुँदैन । आवश्यकता पर्ने दक्षता मान्छेमा भएन । यो ठूलो चुनौती बन्दै गएको छ । नेपालमै उत्पादन गर्न नसक्दा करोडौं रुपैयाँ बाहिरिरहेको अवस्था छ । सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाल सुहाउँदो कृषि यन्त्र स्वदेशमै उत्पादन गरेमा कृषिबाट समृद्धि हासिल गर्न यान्त्रिकरणले मद्दत गर्नसक्छ । 

नेपाली किसानका लागि जति प्रविधि उपलब्ध छन् ती भए पनि ठीक नभए पनि ठीक छ भन्ने खालका छन् । त्यस्तो प्रविधि किसानलाई अनुदानको रूपमा ग्राहण गर्नुपरेको छ । अहिलेको अनुदान प्रणालीले किसानलाई चाहिने प्रविधिको प्रयोग गर्न दिएको छैन ।

किसानको आवश्यकताभन्दा फरक प्रविधि

पछिल्लो दशकमा कृषि यान्त्रिकरणको चर्चा अधिक हुन थाल्यो र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामार्फत् सरकारले यसको प्रवर्द्धन पनि गर्दै आएको छ । निजी क्षेत्रले पनि सरकारको नीतिलाई सहजीकरण गर्ने भूमिकामा छन् । तर कृषि यन्त्रको विस्तारको गति भने मिलेको छैन । नेपालमा किसानलाई आवश्यक पर्ने प्रविधि वा किसानले छनोट गरेको प्रविधिभन्दा सरकारी कार्यालय वा अनुदान दिने निकायले निकालेको सूचीमात्रै किसानले छनोट गर्नुपर्ने बाध्यता छ । जो उपयोगी नहुन पनि सक्ने रहन्छ । किसानका लागि आवश्यक पर्ने प्रविधि भने पैसा तिरेरै किन्नुपर्ने बाध्यता छ । अनुदान दिने निकायको प्राथमिकता र किसानको आवश्यकता नेपालमा तालमेल मिलेको छैन, जसका कारण उत्पादन लागत घटाउन प्रत्यक्ष सहयोग भएको छैन । जुन प्रविधि किसानलाई आवश्यक छैन त्यो प्रविधिलाई अनुदानको रूपमा ग्रहण गर्नुपरेको छ । 

धेरै प्रकारका कृषि प्रविधि नेपालमा भित्रिएको छ । जस्तै ग्रीन हाउस, पोली हाउस, नर्सरी हाउस, सेल हाउस यस्ता खालका प्रविधि छन् । पशुपालनतर्फ दूध दुहुुने मेसिन, चाप कटरको प्रयोग भएको छ । तर यसमा पनि किसानका लागि नभई नहुने प्रविधि जसले थोरै भए पनि लागत घटाउँछ त्यो सजिलो तरिकाले पाउने स्थिति छैन । नेपाली किसानका लागि जति प्रविधि उपलब्ध छन् ती भए पनि ठीक नभए पनि ठीक छ भन्ने खालका छन् । त्यस्तो प्रविधि किसानलाई अनुदानको रूपमा ग्राहण गर्नुपरेको छ । अहिलेको अनुदान प्रणालीले किसानलाई चाहिने प्रविधिको प्रयोग गर्न दिएको छैन । त्यसैले अहिलेको अनुदानको ढाँचा उत्पादन लागत घटाउने खालको छैन । यसमा परिवर्तन हुन जरुरी छ । हामीले पहल गरिरहेका छौं तर सरकारले यस विषयले गाम्भीर्यपूर्वक लिएमा मात्र सुधार गर्न सकिने अवस्था छ । 

हाम्रो आवश्यकताः माटो सुहाँउदो कृषि यान्त्रिकीकरण 

कृषि यान्त्रिकरण मात्रले पनि कृषिमा एक्कासि फड्को मारिहाल्ने हैन । अन्य विषय पनि मिल्दै जानुपर्छ । हाम्रो समस्या उत्पादन लागत बढी हुनुरहेको छ । उत्पादन लागत कम गर्न किसानलाई बीउमात्र हैन बिरुवा अनुदानमा दिने व्यवस्थासँगै लागू गर्नुपर्छ । कतिपय बालीको बीउ लैजान्छन् तर किसानले उमार्न नजान्दा बीउ नै खेर जाने पनि देखिन्छ । यस्तोमा सरकारले बिरुवा वितरण गर्न मिल्नेलाई बिरुवा र बीउ दिनुपर्नेलाई बीउ दिनुपर्छ । खासगरी टनेलमा खेती गर्नेलाई यस खालको समस्या देखिन्छ । कृषि उत्पादन बढाउन आवश्यक मलखादको भूमिका रहन्छ । मलमा सहुलियत दिने, आफैले मल उत्पादन गर्न प्रोत्साहन गर्ने नीति सरकारको हुनुपर्छ । अहिले आधुनिक युगमा विकास भएको ‘स्मार्ट सिँचाइ’ प्रयोग गर्न सकियो भने उत्पादन बढ्न सक्छ । 

बाली थन्काउने, ढुवानीदेखि बजारको व्यवस्था राम्रो हुनुपर्छ । यी कुरामा जोड दिने हो भने किसानले कृषि पेसालाई छाडेर पलायन हुने अवस्था कम हुन्छ । अर्कोतर्फ कृषि पेसालाई अँगालेर हामीले यदि राम्रो जीवनशैली बिताउन सक्यौं भने आकर्षण बढ्छ । नेपालमा कृषि क्षेत्रको विकासका लागि स्वदेशमै उत्पादन भएको यन्त्र आवश्यक छ । यही विषयलाई नै हामीले उठाएका छौं र यसैमा रहेर काम गरेका छौं । नेपाली बजार आयातीत औजार प्रविधिले भरिएको छ । स्वदेशमै यस्ता उद्योगहरू खोल्छु भन्ने मानिसलाई आयातीत प्रविधिले विस्थापित गरेको छ । यस्तो अवस्थामा स्वदेशी औजार, उपकरण प्रविधि नेपालमा उत्पादन गर्न सकिन्छ । हराउँदै गएका परम्परागत आरनलाई व्यवस्थित गर्दै पुनः उत्पादनमा लगाउनुपर्छ । बन्द रहेको कृषि औजार कारखाना हामी (उद्योगी) लाई सञ्चालन गर्न दिए बजारको माग पूरा गर्छौँभनेर भनिरहेका छौं । सरकारले दिएमा गर्छौं पनि ।

नीतिमा सुधार र निजी क्षेत्रको प्रतिबद्धता

सरकार आफै कृषिमा आधुनिकरण र व्यवसायीकरणको नारा लगाउँदै आए पनि यान्त्रिकरणमा प्रभावकारी काम नहुनुमा नीति नै बाधक रहेको छ । यो देशमा केही गर्न सक्छन्, केही गर्न सकिन्छ भन्ने धारणा सरकारी ओहोदामा रहनेमा कम छ । विदेशबाट आयात गर्दा तयारी सामानमा एक प्रतिशत भन्सार हुन्छ तर स्वदेशमै उत्पादन गर्नका लागि ल्याइने कच्चा पदार्थमा ३०/३५ प्रतिशत भन्सार शुल्क छ । यस्तो खालको नीतिले स्वदेशको उद्योग, स्वदेशको उत्पादन कसरी सम्भव छ ? सरकारको नीतिका कारण किसान पलायन भएका छन्, कृषि औजार बनाउनेहरू पलायन भएका छन् । परम्परागत रूपमा औजार बनाउँदै आएका आरन प्रविधिलाई विकास र प्रोत्साहन गरिएन । आयात भएका कृषि औजारसँग प्रतिस्पर्धा गर्न नसक्ने भए । 

पैसावालले नीति र कानुनमा चलखेल गर्ने गरेका कारण नेपालले कृषि औजार उत्पादनमा फड्को मार्न सकेको छैन । भएका उद्योग बन्द हुने अवस्थामा छन् । हाल कच्चा पदार्थमा लाग्दै गरेको भन्सार शुल्क रेडिमेड सामानमा लगाइदिने र कच्चा पदार्थमा एक प्रतिशतमात्र भन्सार लाग्ने अवस्था सरकारले बनाउने हो भने मात्र पनि नेपालमा कृषि यन्त्रसम्बन्धी उद्योग खुल्ने छन् ।

सरकारले स्वदेशी औजारको उत्पादनलाई मात्र जोड दिने नीति ल्यायो भने नेपालको कृषिमा प्रयोग गर्ने ८० देखि ९० प्रतिशत औजार नेपालमै उत्पादन हुनेछ । सरकारले यस्ता कुरामा मात्रै ध्यान दियो भने नेपालको कृषि क्षेत्रको कायपलट हुने थियो । 

सबै सरकारले मात्र गर्नुपर्छ भन्ने पनि हैन । हामी निजी क्षेत्रको पनि उत्तिकै भूमिका रहन्छ । नामिया गठन भएको आठ वर्ष भयो । संस्थामा आबद्ध सदस्यहरूले आआफ्नो व्यवसाय र संस्थामार्फत् पनि कृषि यान्त्रिकरण प्रवद्र्धनमा लागिरहेका छौं । पछिल्लो समयमा स्वदेशमै उद्योग खोलेर स्वदेशमै उत्पादन बढाउने भन्ने जमात छ । व्यवसायीहरू ग्रामीण भेगमा सानोसानो औजारको मर्मत केन्द्र खोल्न, प्रविधिको सप्लाइ गर्ने, किसानसँग सिधै जोडिएर काम गर्ने, गाउँगाउँमा गएर जोडिने गरेका छन् । सरकारले साथ दिने हो भने हामीले संस्थागत रूपमा र व्यवसायी पनि प्रभावकारी रूपमा कृषि यान्त्रिकरण अगाडि बढाउन लागि पर्नेछौं । बन्द भएको कृषि औजार कारखाना पुनः सञ्चालन गर्नेदेखि नयाँ कारखाना खोल्ने, प्रविधि विस्तार गर्ने काममा हामी निजी क्षेत्र सरकारको साथमा साथ, काँधमा काँध मिलाएर अगाडि बढ्न तयार छौं । यसो गर्न सकिए कृषि यान्त्रिकरणको मात्र हैन अर्थतन्त्रमै धेरै सुधार हुनेछ । 

(कटुवाल नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष तथा नेपाल थोपा सिँचाइ प्रालिका संस्थापक हुन्)

(टक्सार म्यागजिन, असाेज/कार्तिक २०७९, पृष्ठ ५० देखि ५१)