अन्योलमा कमोडिटी मार्केट [भिडियाे रिपाेर्टसमेत]


धितोपत्र बोर्डले पुनः तेस्रो पटक २०७९ असोजमा कमोडिटी एक्सचेन्जको लागि दरखास्त आव्हान ग-यो  तर  मिति सकिन केही दिन बाँकी रहँदा सर्वोच्च अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको छ ।

पछिल्लाे समय वस्तु विनिमय बजार (कमोडिटी डेरिभेटिभ मार्केट)को चर्चा र बहसको विषय बनेको छ । नेपाल धितोपत्र बोर्डले नियमन गर्ने गरी ऐन जारी भएको ५ वर्ष बितिसक्दा पनि कमोडिटी मार्केट सञ्चालन हुन्छ या हुँदैन अझै टुंगो छैन । 

नेपालमा करिब १३ वर्षदेखि कमोडिटी मार्केट सञ्चालनमा थिए । यसरी बिनानियमन सञ्चालन भइरहेको कमोडिटी डेरिभेटिब मार्केटको नियमन गर्ने जिम्मा २०७४ सालमा नेपाल धितोपत्र बोर्डले पायो । योसँगै बोर्डले वस्तु विनिमय बजारको नियमन गर्न ‘वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४’ जारी ग-यो । 

उक्त ऐन जारी भएसँगै कम्पनी ऐनअन्तर्गत वस्तु विनिमय बजार सञ्चालन गर्दै आएका कम्पनीको कारोबार औपचारिक रूपमा बन्द भयो । २०७४ साल भन्दाअघि नेपालमा कमोडिटी मार्केटको राम्रै कारोबार हुने गरेको लगानीकर्ताहरू बताउँछन् । 

बोर्डले ऐन जारी गरेसँगै औपचारिक रूपमा कमोडिटी मार्केट सञ्चालनको लागि बाटो त खुल्यो तर ऐन जारी भएको ५ वर्ष बितिसक्दा बोर्डले कुनै तदारूकता नदेखाउँदा सञ्चालन हुन नसकेको जानकारहरू बताउँछन् । 

यद्यपि बोर्डका अधिकारीहरू भने अहिले कमोडिटी मार्केट सञ्चालनको लागि आन्तरिक तयारी सहित आवेदन माग गरिएको तर्क गर्छन् ।

बोर्डले आर्थिक वर्ष २०७५/०७६ बाट वस्तु विनिमय बजारलाई समेत समावेश गरी ‘धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । हरेक वर्षको नीति तथा कार्यक्रममा वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने भन्ने उल्लेख मात्रै गर्ने कार्यान्वयन गर्न नखोज्ने बोर्डको कमजोरी रहेको लगानीकर्ताहरूको आरोप छ । 

यसअघि एक दुई पटक कमोडिटी एक्सचेन्जको लागि लाइसेन्स दिने प्रक्रिया अगाडि बढेको भए पनि कानुनका केही कुरामा स्पष्ट नहुँदा रोकिएको बोर्डका प्रवक्ता रुपेश केसी बताउँछन् । 

“दुई पटक लाइसेन्स खुलाउँदा ५/६ वटा कम्पनीको आवेदन परेको थियो,” केसी भन्छन् “पहिला केही समस्या थिए तर अहिले बोर्डको आन्तरिक क्षमता पनि वृद्धि गरिएको छ । यसर्थ बोर्ड कुन बाटोमा जाने भन्ने स्पष्ट भएकोले अब समस्या हुँदैन ।”

बोेर्डले २०७८ मा वस्तु विनिमय निर्देशिका जारी गरेपछि त्यसै अनुरूप २०७९ असोज २ गते कमोडिटी एक्सचेन्जको लागि आवेदन खुला गरिएको केसीले बताए ।

तेस्रो पटक दरखास्त आह्वान

धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको लागि तेस्रो पटक दरखास्त आह्वान गरेको छ । बोर्डले २०७६ सालमा वस्तु विनिमय बजार सञ्चालनको लागि दरखास्त आवेदन माग गरेको थियो । त्यसमा ५ प्रस्तावित कम्पनीहरूले पूर्वस्वीकृतिका लागि निवेदन दिएका थिए । 

वस्तु बजारसम्बन्धी नियमावली, २०७४ को नियम (५) बमोजिम ती कम्पनीले सम्पूर्ण कागजात तथा विवरण पेश नगरेको भन्दै पाँचै निवेदकलाई बोर्डले पूर्वस्वीकृति प्रदान नगर्ने निर्णय गरेको थियो ।

मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणको आधारमा बोर्डबाट दुईवटा कम्पनीलाई मात्रै वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति दिने नीतिगत निर्णय सहित बोर्डले पुनः २०७६ वैशाखमा कमोडिटी एक्सचेन्जको लागि आवेदन माग ग-यो । 

कमोडिटी एक्सचेन्जको लागि माग गरिएको दरखास्तमा ६ कम्पनीले निवेदन दिए, जसमा कमोडिटी फ्युचर्स एक्सचेन्ज लिमिटेड (सीएफएक्स), राइजल कमोडिटी एक्सचेन्ज लिमिटेड (आरसीडीएक्स), नेसनल कमोडिजिट एन्ड डेरिभेटिभ, मल्टी कमोडिटी एन्ड डेरिभेटिभ, नेपाल डेरिभेटिभ एक्सचेञ्ज, नेपाल मर्कन्टायल एक्सचेञ्ज थिए । 

दोस्रो पटक पनि केही कानुनी समस्या रहेको भन्दै बोर्डले ती कम्पनीलाई पूर्वस्वीकृतिको लागि अनुमति दिन सकेन । 

बोर्डले पुनः तेस्रो पटक २०७९ असोजमा कमोडिटी एक्सचेन्जको लागि दरखास्त आव्हान ग-यो तर मिति सकिन केही दिन बाँकी रहँदा सर्वोच्च अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको छ । अधिवक्ता दीपकविक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले अगाडि बढाएको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कार्तिक ४ गते कारण देखाऊ आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडि नबढाउन आदेश दिएको थियो ।

अहिले कमोडिटी एक्सचेन्जको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले केही प्रक्रिया अगाडि नबढेको बोर्डले जनाएको छ । 

“केही कम्पनीहरू परार्मशको लागि आइरहेका थिए तर कात्तिक ४ गते पूर्वस्विकृतिका लागि निवेदन लिएर केही कम्पनी आए पनि सर्वोच्चको आदेश बमोजिम हामीले निवेदन लिन सकेनौं,” केसी भन्छन् ।

कमोडिटी एक्सचेन्जको लागि गत वर्षहरूमा आवेदन दिएका ६ वटा कम्पनीहरूले पनि स्तर वृद्धि गरेर पुनः आवेदन दिनुपर्ने बोर्डले जनाएको छ । 

“पहिला सर्वोच्चबाट के निर्णय हुन्छ हेरौं,” बोर्डका अधिकारीले भने “कमोडिटी डेरिभेटिभ एक्सचेन्ज सञ्चालनको लागि बोर्ड तयारी अवस्थामा छ । वस्तु विनिमय बजारको कारोबार एकदमै नयाँ हो, त्यसैले आन्तरिक क्षमता वृद्धिको तयारी गरेर मात्रै दरखास्त आह्वान गरेका हौं, बोर्डमा कमोडिटी एक्सचेन्जको लागि काम गर्ने छुट्टै टिम बनिसकेको छ, त्यसैले अदालतको निर्णयपछि सबै काम सुरु भइहाल्छ ।” 

बोर्डले तेस्रो पटक वस्तु विनिमय बजारको २ वटा एक्सचेन्जलाई अनुमति दिने गरी दरखास्त आह्वान गरेको छ । प्रतिस्पर्धी बजार बनाउनको लागि सुरुमै दुई एक्चेन्ज ल्याउन खोजिएको धितोपत्र बोर्डले जानकारी दिएको छ । 

“नेपालमा सुरुवात गर्नलाई एउटा एक्सचेन्ज भए पनि पुग्थ्यो,” बोर्डका प्रवक्ता केसी भन्छन्, “वस्तु विनिमय बजारलाई प्रतिस्पर्धी बनाउन लगानीकर्ताको चाहना र बजारलाई अध्ययन गरेर दुईवटा एक्सचेन्ज ल्याउन खोजिएको हो, पछि गएर बजारको विकास हुन नसकेको खण्डमा दुई कम्पनीलाई मर्ज गर्न पनि सकिन्छ ।”

बोर्डका अनुसार कमोडिटी एक्सचेन्ज स्थापनाका लागि न्यूनतम चुक्ता पूँजी डेढ अर्बदेखि दुई अर्ब रुपैयाँसम्म लाग्ने भएको छ ।

बोर्डले कमोडिटी डेरिभेटिब एक्सचेन्ज स्थापनाका लागि तयार पारेको ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका २०७८’ को मस्यौदा अनुसार दुई किसिमको चुक्ता पुँजी रहने गरी वर्गीकरण गरिएको हो । 

न्यूनतम १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी हुने एक्सचेन्जले कृषिजन्य, तेल र अन्य (चिनी, कफी,अण्डा आदि)को कारोबार गर्नेछन् भने २ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनेले कृषिजन्य, धातुजन्य, बहुमुल्य धातु, खनिज तेलजन्य, तेल र अन्य वस्तुको कारोबार गर्न पाउनेछन् । 

के हो वस्तु विनिमय बजार ? 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयरको कारोबार भएजस्तै कमोडिटी एक्सचेन्जमा वस्तुको कारोबार हुन्छ । कुनै पनि वस्तु निश्चित मूल्य निर्धारण गरी भोलिका लागि समेत मूल्य तय गरी क्रय–विक्रय गर्ने प्रक्रियालाई वस्तु विनिमय बजार (कमोडिटी मार्केट) भनिन्छ । कमोडिटी अर्थात वस्तु विनिमय भन्नाले त्यस्ता ब्रान्डिङ नगरिएका वस्तुहरू हुन्, जसलाई उत्पादन, किनबेच र उपभोग गर्न सकिन्छ । कमोडिटी मार्केटमा कृषिउपज, पशुपंछी, धातुमा सुन, चाँदी, तामा, कपास, कफी, धान कच्चा तेललगायत वस्तुको कारोबार हुन्छ । 

यी वस्तुहरूको मूल्य दिनहुँजसो परिवर्तन हुने भएकाले उत्पादनकर्तालाई निश्चित आम्दानी र लगानीकर्ता नाफा सिर्जना गराउने उद्देश्यले कमोडिटी मार्केट सञ्चालनमा आएको यस क्षेत्रका जानकार बताउँछन् । 

क्रेता र बिक्रेतबिच एकै ठाउँमा भेला भएर वा नभएर तत्काल वा भविष्यमा हस्तान्तरण गर्ने गरी वस्तुको किनबेच गर्ने स्थान वा प्रणालीलाई वस्तु विनिमय बजार अर्थात भविष्यको बजार पनि भनिन्छ । 

यो बजारमा ऐनले तोकेका वस्तुहरूको करारमा कारोबार हुने गर्छ । क्रेता र विक्रेताबिच भविष्यमा वस्तु किन्न वा बेच्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी तयार गरिएको करारलाई वस्तुको करार भनिन्छ । त्यस्ता कारारको भौतिक हस्तान्तरण तथा नगदमा समेत राफसाफ हुने व्यवस्था हुन्छ । यस्तो किसिमको करार कारोबारका लागि कमोडिटी एक्सचेन्ज अर्थात वस्तु विनिमय बजार सूचीकृत गरिएका हुन्छन् ।

यो बजारमा कमोडिटी बजारमा वेयर हाउस, राफसाफ तथा फस्र्यौट व्यवसाय, बजार निर्माता, लगानी व्यवस्थापक, लगानी परामर्शदाता, संरक्षक (कस्टोडियन), वस्तु कारोबार व्यापारी, वस्तु कारोबार दलाल लगायतका संस्थाहरू रहेका हुन्छन् ।

कसरी हुन्छ कारोबार ?

नेप्सेमा सेयर कारोबार गर्न ब्रोकर भएजस्तै कमोडिटी बजारमा पनि ब्रोकर हुन्छन् । ब्रोकरमार्फत लगानीकर्ताले कारोबार गर्न सक्छन् ।

लगानीकर्ताले ग्राहक दर्ता फारम भरेर ब्रोकरमा खाता खोल्नु पर्छ । ग्राहक दर्ता फारम क्लियरिङ हाउसले स्वीकृत गरेपछि कारोबारीले ‘ग्राहक कोड’ प्राप्त गर्दछ र लागानी रकम जम्मा गरी कारोबार गर्न सकिन्छ । 

सेयर खरिद बिक्री भएपछि राफसाफ भए जस्तै यसमा पनि वस्तु खरिद–बिक्री पछि राफसाफ हुन्छ । सेयरको हकमा किनेपछि सेयर आफ्नै डिम्याट खातामा आउँछ भने वस्तुको हकमा आफूले किनेको वस्तु वेयर हाउसमै रहन्छ तर त्यसको स्वामित्व भने आफूसँगै रहने बोर्डले जनाएको छ । 

बोर्डका अनुसार वेयर हाउसले वस्तु विनिमय बजारमा हुने कारोबारसँग सम्बन्धित वस्तुको भण्डारण गर्ने वा तत्सम्बन्धि निस्सा जारी गर्छ । साथै भण्डारण भएका वस्तुको संरक्षण तथा त्यस्तो वस्तुको कारोबार पश्चात हस्तान्तरण पनि वेयर हाउसले गर्छ ।

सम्भावना र चुनौती 

कमोडिटी बजारलाई सरकारले समयमै बुझ्न सकेको भए अहिले कालीमाटी तरकारी तथा फलफूल बजारकै अस्तित्व किन भनेर अलमलिनु नपर्ने अवस्था आइसकेको हुने कमोडिटी बजारमा कारोबार गरेका वस्तु विनिमय बजारका लगानीकर्ता सुजन शर्मा बताउँछन । 

२०७४ सम्म सञ्चालनमा रहेका एक्सचेञ्जहरूले सेयर बजारको तुलनामा ठूलै फड्को मारेको उनको भनाइ छ । विश्व बजारमा कमोडिटी मार्केटमा लगानीकर्ताको उल्लेखनीय सहभागिता हुने गरेको छ । यो बजारमा धातु (मेटल) तथा गैर धातु (ननमेटल) वस्तुहरूको पनि व्यापार हुने हुँदा देशको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुग्ने लगानीकर्ताहरूको भनाइ छ ।

कमोडिटी मार्केटको सम्भावना देखेर नै आजभन्दा १७ वर्ष अगाडि नियमनको लागि सरकारसँग प्रस्ताव गरेको पूर्वगर्भनर तथा धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा.चिरन्जिवी नेपाल बताउँछन् । “मेरो धितोपत्र बोर्डको कार्यकालमा सुरुवात गर्न पहल गरेको हो,” नेपाल भन्छन्, “त्यतिबेला सरकारले अहिले कमोडिटी मार्केटको सम्भावना छैन, नियमन गर्ने बेला भएको छैन भन्यो । त्यतिबेला कमोडिटी बजारको कारोबार गर्ने ३ वटा कम्पनीहरूले यस्तो बजारलाई बोर्डले नियमन गरिदिनुप-यो भनेका थिए ।’ 

नेपालका अनुसार अहिले पनि वस्तु विनिमय बजारमा कारोबार भइरहेको छ । कृषिजन्य उत्पादनभन्दा पनि धातु तथा बहुमूल्य धातुजन्य उत्पादनहरूको कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकले पनि सुन अन्तर्राष्ट्रिय बजारमा कमोटिडी मार्केटबाटै किन्ने गर्छ । यदि वस्तु विनिमय बजार सञ्चालन भएमा अहिले बजारमा खाद्य वस्तुहरूको मूल्यमा भएको मनपरी नियन्त्रण हुने नेपालको भनाइ छ । “हाम्रो वस्तु विनिमय बजारमा धातु, तेल तथा अन्तराष्ट्रिय ब्राण्डका वस्तुभन्दा पनि स्थानीय कृषिजन्य वस्तुहरूलाई समेट्न सकियो भने त्यसले देशको अर्थतन्त्रमा पनि केही राहत पुग्नेछ,” अर्थविद् नेपालले भने । 

नेपालमै उत्पादिन वस्तुलाई विनिमय बजारमा प्रवेश गराई उक्त बजारबाट किसान, उद्यमी एवम् आमउपभोक्ता र सरकारलाई समेत बजारको सकारात्मक प्रतिफल देखाउन थप चुनौतिपूर्ण रहेको यस क्षेत्रका विज्ञहरू बताउँछन् । योे बजार सञ्चालन एवम् व्यवस्थापनमा वित्तीय व्यस्थापन एवम् डेरिभेटिभ मार्केटको ज्ञान, सिप एवम् अनुभव प्राप्त जनशक्ति उपलब्ध हुनुपर्छ । यस्तो जनशक्तिको विकास एवम् प्राप्ति आफैमा थप चुनौति छ । 

बजार सञ्चालनका प्राविधिक पक्षको ज्ञानको अभावमा सरकारी निकायहरू एवम् नियामक निकायबाट विरोधाभाषपूर्ण नीतिनियम निर्माण भई कार्यान्वयन भएमा सोबाट सिर्जना हुने अविश्वासको वातावरणले भने मुलुकको पूँजीबजार विकास एवम् लगानी वातावरणमा नकारात्मक असर पर्ने एक लगानीकर्ता बताउँछन् । 

वास्तविक अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा छ

रुपेश केसी 

प्रवक्ता, नेपाल धितोपत्र बोर्ड

वस्तु विनिमय बजार पनि एक प्रकारको औजार हो । वित्तीय बजारमा औजारहरू कारोबार हुने हो । समान्य अर्थमा हामीले बुझ्दा कमोडिटी एक्सचेन्ज भन्ने वित्तिकै सामान किनबेच गर्ने ठाउँ भन्ने बुझिन्छ तर यो कमोडिटी डेरिभेटिभ एक्सचेन्ज हो । यसमा ‘डेरिभेटिभ’ औजारको कारोबार हुन्छ । कमोडिटी डेरिभेटिभ मार्केटमा प्रमुख तीन कुराहरू प्राइस ‘डिस्कभरी’, ‘हेजिङ’ र ‘आरविटेज’ आउँछन् ।

वस्तु विनिमय बजारमा खासगरी सझौता पत्रमा कारोबार हुने गर्दछ । त्यसैले बजारको मूल्य कति हुन्छ भनेर क्रेता र विक्रेतालाई थाहा होस् मूल्य प्रदर्शन (डिस्प्ले) गर्दा बिचमा कसैले खेल्न नपाओस् भन्ने अपेक्षा हो । त्यस्तै दुई पक्ष (क्रेता र विक्रेता)लाई मिलाउने कुरालाई ‘आरविटेज’ भनिन्छ । यसमा वेयरहाउसको कुरा पनि आउँछ तर हाम्रोमा वेयरहाउससम्बन्धी ऐन बनिसकेको छैन । वस्तु विनिमय बजार सम्बन्धी ऐनमा केही नियमावली छन् । त्यसमै आधारित रहेर नियम बनाउन खोजिरहेका छौं ।यी कुराहरू बजार विकास हुँदै जाँदा बनाउँदै जाने हो । 

क्रेता र विक्रेताबिच भविष्यमा वस्तु किन्न वा बेच्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी तयार गरिएको करारलाई वस्तुको करार भनिन्छ । यस्ता करारको भौतिक हस्तान्तरण नगदमा समेत राफसाफ हुने व्यवस्था छ । जस्तै अहिले धानको समर्थन मूल्यको कुरा आएको छ, यस्ता कुराहरूलाई कमोडिटी डेरिभेटिभ मार्केटमा जोड्न सकिन्छ । 

नेपालमा पनि जरुरी छ हाम्रो अर्थतन्त्रलाई सहयोग पुग्ने गरी धान, अलैंची कफी जस्ता कृषिजन्य वस्तुको ग्रेडिङ हुन्छ । यी सबै संरचनाको विकास हुँदै जाँदा देशको वास्तविक अर्थतन्त्रमा समेत फाइदा पुग्छ भन्ने मुल मर्म हो । 

टे«डिङ प्लेटफर्मको लागि प्रविधि, जनशक्ति बोर्ड आफैको सुपरभाइजर क्षमताको लगायतका विषयमा तयारी गर्नुपर्ने भएकोले बिचमा निवेदन आए पनि मूर्तरुप लिन सकेन । अहिले कमोडिटी एक्सचेन्जको मुद्दा अदालतमा विचाराधीन छ, त्यसको फैसला भएपछि प्रक्रिया अगाडि बढाउन बोर्ड तयारी अवस्थामा छ ।

राष्ट्रको वेयर हाउस प्रणाली मजबुत हुन्छ

बासुदेव अधिकारी 

पूर्वकार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

वस्तु विनिमय बजारको हातहाती बजार (स्पट मार्केट) र भविष्यको बजार (फ्यूचर मार्केट) दुवैको सम्भावना छ । व्यापार क्रियाकलाप, निर्माण क्रियाकलापको खपत बढी हुने ठाउँ जस्तो कृषिजन्यमा धेरै पर्दैन । हामीकहाँ कृषिजन्य उत्पादन आफ्नै घरबाट झिकेर खाने हुन्छ । जब खपत, निर्माण, व्यापार बढ्छ, तब साधनहरूको स्टक भविष्यमा के होला भन्ने डर हुन्छ । त्यसको लागि कमोडिटी मार्केटमा क्रेताले अहिले नै किनेर होल्ड गरेर राख्न सक्छ । कमोडिटीको मूल्य अत्यधिक घटबढ् नहोस्, त्यसमा बिमाले पनि कभर गरोस् र त्यो मूल्य स्थिर लेभल जाओस् भनेर यसको आवश्यकता हो ।

ठूल्ठूला वेयर हाउसमा कमोडिटीहरू राख्ने गरिन्छ । मेटल, आयलजस्ता चिज ठूला वेयरहाउसमा बस्छ । प्रमाणित वेयरहाउस भएपछि अहिले किनेको कफी मलाई मार्चमा चाहियो, मूल्य निर्धारण भयो भने मान्छेले घरमा कफी लगेर राखदैन र विस्तारै लिएर जान्छ । कुनै पनि उत्पादक कम्पनीहरूले केही उत्पादन गर्न जस्तै तामा, एलमोनियमको जसरी मूल्य निर्धारण भयो यसरी डेलिभर गर भनेर सकिन्छ । 

त्यसैगरी कतिपय यसमा सम्झौताका कारोबार पनि हुन्छ । सुनको, चाँदीको कारोबार भौतिक रूपमा हुदैँन । यसमा राष्ट्र बैंकले पनि कारोबार गर्छ । राष्ट्र बैंकले विश्व बजारबाट किनेको भने पनि हामीले ‘पेपर कारोबार’ गर्ने हो । पेपर किन्छौ राख्छौँ, यदि बढ्यो भने बेच्न पनि सक्छौँ । 

हाम्रो बजारमा भविष्य (फ्युचर) कारोबारको पनि सम्भावना छ । एक पटक मैले नेपालका वस्तु विनिमय बजार सञ्चालनको लागि कतिवटा कमोडिटी एक्सचेन्जको आवश्यकता छ भनेर अध्ययन गरेको थिएँ । सो अध्ययनबाट नेपालको अर्थतन्त्र अनुसार २ वटा एक्सचेन्ज भए पुग्ने निष्कर्ष निकालेको थिएँ । एउटै कम्पनीमा प्रतिस्पर्धा हुँदैन थोरै बजार भए पनि उसलाई पुगिहाल्छ त्यसैले प्रतिस्प्रर्धात्मक बजारको लागि २ वटा एक्सचेन्ज आवश्यक छ भन्ने रिपोर्ट नेपाल धितोपत्र बोर्डलाई पेश गरेको थिएँ । 

नेपालको मार्केट अलि राम्रो नभएको, ट्रेडरहरूलाई अहिले त्यति ज्ञान नहुने भएकाले यसको मूल्य कसरी निर्धारण गर्ने कुराहरू पनि आउँछन् । यसलाई व्यवस्थित गर्नको लागि भारतमा, यूएईको दुबई जस्ता देशहरूमा कमोडिटी एक्सचेन्ज रहेका छन् । उनीहरूसँग जोइन भेन्चर काम गर्न सकियो भन सजिलो हुन्छ ।

(टक्सार म्यागजिन, मंसिर २०७९, पृष्ठ १२ देखि १५)