माघ १६ गतेदेखि आइपीओ निष्काशन गर्दै आत्मनिर्भर लघुवित्त


काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख बढि कित्ता सेयर आईपीओ निष्काशन गर्ने लागेको हो ।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्टाएको छ। यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १६ माघदेखि १ फागुनसम्म र सर्वसाधारणलाई ११ फागुनदेखि छिटोमा १५ फागुनसम्म र ढिलोमा फागुन २५ गतेसम्म आईपीओ निष्काशन गर्ने जनाएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यको स्वीकृति लिएका बैंक तथा वित्तीय संस्था र मरो सेयर मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ।

लघुवित्तले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।