एससिटी र माछापुच्छ्रे बैंकबिच सम्झौता


काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) र माछापुच्छ्रे बैंकबिच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) र ‘क’ वर्गको माछापुच्छ्रे बैंकबिच एससीटी युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधब सुवेदीले हस्ताक्षर गरेका छन् ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच भएको यस सम्झौताले नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

यस सम्झौता पश्चात माछापुच्छ्रे बैंकका ग्राहकहरुले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, इकमर्श जस्ता सेवा लिन सक्ने छन् ।