‘ब्राण्डिङ र प्याकेजिङमा काम गर्न नसक्दा नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार उपस्थिति कमजोर’


काठमाडौं । ब्राण्डिङ र प्याकेजिङमा सशक्तरूपमा काम गर्न नसक्दा नेपाली उत्पादनहरूको अन्तराष्ट्रिय बजार उपस्थिति कमजोर बन्न पुुगेको तथ्य यस क्षेत्रका विज्ञहरुले औल्याएका छन् । ब्राण्डिङ, आकर्षक प्याकेजिङमा लगानी गर्न नसकेका कारण सम्भाव्यता रहदा रहदै पनि नेपाली उत्पादन अन्तराष्ट्रिय बजारमा जान नसकेको लघु, घरेलु तथा साना उद्योग सम्मेलन (एसएमईज) सम्मेलनका सहभागी विज्ञहरूले प्रष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघले गरेको एसएमईज सम्मेलमा राम्रो प्याकेजिङ र ब्राण्डिङ गर्न सक्यो भने नेपाली थुप्रै उत्पादन निर्यात गर्न सकिने जुनकुरामा नेपाल चुकी रहेको सम्मेलनमा ठूला तथा साना उद्योग बिच व्यवसायिक अन्तरसम्बन्ध विषयक छलफलका वक्ताहरूले बताए ।

उत्पादित वस्तुुहरूको गुणस्तरमा सुनिश्चितता महत्वपूर्ण पाटो रहेकाले यसका लागि एसएमइज इकोसिस्टम भित्र प्याकेजिङ, ब्राण्डिङ, गुणस्तर र बजारीकरण लगायतका विषयमा प्रतिवद्धता आवश्यक रहेको औंल्याएको थियो ।

वक्तहरुले बजारको मागलाई बुुझेर आफ्ना उत्पादन विकास गर्नुपर्ने र उपभोक्ताको उत्पादनप्रतिको बुुझाईमै परिवर्तन ल्याउन सक्नुुपर्ने सुुझाव दिएकाछन् ।

नेपालमा संचालित ९९ प्रतिशत उद्योग व्यवसाय घरेलु साना एवं मझौला उद्यम छन् । कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ भने त्यसमा ९० प्रतिशत हिस्सा एसएमईजको छ ।

सम्मेलनमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप र परियोजना कर्जा सम्बन्धी कार्यविधि छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे । साना उद्यमीले व्यहोर्नु परेका प्रक्रियात झन्झटको समस्यालाई समाधान गर्न सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

एसएमईजका लागि मुख्य चुनौतीको रुपमा देखिएका वित्तिय पहुंच, बजार प्रवद्र्धन, दक्ष जनशक्ति, प्रक्रियागत झन्झट, ब्याजदर लगायतमा संवोधन गर्न सरकार तयार रहेको प्रतिवद्धता अर्थमन्त्रीको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले साना ठूला सबै उद्योगको क्षमता करिब ६० प्रतिशतले घटेकाले महंगो ब्याजले उद्यम टिकाउन पनि नसकेकोबेला लगानी विस्तार गर्न सउमस्या भइरहेको बताए । अध्यक्ष गोल्छाले उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउन आग्रह गरे ।

करिव १७ लाखलाई रोजगार दिइरहेको एसएमईज क्षेत्रमा आधुनिक प्रविधी प्रयोग गर्दै बजारको माग अनुसार गुणस्तरिय उत्पादन आपूर्ति गर्न सकियो भने नेपालमा उद्योगबाट ठूलो आर्थिक उन्नति गर्न सकिने सम्भावना रहेको अध्यक्ष गोल्छाले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एसएमईजलाई सघाउ पुुर्याउन महासंघले एसएमइज सेवा केन्द्र संचालनमा ल्याउने तयारी गरिरहेको र पछि यसलाई सवै प्रदेश च्याप्टरमा लैजाने विश्वास दिलाएका छन् ।