निर्यात प्रवर्द्धनमा भएकाे चुक


नेपालको छिमेकी देशहरूले हाम्रो जस्तो देखिने नक्कली सामान बनाएर विश्व बजारमा निर्यात गरिरहेका छन् । उनीहरूले कमजोर गुणस्तरका सामान कम मूल्यमा निर्यात गर्ने गरेका छन् । हेर्दा उस्तै देखिने तर कम गुणस्तरका सामान निर्यात गरेर हाम्रो बजारमा असर पारिरहेको छ ।

अनुपबहादुर मल्ल-

नेपाल र जर्मनीको मित्रता धेरै पुरानो हो । नेपाललाई जर्मनीले पहिलेदेखि नै सहयोग गर्दै आइरहेको छ । पूर्व र पश्चिम जर्मनी हुँदादेखि नै सहयोग प्राप्त हुन थालेको हो । भूपरिवेष्ठित राष्ट्र भएर नेपालको व्यापार नफस्टाइरहेको अवस्थामा पनि जर्मनीले नेपाललाई व्यापारमा सहयोग गर्दै आइरहेको थियो । 

नेपालको व्यापार बढाउनको लागि जर्मनीले विभिन्न रूपमा सहयोग गरिरहेको छ । नब्बेको दशकभन्दा अघि जर्मनीसँग नेपालको व्यापार मुनाफामा थियो, जुन बेला नेपालको गलैँचा अत्यधिक हिसाबले जर्मनी निर्यात भइरहेको थियो । 

नेपालको यस्तो व्यापार जर्मनीसँग अहिले पनि चलिरहेको छ । नेपालको छिमेकी देशहरूले हाम्रो जस्तो देखिने नक्कली सामान बनाएर विश्व बजारमा निर्यात गरिरहेका छन् । उनीहरूले कमजोर गुणस्तरका सामान कम मूल्यमा निर्यात गर्ने गरेका छन् । हेर्दा उस्तै देखिने तर कम गुणस्तरका सामान निर्यात गरेर हाम्रो बजारमा असर पारिरहेको छ । जर्मनीसँग पनि यही कुरा लागू हुन्छ । नब्बेको दशकपछि हाम्रो व्यापार अहिले घट्दै नगण्य अवस्थामा पुगेको छ । 

 जर्मनीले प्रविधि, क्षमता बढाउने, बजार पहुँचको कुरामा सहयोग गर्दै आइरहेको छ । जर्मनीको नेपाल हेर्ने दृष्टि र सहयोग अहिले पनि चलिरहेको छ । नेपालको निर्यात बढाउने सम्भावनासँगै चुनौती पनि बढिरहेको छ । नेपालबाट निर्यात गर्दा चुनौती रहिरहन्छ । बजारमा कुनै उत्पादनको माग भएपछि छिमेकी देशले पनि आफ्नो उत्पादनलाई विश्व बजारमा पुयाउन प्रयास गरिरहेको हुन्छ ।  

छिमेकी देशले नेपाललाई हेर्ने नजर सँधै कमजोर भन्ने छ । नेपालबाट सम्बन्धित हाम्रो प्रवर्द्धन गर्ने अधिकारीहरूले यसलाई कसरी बजार विकास गर्न सकिन्छ भनेर निजी क्षेत्रसँग मिलेर राम्रो कार्यक्रम ल्याउन सकिएको छैन । त्यसैले व्यापार घट्दै गइरहेको छ भने चुनौती बढ्दै गइरहेको छ, यो जहिले पनि रहिरहन्छ ।  नेपालमा कानुन बनाउने तर कार्यान्वयन नभएको अवस्था छ । 

आयातको कुरा गर्दा जर्मनीको उत्पादन महँगो हुन्छ । जर्मनीबाट मेसिनरी, प्रविधिजन्य, इलेक्ट्रोनिक्स सामान र गाडी नेपालमा आयात भइरहेको छ । यसरी हेर्दा उनीहरूको लागि हाम्रो बजार महत्वपूर्ण छैन । नेपाल सानो बजार हो । 

पछिल्लो समय जर्मनीसँग नेपालको आयात निर्यात दुवै घट्दै गइरहेको चिन्तालाग्दो अवस्था छ । हामीले सामानको विकास गर्न नसकेको र नीतिगत समस्याको कारण जर्मनीसँग हाम्रो व्यापार घट्दै गइरहेको हो । हाम्रो युवा जनशक्ति पलायन भइरहेको छ । हामीले सामान निर्यात गर्नुपर्नेमा देशको युवा निर्यात गरिरहेका छौं । त्यसले पनि भविष्यमा समस्या पर्ने देखिन्छ । अहिले प्राप्त भइरहेको रेमिट्यान्स पनि अपेक्षाभन्दा अहिले ५० प्रतिशत कम छ ।

 हामीले दक्ष जनशक्ति तयार गरेर निर्यात गर्न सकेको भएदेखि ती जनशक्तिबाट प्राप्त हुने रेमिट्यान्स पनि बढ्न सक्थ्यो । हामीले जनशक्तिलाई निर्यात गर्ने हो भने पनि दक्ष जनशक्तिलाई निर्यात गर्ने हो भने त्यसको परिणाम देखिने छ ।

देशभित्र औद्योगिक प्रवद्र्धनको कमी भएको हुनाले हाम्रो व्यापार घाटा बढ्दै गइरहेको हो । नब्बेको दशक अगाडि नेपालको सामान उच्च रूपमा निर्यात भइरहेको थियो । त्यसको प्रवद्र्धनमा ध्यान नदिएको, निर्यात प्रवद्र्धनलाई बढावा नदिएको कारण हामीले व्यापार घाटा खेपिरहनु परेको छ । हामी अझै पछाडि जान सक्ने स्थिति छ किनभने हाम्रो राजनीतिक नेतृत्वमा यसबारे सोच र चिन्तन नै छैन ।

हामीले जर्मनीबाट के सिक्नेभन्दा पनि हामीले हाम्रो छिमेकी देशबाट सिक्न सक्नु पर्छ । हामीले विकसित मुलुक जर्मनीबाट तुलना गर्ने होइन, दक्षिण एसियाकै निर्यात स्रोत केन्द्र बनेको हामीले बंगलादेशसँग तुलना गरेर हेर्नुपर्ने हुन्छ । अहिले बंगलादेशको अर्थतन्त्र कहाँबाट कहाँ पुुगिसक्यो ? तुलनात्मक लाभका विषय हामीले छिमेकी देशबाट सिक्नुपर्छ, जसले गर्दा हामी प्रवर्द्धनात्मक रूपमा अगाडि बढ्न सक्छौं । 

हामीले हिजोको दिनमा कृषिजन्य उत्पादन निर्यात गर्ने गरेका थियौं । आज धान, चामल, दाल आयात गर्छौं । हामी केही कुरा पनि आत्मनिर्भर छैनौं । हामी सबै कुरा बाहिरबाट आयात गर्दा अन्य मुलुकले नीतिगत परिवर्तन गर्दा पनि नेपालमा हलचल हुने अवस्था छ । हामीले त्यसकारण छिमेकी देशहरुबाट सिक्नुपर्छ भनिएको छ ।

हामीभन्दा पछि गार्मेन्टको उत्पादन र निर्यात सुरु गरेको बंगलादेशले विश्व बजारमा अर्बौं डलरको गार्मेन्ट निर्यात गर्छ । हाम्रो अवस्था हिजोभन्दा आज अझ घट्दै गइरहेको छ । यसकारण हामीले बंगलादेशबाट सफलताको पाठ सिक्नुपर्छ । नजिक रहेका छिमेकी देशले के गर्दैछन्, कसरी गर्दैछन् ? हामीले त्यो हेर्नुपर्छ । हामीले पछ्याउँदै गयौं भने हामी निकै अगाडि बढ्न सक्छौं, व्यापार घाटा कम गर्न सक्छौं ।

(टक्सार म्यागजिन, २०७९ पुस, पृष्ठ ५० देखि ५१ सम्म)