मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भोली सार्वजनिक गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । शुक्रबार (भोली) नै संचालक समितिको बैठक बसेर सोही दिन नै मौद्रिक नीति समिक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिको समीक्षाका लागि तयार गरिएको मस्यौदालाई छलफल गरी पास गर्ने उद्देश्यले भोलि(शुक्रबार) बिहान ८ः३० बजे केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक डाकिएको छ ।

पछिल्लो समय आर्थिक सूचकहरु सबल बन्दै गएकाले कर्जा लगानी सहज बनाउने नीति लिइने सागै खासगरी पुँजीगत खर्च बढाउन सहयोग पुग्ने किसिमको मौद्रिक नीति आउने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

यता, सेयर धितो कर्जामा पनि केही सहज नीति आउने संकेत राष्ट्र बैंकले दिएको छ । लगानीकर्ताहरुले पनि सेयर धितो कर्जामा १२ करोडको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोभन्दै उक्त व्यवस्था फिर्ता गर्न सुझाव दिएका छन् । सोही अनुसार केही लचक व्यवस्था गर्न सकिने सम्भावना रहेको केन्द्रीय बैंकको भनाई रहेको छ ।

सरकारले लिएको राजश्व संकलनको लक्ष्यमै गम्भीर धक्का परेको अवस्थामा राजश्व बढाउन सहयोग पुग्ने खालका नीतिहरुमा समेत केन्द्रीय बैंकले यसपटक विशेष ध्यान दिने अधिकारीहरुको दाबी छ ।

मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथम संशोधन, २०७९ ले त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।