यातायात मजदुरद्धारा बन्द फिर्ता


काठमाडौँ । यातायात मजदुरहरुले काठमाडौँ उपत्यकामा गरेको सार्वजनिक यातायात बन्द फिर्ता लिएका छन् । आज बिहान सिहंदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो ।

मन्त्रालयका अनुसार मजदुरका माग सम्बोधनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम नेतृत्वको कार्यदलले ११ गतेभित्र आवश्यक छानबिन गरेर सुझाव दिने सहमति भएको छ । त्यस्तै नयाँ बसपार्कभित्रको विवाद समाधान गर्न काठमाडौँ महानगर, मजदुर र बसपार्क व्यवस्थापकबीच मन्त्रालयले समन्वय गर्ने सहमति भएको छ ।

त्यस्तै नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको ल्होत्से भवनमा समेत तोडफोड भएको थियो । सोमबारको घटनामा संलग्नलाई पहिचान गरी कारबाही गर्ने सहमति भएको छ । मंगलबारको वार्तामा यातायात व्यवस्था विभाग, काठमाडौं जिल्ला प्रशासन कार्यालय र मजदुरका प्रतिनधि सहभागी थिए ।