संकटतिर ‘मुडा गाउँ’


४३ वर्ष अगाडि सुरु भएको मुडा गाउँको व्यावसाय अब भने संकटोन्मुख छ । एउटा सिंगो बस्तीको आयआर्जनको स्रोत बनेको मुडा व्यवसायका लागि कोरोना महामारी, आर्थिक संकट, लघुवित्त तथा वित्तीय संस्थाको ऋण र वैदेशिक रोजगारी मुख्य चुनौती बनेर आएका छन् । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर – १२ र अर्जुनधारा नगरपालिका वडा नम्बर – १० को सिमानामा पर्छ, कालिझोडा वस्ती । यो वस्तीमा छिरेपछि टिनले छाएको एउटा चिटिक्क परेको सानो घरमा धमाधम मुडा बनाइरहेका भेटिन्छन्, ८६ वर्षीय मोगाधन राई र उनकी श्रीमती ८४ वर्षिया कृष्णकुमारी राई । 

झण्डै २०/२५ वर्षदेखि राई दम्पतिको आम्दानी स्रोत नै मुडा व्यावसाय हो । मोगाधन राई कान कम सुन्ने गर्छन् तर मुडा बनाउने काममा यसको कुनै असर छैन । मोगाधनलाई श्रीमती ८४ वर्षिया कृष्णकुमारीले साथ दिइरहेको भेटिन्छिन् । राई दम्पति जस्तै यो गाउँमा कुनै यस्तो घर छैन जो मुडा बनाउने काममा संलग्न नहोस् । मोगाधनका अनुसार आफूजस्तै २ सयभन्दा बढी परिवार मुडा बनाउने पेशामा संलग्न छन् । पेशा नै यो गाउँको परिचय हो अर्थात ‘मुडा गाउँ’ ।

विगत

यो गाउँलाई मुडा गाउँमा बदल्ने व्यक्ति हुन्, खड्गबहादुर सार्की । सार्की २०३२/३३ सालमा साथीहरूको लहैलहैमा लागेर अवैध रूपमा भैँसीको छाला भारत पुर्‍याउन सक्रिय थिए । अवैध काममा लगेपछि उनी प्रहरीको फण्डामा परे । नेपाल प्रहरीले अवैध रूपमा छाला तस्करी गर्दै गरेको अवस्थामा पक्राउ गरेपछि झण्डै १ वर्ष झापाको चन्द्रगढी स्थित जिल्ला कारागारमा बसे । 

छाला तस्करीमा लगेको आरोपमा जेल परेपछि खड्गबहादुर र उनका साथीले मुडा बनाउने सिप सिक्न थाले । एक वर्षको जेल बसाईंका क्रममा खड्गबहादुर मुडा बनाउन सिपालु बने । स्थानीयका अनुसार जेलबाट छुटेपछि खड्गबहादुृरको दैनिकी फेरियो । २०३६ सालदेखि उनले आफ्नै गाउँमा जेलमा सिकेको सिपलाई सदुपयोग गर्दै मुडा बुन्न थाले । उनी एक्लैले मात्रै मुडा बुनेनन्, गाउँलेलाई समेत सिकाए । 

गाँउमा नै पहिलो पल्ट मुडा बुन्ने कामको सुरुवात गरेका खड्गबहादुरले आपूmले जानेको सिप अरूलाई समेत सिकाउन थालेसँगै सिङ्गो गाउँका मानिस यसमा संलग्न भए । खड्गबहादुरले सिकाएको सिपले मुडा बुनेर गाउँलेले मनग्य आमदानी गर्न थाले र सिंगो गाउँको पेशा व्यवसाय नै यही बन्न पुग्यो । गाउँमै ४३ वर्षअघि मुडा उद्योग सुरु गरेका खड्गबहादुर बितेको ३ वर्ष पुग्यो तर उनको सिप गाउँभरि फैलिएको छ । 

खड्गबहादुरको सिपले सिंगो गाउँ नै मुडा उत्पादनमा लागेपछि कालिझोडाको अर्को नाम, ‘मुडा बस्ती’ बन्यो । २०३६ सालदेखि सुरु भएको यो गाउँको मुडा व्यवसायमा अहिले झण्डै २ सयभन्दा घरपरिवार संलग्न छन् । मेचीनगर नगरपालिका वडा नम्बर –१२ का अध्यक्ष मधु निरौला भन्छन्,“ यससँग सम्बन्धित दुई दर्जनभन्दा बढी उद्योग दर्ता भएर सञ्चालनमा होलान्, झण्डै दुई अढाई सय घर परिवार मुडा व्यवसाय गरिरहेका छन्, यो ठाउँको परिचय नै यै बनेको छ ।”

संकटतिर

४३ वर्ष अगाडि सुरु भएको मुडा गाउँको व्यावसाय अब भने संकटोन्मुख छ । एउटा सिंगो बस्तीको आयआर्जनको स्रोत बनेको मुडा व्यवसायका लागि कोरोना महामारी, आर्थिक संकट, लघुवित्त तथा वित्तीय संस्थाको ऋण र वैदेशिक रोजगारी मुख्य चुनौती बनेर आएका छन् । 

खड्गबहादुरकी श्रीमती ६७ वर्षीय कृष्णकुमारी सार्की भन्छिन्, “मेरो श्रीमान्ले सुरु गरेको पेसा व्यवसायका कारण सिंगो गाउँ नै आर्थिक रूपमा सबल बन्दै गएको थियोे तर स्थानीय सरकारले यो पेशा व्यवसाय सकिने अवस्थामा पुग्दा पनि यसलाई संरक्षण गर्नतिर नलाग्दा दुःख लाग्छ । अहिले मेरै छोरा विदेशिनु परेको छ ।”

घरमै बसी बसी गर्न सकिने भएकाले पनि यो व्यवसाय सजिलो छ तर बढ्दो महंगीका कारण लागत बढ्दै गए पनि व्यापार भने खस्कँदो छ । मुडामा आश्रित सयौं युवा विदेशिएका छन् । मुडा बुनेर नै दैनिक ५ सयदेखि ८ सयसम्म कमाई हुँदा पनि परिवारको खर्च धान्न मुस्किल परेपछि विदेश जान बाध्य भएको स्थानीय बासिन्दा बताउँछन् । 

मुडा उत्पादन बढे पनि बजार नपाउँदा र विचौलियाका कारण यो पेसा संकटमा रहेको मुडा बुन्दै गरेका लालबहादुर मगरले बताए । उनका अनुसार हाल ठेकेदारले प्रतिगोटा १३० रुपैयाँदेखि १५० रुपैयाँसम्म दिने गरेका छन् । 

केही वर्ष अघिसम्म दैनिक २ गाडीसम्म मुडा व्यापार गर्ने उक्त गाउँमा अहिले मुस्किलले हप्तामा १ गाडी बाहिर जाने गरेको देवान मुडा उद्योगका सञ्चालक पदमबहादुर राई बताउँछन् । उनले भने,“अहिले पनि उक्त पेसा व्यावसायमा प्रत्यक्ष /अप्रत्यक्ष दैनिक ५०० को हाराहारीले रोजगारी पाइरहेका छन्, भने यो संख्या दैनिक रूपमा घट्दै गएको छ ।” 

हातमा सिप भएपछि काम पाइएन, बेरोजगारी भइयो भनेर कोही पनि मानिसहरू गाँउमा बेरोजगार बस्नुपर्ने अवस्था भने नरहेको स्थानीय मुडा व्यवसायी लक्ष्मी अछामी बताउँछिन् । गाँउका १० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेकी लक्ष्मीले मुडा व्यवसायबाट आफ्नो परिवार चलाउँदै आएको बताइन् । उनले भनिन्, “दिनभर बसेर समय बिताउनुभन्दा आयस्रोत पनि हुने र समय पनि सदुपयोग हुने भएका कारण हामी यसमा लागिरहेका छौं, अर्को यसमा ठूलो लगानी पनि चाहिँदैन ।” 

पछिल्लो समय मुडा व्यवसाय संकटमा पर्दै गएका कारण पनि स्थानीय सरकार तथा सम्बन्धित निकायले यो व्यवसायलाई संरक्षण र प्रवर्धन गर्दै बजार व्यवस्थापन गरिदिनुपर्ने मुडा बस्तीको माग छ ।