ब्रोकर शाखा खोल्न निर्देशिका जारी, चुक्ता पुँजीभन्दा नेटवर्थ बढि हुनुपर्ने


काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ ।
धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितोर सहज बनाउन बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा खोल्ने सम्बन्धी निर्देशिका लागु गरेको हो ।

धितोपत्र दलाल व्यवसायी(सेयर ब्रोकरेज कम्पनी)हरुले शाखा कार्यालय खोल्दा चुक्ता पुँजी डेढ करोड रुपैयाँको दरले कायम गर्नुपर्ने व्यवस्था कार्यान्यनमा आएको छ ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९’ लागू गर्दै यस्तो व्यवस्था गरेको हो ।

निर्देशिकामा ब्रोकरले काठमाण्डौ उपत्यकाबाहिर कम्तीमा ३ वटा शाखा कार्यालय खोलिसकेपछि मात्र काठमाण्डौ उपत्यकाभित्र शाखा खोल्न पाउने व्यवस्था रहेको छ ।

शाखा कार्यालय खोल्न चाहने धितोपत्र दलाल व्यवसायीको नेटवर्थ चुक्तापूँजीभन्दा बढी हुनुपर्नेछ भने शाखा कार्यालयमा खटाइने कर्मचारीहरुलाई जिम्मेवारी दिनुअघि ग्राहक व्यवस्थापन, कारोबार, कारोबार प्रणाली, राफसाफ तथा फछ्र्यौट, जोखिम व्यवस्थापन, धितोपत्र बजार सम्बन्धी प्रचलित कानून स्थापित संस्था तथा तिनीहरुको काम, कर्तव्य र अधिकार लगायतका विषयमा पर्याप्त जानकारी हुने गरी मुख्य कार्यालयबाट तालिमको व्यवस्थापन हुनुपर्नेछ ।

यस्तै, कुनै पनि ब्रोकर कम्पनीको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतले सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाएको भएमा सजाय पाएको मितिले एकवर्षसम्म सम्बन्धित कम्पनीले शाखा कार्यालय खोल्न नपाउने व्यवस्था गरिएको छ ।

यस्तै, एकपटक शाखा कार्यालय खोल्ने स्वीकृति पाएर तोकिएको समयमा खोल्न नसक्नेले अर्को एक वर्षसम्म पुनः शाखा कार्यालय सञ्चालनका लागि निवेदन दिन नपाउने व्यवस्था समेत भएको छ ।

कुनै शाखा कार्यालय सञ्चालनमा व्यवधान भएमा त्यो बन्द गर्ने निवेदन धितोपत्र बोर्डमा दिनुपर्ने र आवश्यक अध्ययन गरी बोर्डले १५ दिनभित्रमा शाखा बन्द गर्न निर्देशन दिनसक्नेछ ।

त्यस्तै शाखा कार्यालय खोलिसकेका ब्रोकरहरुको चुक्तापूँजी यो निर्देशिकाको व्यवस्थाअनुसार नपुगेको खण्डमा यो निर्देशिका प्रारम्भ भएको ६ महिनाभित्र पुर्याउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

ब्रोकरले एकपटकमा एउटा शाखा कार्यालय खोल्नका लागि मात्र निवेदन दिनसक्ने र स्वीकृति पाएको ३ महिनाभित्रमा शाखा सञ्चालनमा ल्याइसक्नुपर्ने नियम समेत बनाइएको छ ।

निर्देशिकाकाअनुसार धितोपत्र दलालको शाखा कार्यालय तयार गर्न निम्न पूर्वाधार अनिवार्य रहेको छ ।

शाखा कार्यालयको क्षेत्रफल प्रत्येकमा कम्तिमा पाँच सय वर्गफिट हुनुपर्ने,

शाखा कार्यालयमा कम्तिमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख र परिपालन (कम्प्लाइन्स) अधिकृत तथा सूचना प्रविधि सहित कम्तीमा तीन जना कर्मचारी हुनुपर्ने,

शाखा कार्यालयबाट हुने कारोबार मुख्य कार्यालयमार्फत हुने व्यवस्था गर्नुपर्ने,

कम्तिमा दुई थान कम्प्युटर र त्यसका लागि (power Backup)भएको हुनुपर्ने,

शाखा कार्यालयको कारोबार गर्ने कम्प्यूटरमा कम्तीमा (Dedicated Internet Connecitivity (leased Line) को प्रयोग भएको हुनुपर्ने,

कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टाछुट्टै हुनुपर्ने,

टेलिफोन, फ्याक्स, इमेल, इन्टरनेट तथा सिसीटिभि जस्ता पूर्वाधारहरुको व्यवस्था भएको हुनुपर्ने,

कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामाग्रीहरुको यथोचित व्यवस्था भएको हुनुपर्ने ।