बैंक तथा वित्तीय संस्थाका ऋणी लघुवित्तबाट कर्जा लिन अयोग्य


काठमाडौं । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले घ वर्गको इजाजत प्राप्त लघुवित्तहरुलाई निर्देशन जारी गर्दै अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए÷नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए÷नलिएको यकीन गर्नु पर्ने जनाएको छ ।

राष्ट्र बैंकले बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्ने उल्लेख गरेको छ । अब एकभन्दा बढी लघुवित्तबाट ऋण लिन नपाइने व्यवस्था राष्ट्र बैंकले जनाएको छ ।

तर, यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न यस व्यवस्थाले बाधा नपुर्याउने र साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा सत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले उल्लेख गरेकाे छ ।