एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ


काठमाडौँ । सरकारी निकायहरूको वेबसाइटहरुबीच एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमका बिच सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ गरेकी हुन् ।

यस प्रणाली अन्तर्गत सूचना तथा प्रशारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेवसाइटहरु सञ्चालनमा आउने भएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइटहरू हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहररू पाउन सकिने अवस्था आएको बताइन् । उनले यसबाट धेरै खर्च कटौती हुने तथा साइबर सुरक्षाको दृष्टिले पनि सुरक्षित हुने बताइन् ।

उनले भनिन्,“हाम्रा सबै सरकारी वेवसाइटहरु हेर्दाखेरी विभिन्न थरी, विभिन्न डिजाइन, त्यहाँभित्र पस्दा कसको सूचना कतातिर कुनमा छ ? के छ ? भनेर सर्वसाधारणले पनि खोज्न धेरै अफ्ठेरो हुने । विभिन्न मन्त्रालयको छुट्टाछुट्टै खोज्नुपर्ने जुन स्थिति छ, त्यो स्थितिको अन्त्य हाम्रो यो प्रणालीको विकासले गर्नेछ भन्ने लागेको छ । कार्यविधि नै पास भइसकेको हुनाले हामीलाई यसमा फलोअपको कुरा मात्रै हो ।”

सूचना प्रविधि विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक उपलब्ध गराउने र सोही प्रयोगकर्तामार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा मेनु र उपमेनुहरु थपघट गर्न, नारा तथा लोगो राख्न, ग्यालरी, भिडियो र व्यानर व्यवस्थापन गर्न सकिने जनाइएको छ ।

कर्मचारीको विवरण, संगठन संरचना लगायतका कामहरु पनि गर्न सकिने बताइएको छ ।

सबै सरकारी निकायहरुको निगरानी गरी ह्याक हुनसक्ने जोखिम कम गर्न सो को तत्काल जानकारी गराउन वेव मोनिटरिङ प्रणाली समेत सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।