इलाममा जन्मिएका राजकुमार कार्कीले पुख्र्यौली पेसालाई अंगाल्दै अलैँची व्यावसायमा संलग्न भए । आफ्नो बुवाले इलाममा सुरु गरेको व्यावसायलाई विस्तार गरेर झापाको विर्तामोडमा पुर्याए र अहिले काठमाडौँ केन्द्रित छन् । अलैचीसँगै अदुवा, अम्रिसोलाई प्रमुख व्यावसायिक आधार बनाए । उनी २०६२ सालमा नेपाल अलैँची व्यावसायी संघको संस्थापक महासचिव बने । नेपाल अदुवा संघको उपाध्यक्ष भएर नेतृत्व गरे भने उनी नेपाल अलैँची महासंघको निवर्तमान अध्यक्ष हुन् । निर्यात व्यावसायी महासंघको संस्थापक सदस्य बनेका कार्कीले नेपाल उद्योग वाणिज्य महासंघको निर्यात परिषद् समितिमा सदस्य बनेर अनुभव संगाले । अहिले उनी नेपाल कुचो संघको केन्द्रीय अध्यक्ष हुन् । कार्कीले आगामी कार्यकालका लागि नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा केन्द्रीय कार्य समितिका लागि उम्मेदवारी घोषणा गरेका छन् । यसै विषयमा टक्सारले कार्कीसँग गरेको कुराकानी :
लामो समय वस्तुगत संघहरूको नेतृत्व गर्नुभयो । यसपटक नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्य समिति सदस्यको उम्मेद्वार बन्नुभएको छ । यहाँका मुद्दाहरू के के छन् ?
मैले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिनुको कारण साना तथा मझौला व्यावसायीको प्रतिनिधित्वका लागि हो ।
विशेष गरेर कृषि उद्यम क्षेत्रमा लागेका साथीहरूको माग राज्यले सम्बोधन गर्न नसकेको अथवा राज्यसम्म लैजानको लागि पहुँच पुग्न सकेको अवस्था छैन । जसका कारणले कृषि क्षेत्रकै मान्छेहरूले प्रतिनिधित्व गर्नको लागि अनुरोध गर्नुभएको हो । यसो भनिरहँदा मैले कृषिको मात्र प्रतिनिधित्व गर्ने होइन ।
अहिले मुलुकको अप्ठेरो अर्थतन्त्रको अवस्थामा हरेक क्षेत्रहरू प्रभावित भएका छन् । पर्यटन क्षेत्र,वैदेशिक क्षेत्र, पुँजी बजार, सेवा क्षेत्र, चलचित्र, सिमेन्ट,औद्योगिक सबै क्षेत्र असरहरूको बिचमा बसिरहेको छ ।
यी समस्याहरूको समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य मार्फत मैले आफ्नो संस्थालाई सबैको समस्याहरूको आवाज बनेर नेपाल सरकारसँग समन्वय गर्ने सहकार्य गर्ने र गलत नीति नियम छन् भने तिनीलाई परिमार्जन गर्ने उद्देश्य राखेर उम्मेदवारी दिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ सबैभन्दा ठुलो सञ्चाल भएको उद्योगी व्यावसायीहरूको संस्था हो तर वस्तुगत संघको विषयमा महासंघले ध्यान पुर्याउन सकेन भन्ने गुनासो सुनिन्छ । महासंघले खाली ठुला घरानाहरूको पक्षमा काम ग¥यो भन्ने आलोचना छ । तपाईं वस्तुगत संघको प्रतिनिधित्व गरेर जान खोजिरहँदा महासंघको पहुँचलाई विस्तार गर्न सक्नुहुन्छ कि हुँदैन भन्ने आशंका त छ नि ?
देशका धेरै क्षेत्रहरूबाट नेपाल उद्योग वाणिज्य महासंघ भनेको ठुला व्यावसायीहरूको,ठुला घरानाको मात्रै संस्था हो र यसमा प्रतिनिधित्व यिनीहरूले मात्र गरिरहन्छ भन्ने कुरा उठ्छ । यसको मतलब महासंघले साना मझौला व्यावसायहरुलाई समेटेको छैन भन्ने कुरा फेरि वस्तुपरक छैन ।
हामी मझौला साना व्यावसायीको प्रतिनिधित्व गर्नेहरूले हिनता बोध गर्नु हुँदैन । यत्रो वस्तुगत संघहरूको अध्यक्ष बनेका छौं । हामी पनि चानचुने हिसाबले आफ्ना संस्था ट्रयाक गरिराखेका छैनौं ।
हाम्रो समस्याहरूका लागि जोडदार आवाज उठाउनुपर्छ । हामीले जोड्दार आवाज उठाएर वस्तुगत संघमा प्रतिनिधित्व गरायौं भने नेपाल उद्योग वाणिज्य महासंघभित्र विकृतिहरू रहेका छन् भने हट्छ । उद्योग वाणिज्य महासंघको आफ्नो उद्देश्य अनुसार अगाडि बढ्छ ।
महासंघको उद्देश्य भनेकै सबै उद्योगी व्यावसायीहरू एकै पक्षमा बोल्ने, आफ्नै हितमा काम गर्ने हो । हाम्रो प्रतिनिधित्व भयो भने त्यो पक्षमा हामी निर्णय गराउन सक्छौं । यसकारण पनि वस्तुगत संघमा उम्मेद्वार दिएका व्यक्तित्वहरूको पृष्ठभूमि उहाँहरूको जोश जाँगर र उहाँहरूले विगतमा गरेका क्रियाकलापहरूलाई अध्ययन गरेर मतदाताहरूले मतदान गर्नुपर्छ ।
हामी मझौला साना व्यावसायीको प्रतिनिधित्व गर्नेहरूले हिनता बोध गर्नु हुँदैन । यत्रो वस्तुगत संघहरूको अध्यक्ष बनेका छौं । हामी पनि चानचुने हिसाबले आफ्ना संस्था ट्रयाक गरिराखेका छैनौं ।
मेरो हकमा मैले प्रतिनिधित्व गरेँ भने बाहिर आएका समस्याहरूलाई सुधारेर नेपाल उद्योग वाणिज्य महासंघभित्रैबाट यसको छवि, यसको साखलाई अगाडि बढाउने प्रयत्न गर्छु ।
नेपाली अर्थतन्त्रमा घरेलु,साना तथा मझौला उद्योगहरूको योगदान ठुलो छ । महासंघको मुख्य मेरुदण्ड पनि यिनै हुन् भनिन्छ तर महासंघमा यसको उपयुक्त प्रतिनिधित्व हुन सकेन भन्ने छ ?
नेपाल उद्योग वाणिज्य महासंघको विधानमा वस्तुगत जिल्ला, नगर र एसोसियट भनेर तीन च्याप्टर छुट्टाइएको छ । तीन च्याप्टरमा आफ्नो आफ्नो उपाध्यक्षहरू हुनुहुन्छ । अहिलेसम्म महासंघलाई हेर्दा एसोसियट तथा जिल्ला नगरबाट आएको नेतृत्व हाबी छ । यद्यपी हाम्रो निरन्तरको प्रयत्नले अहिले हेर्ने हो भने वरिष्ठ उपाध्यक्षको दुई जना दाबेदारहरू वस्तुगत बाट नै हुनुहुन्छ ।
अन्जन श्रेष्ठ वस्तुगतकै उपाध्यक्ष हुनुहुन्छ । उमेशलाल प्रधान पनि विगतको वस्तुगत संघकै उपाध्यक्ष हुनुहुन्छ । उहाँहरू दु्वै जना वरिष्ठ उपाध्यक्षको दाबी हाम्रो लागि सुखद पक्ष हो किन भने वस्तुगतबाट नेतृत्व आयो भने हाम्रो माग पनि सम्बोधन गर्न सक्लान् । वस्तुगतले पाएको यो ठुलो उपलब्धि हो जस्तो लाग्छ ।
तपाईंले कुचो संघ गठन गर्दा कतिपयले हाँसीमजाक पनि गरे तर वार्षिक झण्डै ५ अर्बको कुचो निर्यात हुन्छ भनेर यहाँहरुले भन्दै आउनुभएको छ । ओझेलमा परेको क्षेत्रलाई समेत संगठित गर्नुभयो । महासंघमा उम्मेदवारी घोषणा गरिरहँदा यस्ता ओझेलमा परेका लघु,घरेलु तथा साना मझौला उद्योगको लागि थप उठान गर्नुपर्ने विषय के छन् ?
मैले पहिला अलैँची व्यावसायी संघ स्थापना गर्दा पनि अलैँची के हो भन्ने कुरा नेपालमै धेरैलाई थाहा थिएन । अहिले पनि ६/७ अर्ब रुपैयाँको अलैँची निर्यात गर्छौैं र कृषिजन्यमा सबैभन्दा धेरै निर्यात गर्ने अलैँची नै हुन्छ ।
समस्या कहाँ हो भने विशेष गरेर काठमाडौँ केन्द्रित र सहर केन्द्रित भएका कलकारखाना र उद्योग धन्दा मात्र सबै थोक हो भनेर हेर्दौ यथार्तमा यस्तो होइन । नेपाल कृषि प्रधान देश हो ।
नेपालमा पर्यटन, जलस्रोत र कृषि भनेको धेरै सम्भावना बोकेको चिज हो । हामीले नगदे बालीको रूपमा निर्यात गरेको वस्तुहरू नेपाली बजारमा धेरै मानिसलाई थाहै छैन । नेपाल कुचो संघ स्थापना हुदाँ कुचो जस्तो सफा गर्ने वस्तुको पनि संघ हुन्छ भन्ने कुरा आएको थियो ।
मलाई अनुभव पनि छ नाम राख्ने बेलामा उद्योग वाणिज्य महासंघका केही साथीहरूले कुचो नाम नराखेर अंग्रेजीबाट राख्ने हो कि भन्नुभएको थियो । मैले त्यो बेला भनेको पनि थिएँ,कुचो भनेर राख्दा यसको प्रर्वद्धन पनि हुन्छ र यसको पहिचान पनि गराउनुपर्छ । यो कृषि, पर्यटनसँग सम्बन्धित वस्तु हो र यो नामलाई नै अघि बढाएर लानुपर्छ भन्ने उद्देश्यले कुचो संघ स्थापना भयो ।
त्यो सँगै सरकारले सम्बोधन नै नगरेको बेला नेपालमा कुचो संघबाट कुचो निर्यात गर्नेलाई सहयोग गर्न पनि सफल भयौँ ।
मैले भनेको कृषि मात्र होइन उद्योग पनि छन् । पर्यटन क्षेत्र पनि छन् जहाँ त्यसको व्यापक प्रचार प्रसार भएको छैन ।
मेरो योजना के हो भने कृषि क्षेत्रको कुरा गर्दा यर्सागुम्बा जस्तो जडिबुटीको संघ छैन । संस्थागत भएर जान सकेको छैन । त्यो भएर हामीले ओझेलमा परेको वस्तुहरू जसले नेपालको अर्थतन्त्रलाई आयात मूलकलाई निर्यात मूलक बनाउन सक्छ ।
वैदेशिक जनशक्तिको कुरा गर्दा, विदेशमा हामी मान्छेहरू पठाउँछौँ । उनीहरूको रेमिटेन्सले मुलुक चलेको छ तर सिप र दक्षतावाला हामीले पठाउन सकेका छैनौँ । उहाँहरूले सिकेर आएको सिप र दक्षतालाई हामीले नेपालमा प्रयोग गर्न सकेका छैनौँ । अर्को कुरा आयात बढी भएको छ । बैंकको तरलता कम भएकोमा मेरो धारण के छ भने निर्यात बढी गर्ने हो भने अयातलाई प्रतिस्थापन गर्दै जाने हाे यहाँ पैसा भैहाल्छ ।
योसँगै निर्यात गर्न सक्ने वस्तुलाई हामीले प्रथामिकता दिनुपर्छ । निर्यात गर्न नसक्ने चिज छ भने पनि हाम्रै देशमा वैकल्पिक वस्तुको प्रयोग गर्नुपर्छ र पर्यटन, जलस्रोत र विदेशमा रेमिटेन्सको लागि पठाउँदा बढी पैसा ल्याउन सक्ने व्यक्तिहरूको उत्पादन गर्नुपर्छ । र्याप्टिङ नेपालको अर्को साहसिक पर्यटकीय क्षेत्र हो ।
यसको क्षेत्रका वृहत्तर विकास गरेर लाभ लिन सकिन्छ । नेपालको पुँजीबजारलाई सही ठाउँमा ल्याउनुपर्छ । आज नेपालको संगीत क्षेत्र, चलचित्र क्षेत्र स्थिति भारतको र नेपालको धेरै फरक छ । त्यसकारण कोभिडको कारणले पनि कृषिमा भएको असर निर्यातमा पारेका असरमा यो सन्र्दभमा नयाँ नीति निर्माण गर्नुपर्छ ।
मेरो स्पष्ट योजना के हो भने हामी भारत र चीन जस्तो विकसित राज्यको छेउमा छौँ । त्यसकारण हामीले त्यहाँको जनसंख्याको १ प्रतिशत मात्र वार्षिक नेपालमा पर्यटक भित्राउने हो भने पर्यटन क्षेत्र मजबुत हुनेछ । यस्ता सामान्य समस्यादेखि ठुला ठुला समस्याको लबिङ गर्ने मेरो योजना छ ।
चुनावी मैदानमा आएपछि जितको अपेक्षा हुन्छ,तपाईंको जितको आधारहरू के के छन् ? मतदातालाई के भन्नुहुन्छ ?
मेरो उम्मेदवारी घोषणासँगै मलाई नेपाल कुचो संघ, नेपाल अलौची महासंघ, नेपाल अदुवा उत्पादक संघ, नेपाल सुपारी संघले तत्काल नै उहाँहरूले समर्थन गर्नुभएको छ । अहिले मैले आफ्नो क्षेत्र नभएको उद्योग, स्वास्थ्य क्षेत्रका अध्यक्षहरूसँग भेट्दा उहाँहरूले पनि मैले उठाएका विषयवस्तुदेखि र मेरो योजना मन पराएका छन् ।
उदाहरणका लागि नेपालमा ठुला करदाता, मझौला करदाता, जसको करको कारण राज्य सञ्चालन भएको छ । उनीहरू सिंहदरबार छिर्दा भित्रबाट पास मगाउनुपर्छ । यो सुन्दा सामान्य लाग्छ तर जसका कारण राज्य चलेको छ । ऊ भित्र छिर्न पाएको छैन । मैले पटक पटक पनि भनेको छु करदाताहरूले धेरै केही कुरा अपेक्षा गर्नुभएको छैन ।
विदेशमा करदाताहरूलाई धेरै सम्मान हुन्छ तर हामीकोमा घुसखोर, दलाल भनेर अपमानित भएका छन् । हुन त केही होलान् तर समग्र रूपमा सबै उद्योगहरू त्यस्ता छैनन् । उद्योग व्यावसायी मैत्री नीति बनाउन मेरो पहल रहनेछ । यसकारण मेरा यिनै मुद्दा र एजेन्डालाई हेरेर मलाई मतदान गर्नुहुन्छ ।
अन्तमा केही भन्नु छ ?
नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा र निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु । समग्रमा वस्तुगतका साथीहरूलाई म एउटा क्षेत्रबाट काम गरेको र अन्य क्षेत्रबिचका समस्याहरू मलाई जस्ताको त्यस्तै थाहा नहुन सक्छ ।
सकभर म तपाईंहरूको समस्या सुनेको छु । मेरो एजेन्डा के हो भन्ने मैले भनेको पनि छु । यदि गर्दागर्दै छुटेका विषयवस्तुमा निर्वाचनपछि म तपाईंहरूको बिचमा आउने छु । तपाईंहरूले भोगेको बैंकको ब्याजदरदेखि अन्य समस्याको विषयमा छलफल गर्ने छौँ ।
यसको निम्ति सम्पूर्ण वस्तुगत संघका अध्यक्षसँग आउने छु र निरन्तर आफ्नो कामममा लाग्ने छु । मेरो पहिलो पटक उम्मेद्वारी भएकाले तीन वर्षसम्म कस्तो काम गर्छ भनेर हेर्न पनि यहाँहरूले मलाई मतदान गर्नुहोला ।
प्रतिक्रिया दिनुहोस्