अवैध आयातले नेपालमा उत्पादित पुष्पले बजार पाएन: अध्यक्ष तामाङ


काठमाडौँ । नेपालामा खुल्ला नाका कारण चोरी पैठारी गर्दै पुष्पजन्य वस्तुको आयात तिव्र गतिमा भएको नेपाल फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मिन बहादुर तामाङले बताए ।

आज (शुक्रबार) बाट सुरू भएको चार दिने २४ औं फ्लोरा एक्स्पोको उद्धघाटन समारोहमा बोल्दै तामाङले ठूलो परिणाममा पुष्पजन्य वस्तुको आयात हुदाँ नेपालमा उत्पादन भएको पुष्पले बजार पाउन मुस्किल भएको बताएका छन् । अध्यक्ष तामाङले सरकारले उक्त कार्यलाई तत्काल रोक्न र सिमा नाकामा थप कडाइ गर्न अनुरोध गरेका छन् ।

तामाङले बैंक तथा वित्तीय संस्थाहरूले पुष्प क्षेत्रमा लगानी गर्न नखोजेको बताएका छन् । “बैंकले कृषि क्षेत्र र अन्य क्षेत्रलाई एउटै दृष्टिले हेर्दा हामीले ऋण पाउन सकेका छैनौँ । कृषि तथा पशुपन्छी मन्त्रालयले अरू बैंकमा नभएपनि कृषि विकास बैंकसँग सम्वन्य गरेर कृषि क्षेत्रमा प्रवाह हुने ऋणको समय अवधि बढाउन अनुराेध गर्छु ।’’ उनले भने, “कृषि क्षेत्रमा गरेको लगानी तत्काल उठ्ने भन्रे छैन । पुष्पाजन्य क्षेत्रमा लगानी गर्दा ८० प्रतिशत लगानी भौतिक पूर्वधार क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । २० प्रतिशत पैसा लगानी गरेर हामीले पाँच वर्षमा बैकको ऋण तिर्न सक्ने अवस्था छैन । त्यसकारण १० वर्षको समयअवधि बढाउनु पर्ने सरकारसामु अनुराेध गर्छु ।’’

शुक्रबारदेखि शुरू भएकाे उक्त एक्स्पोमा ४७ हजार अवलोकन कर्ताद्धारा अवलोकन हुने तथा करिब ७५ लाखसम्मको व्यवसायीक कारोबार हुने अपेक्षा रहेको आयोजकले जनाएको छ ।

त्यस्तै मेला प्रवेश शुल्क विद्यार्थीको लागि १ सय रुपैँया रहेको छ भने अन्य सर्वसाधारणको लागि १ सय ५० रूपैयाँ रहेको मेलाका संयोजक शिब बहादुर खड्काले जानकारी दिए ।