बैंकिङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशिलताप्रति गम्भिर छौं : गर्भनर अधिकारी


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेको छ । शुक्रबार भएको भेटमा बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम, देशको समग्र आर्थिक अवस्था र सुधारका संभावित उपायहरुका वारेमा छलफल गरेको जनाएको छ ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि भएको आक्रमणहरुको विषयमा गर्भनर अधिकारीलाई ध्यानाकर्षण गराएको उल्लेख गरेको छ । नेपालको समग्र आर्थिक एवं बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौती, विश्व परिवेश र आर्थिक एवं बैंकिङ सुधारसहित सिबिफिनले पेश गरेको थियो ।

अध्यक्ष गोल्यानले नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय मात्र नभई अभिभावक संस्था समेत भएकोले बैंक तथा वित्तीय संस्थाहरुमाथि विभिन्न कोणबाट आक्रमण भइरहँदा नेपाल राष्ट्र बैंकले अभिभावकिय भूमिमा खेल्नुपर्नेमा जोड दिएका थिए ।

वर्तमान विषम् परिस्थितिमा ब्याजदर घट्नु पर्ने विषयमा जोड दिँदै उनले पूँजी निर्माण, कर्जा नोक्सानीको व्यवस्था, सेवा शुल्क तथा स्प्रेडदर, संस्थागत आयकर, संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण, स्थानिय निकायमा जाने सरकारी निक्षेपको गणना, ब्याजदर कोरिडोरको प्रभावकारी कार्यान्वयन, प्रिमियम सम्बन्धी व्यवस्था, कर्जा–निक्षेप अनुपात, आधार दरको गणना, फिन टेक, एसेट म्यानेजमेन्ट एवं लर्निङ एण्ड डेभलपमेन्ट जस्ता सहायक कम्पनीको स्थापना तथा लगानीलगायतका विषयहरुमा दिइएका सुझावहरुको बारेमा ब्रिफिङ गर्दै ती सुझावहरुको उचित सम्बोधन तथा कार्यान्वयनका लागि आवश्यक पहलकद्मी लिन गनर्भरलाई आग्रह गरेका छन् ।

गभर्नर अधिकारीले आर्थिक एवं बैंकिङ क्षेत्रको सुधारका लागि सिबिफिनले दिएका सुझावहरुलाई सम्बोधनका लागि पहल गर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था र कर्मचारीहरुका विरुद्ध भइरहेका क्रियाकलापहरु बारे नेपाल राष्ट्र बैंकले नजिकैबाट नियालीरहेको बताउँदै गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशिलताप्रति पनि आफू गंम्भिर रहको जानकारी गराए ।

बैंकिङ सेवालाई नेपाल सरकारले आवश्यक सेवाको क्षेत्रकोरुपमा परिभाषित गरी राजपत्रमा प्रकाशित गरिसकेको सन्दर्भमा यस क्षेत्रलाई निर्वाधरुपमा संचालन हुने वातावरणको सृजना गर्न र सुरक्षा बन्दोबस्तीका लागि सम्बन्धित निकायहरुसमक्ष आवश्यक सहजीकरण भइरहेको बताए ।

गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा हाल देखिएका कतिपय समस्याहरु प्रणालीसँग जोडिएकोले प्रणालीगत÷संरचनागत सुधारमा जोड दिनुपर्ने उनको भनाई रहेको छ । कर्पोरेट क्षेत्रले समेत दीर्घकालिन बोण्ड जारी गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने बताउँदै उहाँले बैंक तथा वित्तीय संस्थाहरुले जोखिमपूर्ण देखिएका कर्जाप्रति पूर्व सावधानी अपनाइ आवश्यक कार्य अगाडि बढाउनुपर्नेमा उनले सुझाव दिएका छन् ।

वर्तमान विषम् परिस्थितिलाई मध्यनजर गर्दै आम जनजीविका र उद्यम–व्यवसायलाई सामान्यीकरण बनाउँदै अर्थतन्त्रलाई गतिशिल बनाउन सरोकारवाला सम्पूर्ण पक्षहरु गंभिरताका साथ लागि पर्नु पर्नेमा उनले जोड दिएका छन् ।