नेपालको आर्थिक स्वतन्त्रता सूचकांकमा सुधार


काठमाडौं । नेपालको आर्थिक स्वतन्त्रता सूचकांकमा केही सुधार भइ नेपाल १४२ औं स्थानमा उक्लिएको छ । हेरिटेज फाउन्डेसनद्वारा सार्वजनिक गरिएको सन् २०२३ को इकोनोमिक फ्रिडम इन्डेक्सअनुसार आर्थिक स्वतन्त्रताको स्कोर ५१.४ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही माथि उक्लिएको हो ।

हेरिटेज फाउन्डेसनद्वारा सार्वजनिक पछिल्लो प्रतिवेदनअनुसार सन् २०२२ मा ४९.७ रहेको नेपालको आर्थिक स्वतन्त्रता स्कोर सन् २०२३ मा केही सुधार भई ५१.४ पुगेको हो । गत वर्ष नेपाल १४८ औं स्थानमा थियो ।

सन् २०२३ मा नेपालको आर्थिक स्वतन्त्रता सूचकांकमा केही सुधार देखिए पनि क्षेत्रीय औसतभन्दा पछाडि छ । एशिया–प्रशान्त क्षेत्रका लागि क्षेत्रीय औसत ५८.२ भन्दा पनि नेपालको स्कोर कम हो ।

दक्षिण एसियाली क्षेत्रमा भुटान सबैभन्दा आर्थिक स्वतन्त्र मुलुकका रुपमा रहेको छ । इकोनोमिक फ्रिडम इन्डेक्सअनुसार भुटान ५९ स्कोरसहित ९० औं स्थानमा ५ भने छिमेकी मुलुक भारत ५२.९ स्कोरसहित १३१ औं स्थानमा छ । यस्तै बंगलादेश ५४ स्कोरसहित १२३ औं स्थानमा, श्रीलंका ५२.२ स्कोरसहित १३६ औं स्थानमा, पाकिस्तान ४९.४ स्कोरसहित १५२ औं स्थानमा, माल्दिभ्स ४६.६ स्कोरका साथ १६० औं स्थानमा छ ।

नेपालको सम्पत्ति अधिकार, न्यायिक प्रभावकारिता स्कोर, र सरकारी निष्ठा स्कोर विश्व औसत भन्दा कम छ। नेपालको सम्पत्तिको अधिकारसम्बन्धी स्कोर ३७.६, सरकारी निष्ठा/ईमानदारी स्कोर ३४ र न्यायिक प्रभावकारिता स्कोर ४३.४ छ ।

यस्तै, करको बोझसम्बन्धी स्कोर सर्वाधिकमध्येको ८५ छ भने सरकारी खर्चको तहको स्कोर ७७.२ र वित्तीय स्वास्थ्यको स्कोर ५८.९ छ ।

प्रतिवेदनले नेपालले भ्रष्टाचार न्यूनीकरण, पारदर्शिता सुधार र विधिको शासनलाई सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ । प्रतिवेदनमा उच्च कर दर र कुल गार्हस्थ्य उत्पादनको १५.७ प्रतिशतको करभार  रहेको भन्दै  सरकारको आकारको पनि पुन: मूल्यांकन गर्न पनि सुझाव दिएको छ ।

प्रतिवेदनले नेपालले आफ्नो नियामकीय नीतिलाई परिमार्जन गरी प्रतिबन्धात्मक श्रम कानुन र समय लाग्ने व्यवसाय सञ्चालनको आवश्यकतालाई सम्बोधन गरी थप व्यवसायमैत्री वातावरण सिर्जना गर्न पनि आग्रह गरेको छ ।

प्रतिवेदनअनुसार नेपालमा  शीर्ष व्यक्तिगत र कर्पोरेट करका दरहरू २५ प्रतिशतभन्दा माथि छ भने कर बोझ कुल गार्हस्थ्य उत्पादनको १५.७ प्रतिशत छ। तीन वर्षे सरकारी खर्च र बजेट सन्तुलनको औसत क्रमशः कुल गार्हस्थ्य उत्पादनको २७.६ प्रतिशत र ऋणात्मक ४.८ प्रतिशत छ । यस्तै नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.८ प्रतिशत रहेको छ भने व्यापार भारित औसत भन्सार दर १३.६ प्रतिशत छ ।