सरकारको नगद मौज्दात २०४ अर्ब ९२ करोड रुपैयाँ


काठमाडौं । बैंकमा रहेका नेपाल सरकारका विभिन्न खाताहरुमा २०४ अर्ब ९२ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।

नेपाल राष्ट्रबैंकको तथ्यांकअनुसार २०७९ माघ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२०४ अर्ब ९२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ ।

२०७९ असार मसान्तमा यस्तो मौज्दात रु.२३२ अर्ब ५३ करोड रहेको थियो । चालु आर्थिक वर्षको सात महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार रु.६६७ अर्ब ६६ करोड भएको छ ।

समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः रु.५३१ अर्ब ५० करोड, रु.६६ अर्ब ३० करोड र रु.६९ अर्ब ८६ करोड रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) रु.५१४ अर्ब ६९ करोड भएको छ ।

समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ रु.४६४ अर्ब १९ करोड र गैर कर राजस्व तर्फ रु.५० अर्ब ५० करोड परिचालन भएको छ ।

त्यस्तै समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च रु.५९ अर्ब १० करोड रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत परिचालन रु.९३ अर्ब ८० करोड रहेको छ ।

समीक्षा अवधिमा यसमध्ये संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.७० अर्ब ६३ करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट रु.२३ अर्ब १७ करोड रहेको छ ।