महासंघको चुनावबारे अन्जनले भने,‘वरिष्ठ उपाध्यक्षमा दुईजनाबिच प्रतिस्पर्धा हुन्छ होला’


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेदवार रहेका अन्जन श्रेष्ठले सर्वसम्मतिको प्रयास गर्ने बताएका छन् ।

टक्सारसँगको कुराकानीमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले सर्वसम्मतिको प्रयास सफल नभए दुई जनाको उम्मेदवारी कायम रहन सक्ने बताएका छन् । आफू चुनावी मैदानबाट पछि नहट्ने स्पष्ट पार्दै श्रेष्ठले समग्रमा अझै प्रष्ट आकार नआएको बताए ।

उनले भने,“ हामी छलफलमै छौं, कसैको प्यानल बनेको छैन । अझै समय छ कसरी अगाडि बढ्छ हेरौँ । ”

वरिष्ठ उपाध्यक्षमा अनजन श्रेष्ठ,उमेशलाल श्रेष्ठ, रामचन्द्र सांघाई र दिनेश श्रेष्ठले दाबी गरिरहेका छन् । दिनेश श्रेष्ठले सहमति गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

श्रेष्ठले सहमति भए आफूले छोड्न तयार रहेको संकेत दिएपछि अब चुनावी मैदानमा तीन जना देखिएका छन् ।

उमेशलाल श्रेष्ठले केही समय पहिले पिकनिक आयोजना गरेर केही संस्थाको समर्थन समेत लिइसकेका छन् । संघाई अझै सार्वजनिक अभियानमा देखिएका छैनन् भने अन्जन श्रेष्ठ देशव्यापि अभियानमा छन् ।

अनजनले भने,“ चार जना उम्मेदवार थियौँ । अहिले उम्मेदवार तीन जना भन्ने छ । हेरौँ अझै समय बाँकी छ । सायद परिर्वतन होला र दुई जनाको उम्मेदवारी होला भन्ने लाग्छ । हेरौँ के हुन्छ ।”

अन्जनले आफ्नो ऐजेण्डा अझै सार्वजनिक गरेका छैनन् तर महासंघको प्रभावकारितालाई आफ्नो आधार बनाउने बताएका छन् । पछिल्लो समय सरकारले निजी क्षेत्रको कुरा नसुनिरहेको भन्दै महासंघले आफ्नो प्रभाव अझै बढाउनुपर्ने उनको ठहर छ ।

उनले भने,“ हामीले प्रभाव बढाउन महासंघको क्षमता वृद्धि गर्नुपर्छ । सरकारलाई सुझाव दिने भूमिका त छ । हामीले सल्लाहकारको भूमिका निर्वाह गरेका छौँ तर सरकारले भने सुनेको छैन । त्यसलाई अझै सहि तरिकाले आफ्नो विकास गर्न महासंघलाई जरुरी रहेको छ ।”

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नै फरक बनाउन अभियान नै चलाउनुपर्ने उनको जोड छ ।