चैत ८ गतेदेखि आइपीओ निष्काशन गर्दै सगरमाथा जलविद्युत


काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आउँदो चैत ८ गतेदेखि सर्वसाधारणलाई झण्डै साढे २५ लाख बढि कित्ता सेयर आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो।

जसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको छ। बाँकी रहेको सेयमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा चैत १२ गते र ढिलोमा चैत २२ गते बैंकिङ समयपछि हुनेछ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।