७ प्रतिशत नेपाली पूर्ण बेरोजगार, एक तिहाइ नेपाली आर्थिक रुपमा निष्क्रिय


काठमाडौं । देशका करिब ७ प्रतिशत नेपाली पूर्ण बेरोजगारीको अवस्थामा रहेको पाइएको छ भने एक तिहाइ जनसंख्या या त आर्थिक रुपमा निष्क्रिय रहेको पाइएको छ । जनगणना २०७८ अनुसार १० वर्ष वा सोभन्दा माथिका १ करोड १० लाख ३८ हजार १०५ जना अक्सर आर्थिकरुपले सक्रिय व्यक्तिहरु मध्ये १ करोड २ लाख ७० हजार ४४७ जना (९३.०५ प्रतिशत) अक्सर रोजगार र ७ लाख ६७ हजार ६५८ जना (६.९५ प्रतिशत) अक्सर बेरोजगार देखिन्छन् ।

काम नै नपाएका ३७.५ प्रतिशत

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना-२०७८ को नतिजाअनुसार जनगणना भएको १२ महिना अगाडिको समयमा कुनै पनि आर्थिक गतिविधिमा संलग्न नभएका १० वर्षमाथिका जनसंख्या ३७.५ प्रतिशत छ।

कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ८९ लाख ७५ हजार ५५८ जना कुनै पनि आर्थिक गतिविधिमा संलग्न नभएको जनगणनाले देखाएको छ । यसमध्ये कुनै पनि आर्थिक गतिविधिमा संलग्न नभएका पुरुषहरूको अनुपात ३१.६ प्रतिशत छ भने महिलाको अनुपात ४२.९ प्रतिशत छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका आर्थिक काम नगर्ने व्यक्तिहरु सबैभन्दा बढि ४६.५ प्रतिशत मधेश प्रदेशमा रहेको छ । यस्तै, यो अनुपात कोशी प्रदेशमा ३१.३ प्रतिशत, बागमतीमा ३८.३ प्रतिशत, गण्डकीमा ३७ प्रतिशत, लुम्बिनीमा ३७.२ प्रतिशत, कर्णालीमा ३०.८ र सुदूरपश्चिममा ३२.२ प्रतिशत छ।

जनगणना २०७८ अनुसार १० वर्ष वा सोभन्दा माथिका २ करोड ३९ लाख ५८ हजार ८६८ जना व्यक्तिहरु मध्ये १ करोड ४९ लाख ८३ हजार ३१० जनाले गणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेको देखिन्छ जसमध्ये ४१ प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २१.५ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३७.५ प्रतिशतले कुनै पनि काम नगरेको देखिन्छ।

आर्थिक रुपले सक्रिय जनसंख्या

जनगणनाको नतिजाअनुसार १० वर्ष वा सोभन्दा माथिका १ करोड ५६ लाख ८९ हजार ७७७ जना (६५.५ प्रतिशत) आर्थिक रुपले सक्रिय र ८२ ‌लाख ११ हजार १२ जना (३४.३ प्रतिशत) आर्थिकरुपले निष्क्रिय देखिन्छन् जबकी आर्थिकरुपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरुको संख्या ५८ हजार ७९ जना रहेका छन्।

आर्थिक निष्क्रिय जनसंख्या झन्डै एक तिहाइ

प्रतिवेदनअनुसार १० वर्ष वा सोभन्दा माथिका १ करोड ५६ लाख ८९ हजार ७७७ जना व्यक्तिहरु मध्ये १ करोड १० लाख ३८ हजार १०५ जना (७०.३५ प्रतिशत) अक्सर आर्थिकरुपले सक्रिय र ४६ लाख ५१ लाख ६७२ जना (२९.६५ प्रतिशत) अक्सर आर्थिक रुपले निष्क्रिय देखिन्छन्।