धन्य धान !


कुल गार्हस्थ्य उत्पादनमा धानको हिस्सा करिब ४ प्रतिशत रहेको कृषि मन्त्रालयको अनुमान छ । चामल आयातलाई शून्यमा झार्न धान उत्पादन अझै पर्याप्त छैन ।

‘भात खानु भयो ?’ खाना खाने समयतिर दुई नेपालीबिच कुराकानीको अनौपचारिक सुरुवात हुँदा भनिने वाक्यांश हो यो । अर्थात् नेपालमा खाना भनेकै भातको रूपमा लिन थालिएको छ । नेपाली मात्र हैन विदेशबाट नेपाल आउने पर्यटकले समेत ट्रेकिङमा ‘दाल भात पावर, ट्वान्टी फोर आवर’ समेत भन्ने गरेका छन् । नेपालमा भात खानाको पर्याय नै बनेकाले पनि प्रायः नेपालीको भान्सामा नछुट्ने खाद्यान्न हो चामल । 

नेपालीको दैनिकी नै बनेको छ भात । दिउँसोको भात अर्थात अंग्रेजीमा ‘फ्राई राइस’, ‘बिर्यानी’ जस्ता खान्की होटेल रेष्टुरेन्टका मेनुमा प्राथमिकतासाथ राखिएको हुन्छ । 

नेपालीले वार्षिक कति भात खान्छन् होला त ? सरकारी तथ्यांकअनुसार, प्रतिवर्ष हरेक एक व्यक्तिले करिब १२१ केजी चामलको भात खाने गरेका छन् । आवश्यकताका हिसाबमा चामल, मकै, गहुँ, कोदो, फापर लगायत समेट्दा प्रतिवर्ष प्रतिव्यक्ति करिब १८१ केजी खाद्यान्न आवश्यक देखिन्छ नेपालमा । जसमध्ये चामल मात्रै प्रतिव्यक्ति प्रतिवर्ष करिब १२१ केजी उपभोग भइरहेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयको तथ्यांक छ । 

औषतमा भने नेपालमा करिब १३७ केजी चामल प्रतिवर्ष प्रतिव्यक्ति उपभोग भइरहेको मन्त्रालयको भनाइ छ । यस हिसाबले नेपालमा वार्षिक ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने तथ्यांक छ । 

धान उत्पादन र अर्थतन्त्र सम्बन्ध

करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने नेपालमा ५० लाख मेट्रिक टनदेखि ६० लाख मेटिक टनसम्म धान उत्पादन भएको सरकारी विवरण छ । 

नेपालमा विशेष गरी दुई बाली धान खेती गरिन्छ । चैते धान र वर्षे धान । वर्षे धानको तुलनामा नेपालमा चैते धानको हिस्सा न्यून छ । वर्षे धान १३ लाखभन्दा बढी हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै गर्दा चैते धान १ लाख २० हजार हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको सरकारी तथ्यांक छ । 

सातै प्रदेशमा १ लाखभन्दा बढी हेक्टरमा चैते धानको खेती हुने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै पनि १ लाख २० हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो । जसमा ५ लाख ६१ हजार १९७ मेट्रिक टन धान उत्पादन भएको सरकारको तथ्यांक छ । 

चालू आर्थिक वर्षमा भने चैते धान ९ प्रतिशत कम जग्गामा खेती हुने अनुमान गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाशकुमार सञ्जेलका अनुसार, चालु आवमा १ लाख ८ हजार ६०७ हेक्टर जग्गामा चैते धान खेती हुने अनुमान गरिएको छ । जुन गत आवको तुलनामा ९.५३ प्रतिशत कम हो । खेती नै गरिँदा उत्पादनमा पनि झण्डै ४ प्रतिशतको गिरावट आउने मन्त्रालयको अनुमान छ । जसअनुसार, चालु आवमा ५ लाख ४० हजार ३३१ मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको प्रवक्ता डा. सञ्जेल बताउँछन् । गत आवमा ५ लाख ६१ हजार १९७ मेट्रिक टन धान उत्पादन भएको थियो । 

धान उत्पादनमा वृद्धि हुँदै गर्दा धान, चामल तथा कनिकाको आयात पनि घट्दो क्रममा देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार, आव २०७७/०७८ को तुलनामा आव २०७८/०७९ मा धान, चामल तथा कनिकाको आयात ६.३ प्रतिशतले कमी भएको छ । जसबाट सो परिणामको आयातमा बाहिरिने ४ अर्ब रुपैयाँ जोगिएको छ ।

चैते धानको तुलनामा वर्षे धानको हिस्सा निकै ठुलो छ । वर्षे धान मुख्य उत्पादन हो । जसअनुसार चालु आवमा मात्रै ४९ लाख ४६ हजार मेट्रिक टन वर्षे धान उत्पादन भएको छ । मन्त्रालयका अनुसार, १३ लाख ३९ हजार हेक्टर जमिनमा चालु आवमा वर्षे धान उत्पादन भएको थियो । 

मन्त्रालयले चालु आवमा नेपालमा दुवै सिजनमा गरी कुल ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरेको छ । धान उत्पादनमा १० प्रतिशतले वृद्धि वा कम हुँदा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशत घटबढ हुने गर्छ । यसर्थ कुल गार्हस्थ्य उत्पादनमासमेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले धान चामलको उत्पादन र आयातको विषयलाई गम्भीरतापूर्वक हेर्ने गरिन्छ । 

उत्पादन स्थिर बन्दै, आयात घट्दो 

धान उत्पादनमा वृद्धि हुँदै गर्दा धान, चामल तथा कनिकाको आयात पनि घट्दो क्रममा देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार, आव २०७७/०७८ को तुलनामा आव २०७८/०७९ मा धान, चामल तथा कनिकाको आयात ६.३ प्रतिशतले कमी भएको छ । जसबाट सो परिणामको आयातमा बाहिरिने ४ अर्ब रुपैयाँ जोगिएको छ ।

आव २०७७/०७८ मा ५० अर्ब ७८ करोड रुपैयाँ बराबरको १३ लाख ३४ हजार मेट्रिक टन आयात भएकोमा आव २०७८/०७९ मा ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको ११ लाख ३० हजार मेट्रिक टन धान, चामल तथा कनिका आयात भएको भन्सार विभागको तथ्यांक छ । 

चालु आवको मंसिरसम्ममा १२ अर्ब ६५ करोड रुपैयाँ बराबरको धान, चामल तथा कनिका आयात भएको छ । गत आवको सोही अवधिमा २० अर्ब ४९ करोड रुपैयाँ बराबरको ५ लाख ६ हजार मेट्रिक टन धान, चामल तथा कनिका आयात भएको थियो । गत आवको मंसिर महिनासम्मको तुलनामा चालु आवको मंसिरसम्ममा ४४.२ प्रतिशतले धान, चामल तथा कनिका आयातमा गिरावट आएको छ । 

करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने नेपालमा ५० लाख मेट्रिक टनदेखि ६० लाख मेटिक टनसम्म धान उत्पादन भएको सरकारी विवरण छ ।

आत्मनिर्भर कहिले ? 

कुल गार्हस्थ उत्पादनमा धानको हिस्सा करिब ४ प्रतिशत रहेको छ । चामल आयातलाई शून्यमा झार्न धान उत्पादन अझै पर्याप्त छैन । करिब ५५ लाख मेट्रिक टन धानबाट ३५ लाख २० हजार मेट्रिक टन चामल नेपालमा उपलब्ध भइरहेको छ । नेपाललाई अझै ४ लाख ८० हजार मेट्रिक टन चामल कमी हुने अवस्था छ । 

वरिष्ठ कृषि वैज्ञानिक एवम् त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. भव त्रिपाठीले नेपाल मोटा धानमा आत्मनिर्भर भइसकेको बताए । “नेपालीहरूको आय स्रोत बढेको, रेमिट्यान्स आउने तथा बाटोघाटो समेत पुगेकाले मसिनो चामल सबैतिर पुगेको र सोही चामलतर्फ रुचि बढी हुन पुगेको देखिन्छ, जसका कारण यही ३० प्रतिशत चामल आयात भइरहेको अवस्था छ,” त्रिपाठी भन्छन् । 

मसिनो धान तथा बासनादार चामल/धानको उत्पादन पनि समयसँगै बढाउँदै लैजाने हो भने धानमा नेपाल पूर्णरूपमा आत्मनिर्भर हुने अवस्था आउने दाबी त्रिपाठीको छ । उनका अनुसार रासायनिक मलको अभावमा नेपालमा धान उत्पादन करिब ५ प्रतिशतदेखि १० प्रतिशत गिरावट हुँदै आइरहेको छ । रासायनिक मल र सिंचाई पर्याप्त हुने हो भने मात्र पनि धान तथा चामलमा आत्मनिर्भर छिट्टै बन्न सकिने विश्वास त्रिपाठीको छ । 

मन्त्रालय अन्तर्गतको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी एवम् वरिष्ठ बाली विकास अधिकृत डा. प्रकाश आचार्य पनि पछिल्लो समयमा जिरा मसिनो प्रकृतिका चामलहरू बढी आयात भएको बताउँछन् । उनका अनुसार, कुल आयात हुने धान चामलमा करिब ८० प्रतिशतभन्दा बढी यस्ता प्रकृतिका धान चामल आउने गरेको छ ।

हालको उत्पादन बाहेक पनि वार्षिक करिब ६ लाख मेट्रिक टन चामल उत्पादन बढाउन सकेमा आत्मनिर्भर भइन्छ । आत्मनिर्भरका लागि अहिले बीउविजन तथा धानको जात विकास गर्नु पर्ने भएकाले अध्ययन तथा अनुसन्धानमा पनि उत्तिकै जोड दिनु पर्ने उनको बुझाइ छ । नेपालमा हरेक वर्ष धानको बीउ मात्रै पनि डेढ अर्बबराबरको आयात भइरहेको उनको भनाइ छ । 

मन्त्रालय के गर्दैछ ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सञ्जेलले धानबालीमा आत्मनिर्भर हुनका लागि चुनौतीहरु देखिएकाले उपलब्धी अपेक्षित नभएको बताउँछन् । उनका अनुसार अहिले क्षेत्र विस्तार र सिँचाइमा मुख्य समस्या देखिएका छन् । 

उनले क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत निश्चित क्षेत्रफलमा चैते धान लगाएमा किसानलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम गरिएको जानकारी दिए । यस्तै हाइब्रिड धानको अनुसन्धानलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनी बताउँछन् । 

पछिल्ला दिनहरूमा उत्पादन र उत्पादकत्व वृद्धि भए पनि उत्पादन हुने क्षेत्रफल घट्दो क्रममा रहेकाले उत्पादनको अवस्था वृद्धि भएको नपाइएको डा. सञ्जेल बताउँछन् ।