नियमनको कसीमा ‘डाइटरी सप्लिमेन्ट’ !


-लक्ष्मी ज्ञवाली-

तपाईँले डाक्टरको सिफारिस वा औषधि पसलेकै सिफारिसमा ‘भिटामिन’ खानु भएको छ ? पक्कै होला । बालबालिकालाई समय समयमा ‘भिटामिन ए’ क्याप्सुल खुवाउनु भने भएको होला । छ भने त्यो भिटामिन औषधि हो कि खाद्यान्न पूरक ? धेरैको जवाफ हुन सक्छ, औषधि तर विभिन्न खालका भिटामिन र यस्ता दर्जनौं उत्पादन छन् जो खाँदा औषधि जस्तै मात्रा पुर्‍याएर खानुपर्छ तर ती औषधि हैनन्, ती खाद्यान्न हुन्, आहारपूरक खाद्यान्न अर्थात् ‘डाइटरी सप्लिमेन्ट’ । 

नेपालमा पनि नियमित खानाबाट कम प्राप्त हुने वा नभएका शरीरलाई चाहिने आवश्यक तत्वको पूरा गर्न ‘डाइटरी सप्लिमेन्टरूको उपभोग गर्ने क्रम बढेको छ तर अधिकांशले यसलाई औषधिकै रूपमा लिने गर्ने गरेको पाइन्छ । एकातिर उपभोक्तातहमा स्पष्टताको अभाव वा जनचेतनाको कमी र अर्कोतिर सरकारले नियमनमा कम प्राथमिकता दिँदा ‘डाइटरी सप्लिमेन्टरूको नियमनमा अन्यौल बढेको छ ।

खाद्य तथा पोषण सुरक्षा अवस्था नेपाल मात्र नभई विश्वभर नै चुनौतीपूर्ण छ ।  विश्व खाद्य सुरक्षा र पोषण अवस्था प्रतिवेदन २०२० अनुसार सन् २०२१ मा विश्वमा झण्डै ५७ करोड मानिस गम्भीर खाद्य असुरक्षामा रहेको अनुमान छ भने करिब ८२ करोड १० लाख मानिस कुपोषित भएको अनुमान छ । सन् २०३० सम्ममा भोकमरी अन्त्य गर्ने लक्ष्य प्राप्तिको लागि यो चुनौतीको रूपमा देखिएको छ ।

यस्तो समस्याको अन्त्य गर्न र विश्वभर भोकमरी र आहारपूरक खाद्यको पहुँच पुर्‍याउनको लागि अमेरिकामा सन् १९९४ मा त्यहाँका राष्ट्रपति बिल क्लिन्टनले ‘डाइटरी सप्लिमेन्ट’लाई परिभाषित गर्दै स्वास्थ्य तथा शिक्षा ऐन लागू गरेका थिए । त्यसयता विश्वभर ‘डाइटरी सप्लिमेन्ट’को उत्पादन तथा बजारीकरणमा काम भइरहेको छ । नेपालमा पनि यस्ता वस्तुको आपूर्ति भइरहेको छ । थप व्यवस्थित गर्न भने सरकारले अझै ठुुलो गृहकार्य गर्न जरुरी देखिन्छ । 

के हो डाइटरी सप्लिमेन्ट ?

डाइटरी सप्लिमेन्ट अर्थात आहारपूरक खाद्य पदार्थ भन्नाले मानिसको दैनिक खानपानमा अपुग वा थप पोषक तत्वहरूको पूर्तिको लागि प्रयोग हुने पदार्थहरू हुन् । कार्वोहाइडेड, चिल्लो पदार्थ, फ्याटी एसिड, भिटामिनहरू, खनिज तत्वहरू समिश्रित, प्रोटिन, एमिनो एसिड वा इन्जाइम, अन्य पोषक तत्वहरू, वनस्पति तथा प्राणीजन्य स्वास्थ्यवर्धक, लाभदायक पदार्थहरू वा मानव स्वास्थ्यमा क्रियात्मक भूमिकामा हुने फाइदाजनक पदार्थहरू सम्मिलित खाद्य पदार्थलाई ‘डाइटरी सप्लिमेन्ट’को मानिन्छ ।

सेवन गरिने खाद्यपदार्थ, जसले सामान्य आहारमा पोषणको मात्रा बढाउने गर्छन् । भिटामिन, खनिज पदार्थ, जडिबुटी वा अन्य वनस्पति, एमिनो एसिड वा पुरक खाद्यपदार्थको मिश्रण यसमा पर्छन् । यस्ता पदार्थहरू ट्याब्लेट, क्याप्सुल, झोल, धुलो, जेली लगायतका स्वरूपमा पाइन्छन् । यी पदार्थले शरीरलाई आवश्यक पौष्टिक तत्व प्रदान गर्नुका साथै रोग लाग्ने सम्भावनालाई पनि कम गर्छ । 

डाइटरी सप्लिमेन्ट पदार्थहरू प्रकृतिमा पाइने अवस्थाबाट प्रशोधन, शुद्धीकरण तथा स्वरूपमा परिवर्तन गरी पाउडर, ग्रेनुल, ट्यावलेट, क्याप्सुन, झोल, जेली, फ्लेक्स, बार जस्ता स्वरूपमा भएका र मुखबाट मात्र सेवन गर्ने किसिमका बनाइएका हुन्छन् । खाद्य पदार्थ प्रशोधन गर्दा प्रयोग गरिने पदार्थहरू जस्तै वासना, रङ, स्वादमा बढोत्तरी गर्नका लागि प्रयोग गर्ने पदार्थहरू सबैलाई यसै अन्तर्गत राखिन्छ । नियमित रूपमा खाइने खाने कुराले शरीरलाई पुगेन र यसलाई थप गर्न पर्‍यो भने यस्तो कुराको प्रयोग गरिने खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष अतुल उपाध्याय बताउँछन् । 

सरकारले अभियानकै रूपमा बालबालिकालाई खुवाउने भिटामिन ‘ए’ को थोपा ‘डाइटरी सप्लिमेन्ट’ बुझ्न सकिने सहज उदाहरण हो । सागपात पहेँला फलफूलहरू प्रशस्त मात्रामा खाएमा शरीरलाई भिटामिनको मात्रा पुग्छ तर शरीरले पाएन भने त विभिन्न रोग लाग्न सक्छ । यस्तो अभाव पूर्तिका लागि भिटामिन खुवाउने गरिन्छ तर यो औषधि भने हैन ।

विश्वमा डाइटरी सप्लिमेन्ट प्रयोगको अभ्यास

डाइटरी सप्लिमेन्टलाई खाद्य पदार्थ जस्तै नियमन गर्नुपर्ने र औषधि जस्तो नियमन गर्नु नहुने अभ्यास विश्वमा देखिन्छ । विभिन्न राष्ट्रहरूले आहारपूरक खाद्य पस्तुहरूलाई विभिन्न संज्ञा दिने गरेका छन् । क्यानडाले नेचुरल हेल्थ प्रडक्ट, अमेरिकाले डाइटरी सप्लिमेन्ट, जापानले फुड फर स्पेसल हेल्थ युज, रसियाले बयोलोजिकल हेल्थ फुड, अस्ट्रेलियाले कम्प्लिमेन्ट्री मेडिसिन, ईयूले फुड सप्लिमेन्ट र भारतले फुड फर स्पेसल डाइटरी युज भन्ने गरेको छ ।

यस्ता पदार्थहरूले औषधिले झैँ रोगको निदान, उपचार वा रोकथाम गर्न सक्छ भन्ने खालका दाबी गर्न भने पाउँदैनन् । सन् १९८४ मा जापानबाट फङ्सनल फुडको रूपमा पहिलो पटक यसको सुरुवात भएको देखिन्छ । सन् २००१ मा मात्र यस सम्बन्धी कानुन बनेको र जस अन्तर्गत विशेष आहार प्रयोजनका खाद्य पदार्थ तथा विशेष पोषण प्रयोजनका खाद्य पदार्थ गरी दुई वर्गमा विभाजित गरिएको पाइन्छ । सन् २०१५ मा जापानले यस व्यवस्थालाई अझै सहजीकरण गरेर थप खाद्य पदार्थहरूलाई ‘डाइटरी सप्लिमेन्ट’को रूपमा स्थापित गरेको देखिन्छ । 

नेपालमा अभ्यास

नेपालमा विश्वभर पाइने अन्य वस्तु उपलब्ध भएजस्तै ‘डाइटरी सप्लिमेन्ट’ पनि सहज उपलब्ध भइरहेका छन् । कतिपय नियामक निकाय र अधिकांश उपभोक्तामा ‘डाइटरी सप्लिमेन्ट’लाई औषधिकै रूपमा लिइने गरेको अध्ययनकर्ताको अनुभव छ । यद्यपि उत्पादकले यस्ता खाद्य उत्पादनमा ‘आहारपूरक खाद्य’ भनी उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था छ । नेपाल सरकारको तर्फबाट खाद्य ऐनको कार्यान्वयन गर्ने निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘डाइटरी सप्लिमेन्ट’को नियमनमा काम गर्दै आएको छ । 

डाइटरी सप्लिमेन्ट आयात, उत्पादन, निर्यात तथा कारोबार गर्न विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ । उत्पादन गर्ने उद्योगले असल उत्पादन अभ्यास लागू गरेको हुनुपर्ने व्यवस्था छ भने परीक्षण प्रयोगशाला भएको, तेस्रो अनुमतिप्राप्त प्रयोगशालामा समेत परीक्षण गरिएको, सूक्ष्म जिवाणु, प्रदूषण (कन्टामिनेसन)को परीक्षण गरी तोकिएको मापदण्डभित्र रहेको हुनपर्नेजस्ता प्रावधानहरू पूरा गरेमा ‘डाइटरी सप्लिमेन्ट’ उत्पादनका लागि अनुमति पाउने व्यवस्था रहेको विभागकी महानिर्देशक डा. मतिना वैद्य जोशीले बताइन् । 

नेपालमा ‘डाइटरी सप्लिमेन्ट’को आयातकर्ताको रूपमा (नेपाली व्यावसायी) ३ सय ५८ निर्यातकर्ता २ सय ८० (विदेशका उत्पादक कम्पनी) र उत्पादन ११ नेपाली उत्पादक कम्पनी तथा २ हजार २ सय उत्पादन दर्ता रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७८/०७९ मा खाद्य विभागमा १ हजार ६ सय ९० वटा आहारपूरक खाद्य पदार्थको दर्ता नवीकरण भएको विभागको तथ्यांक छ । नेपाल पछिल्लो समय आहारपूरक खाद्यको आयात बढी छिमेकी राष्ट्र भारतबाट हुँदै आएको देखिन्छ । भारतका केही कम्पनीले नेपालको पर्सा, धादिङ, जिल्लामाहरूमा उद्योग स्थापना गर्ने तयारी गरिरहेका छन् । 

विभागले आवश्यकता अनुसार आफ्नो प्रयोगशाला तथा अन्य अन्तराष्ट्रिय प्रयोगशालामा समेत परीक्षण गराई डाइटरी सप्लिमेन्टको गुणस्तर तथा स्वच्छतामा सुनिश्चितता गर्ने गरेको छ । नियमनको प्रभावकारी बढाउन सबै पक्षको उत्तिकै साथ, सहयोग र सक्रियता आवश्यक रहेको महानिर्देशक वैद्यको भनाइ छ । 

नेपालमा ‘डाइटरी सप्लिमेन्ट’को आयातकर्ताको रूपमा (नेपाली व्यवसायी) ३ सय ५८ निर्यातकर्ता २ सय ८० (विदेशका उत्पादक कम्पनी) र उत्पादन ११ नेपाली उत्पादक कम्पनी तथा २ हजार २ सय उत्पादन दर्ता रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्यांक छ ।

संघ, प्रदेश र पालिकाको उत्तरदायित्व

स्वास्थ्य मन्त्रालयले नेपालका नागरिकको स्वास्थ प्रशिक्षण गर्दा जनताको पोषणको अवस्था निकै नै कमजोर पाइएको छ । यसको अर्थ हो नेपालमा पनि जनताको खाद्य आवश्यकता पूर्तिका लागि आहारपूरक खाद्य पदार्थको आवश्यकता देखिन्छ । “नेपाली जनताको पोषणको अवस्था निकै न्यून छ । त्यो अवस्थालाई केही हदसम्म न्यूनीकरण गर्नको लागि आहारपूरक खाद्य (डाइटरी सप्लिमेन्ट) को प्रयोग गरियो भने पोषणको अवस्था निकै राम्रो हुने थियो,” विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धिताल भन्छन् । 

आहारपूरकको रूपमा प्रयोग हुने खाद्य पदार्थहरूमा अवाञ्छित मिसावट रोक्न तथा समिश्रित तत्वहरूको मात्रा सुनिश्चित गर्न र स्वच्छता एवं उचित स्तर कायम राख्नको लागि बजारमा यसको नियमन गर्ने वातावरण सरकारले तयार पार्नुपर्ने खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष अतुल उपाध्ययको भनाइ छ । 

आयातमा निर्भर रहनु परिरहेको हालको अवस्थामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका आठ कार्यालयहरू विराटनगर, जनकपुर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत र हेटाैँडाबाट तथा डिभिजन कार्यालयहरूका २२ वटा स्थानहरूबाट अनुगमन गरिरहेको जनाएको छ । अनुगमनको अवस्था नै चिन्ताजनक रहेकाले तीनै तहका सरकारको साथ र सहयोग बिना एउटा निकायको सक्रियताले अपेक्षित नतिजा आउन नसक्ने संघका अध्यक्ष उपाध्ययको ठम्याइ छ ।

उनले भने, “औषधि जतिसुकै राम्रो र उचित गुणस्तरको भए पनि आहारपूरक खाद्य बस्तु यदि गुणस्तरहीन भएमा औषधि एक्लैले रोग नियन्त्रण गर्न सक्दैन । आहारपूरक खाद्य पदार्थ भनेको औषधिको साथी हो ।” स्थानीय निकायहरू आहारपूरक खाद्यको प्रयोग गर्न विभागसँग सहकार्यका साथै प्रविधि, पोषण तथा खाद्य स्वच्छताको विषयमा बढीभन्दा बढी कार्यक्रमहरू तय गरी जनस्वास्थ्य सुधारमा काम गनु पर्ने उनको भनाइ छ ।

(टक्सार म्यागजिन, २०७९ फागुन अंक, पृष्ठ ६४ देखि ६६ सम्म)