नेपाल डेरी एसोसिएसनद्वारा चौरी व्यवसायबारे छलफल


काठमाडौं । नेपाल डेरी एसोसिएसनले नेपालमा चौरी व्यवसायबारे छलफल गरेको छ ।

चौरीको दुधबाट बनेको छुर्पी बिदेश निर्यात हुँदै आएको छ । कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले चौरी पालनलाई सबै मिलेर प्रोत्सादन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने,“ चौरी, याक पालनलाई राम्रो बनाउँदा पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ । चौरी र याकलाई यातायातको साधनको रुपमा पनि विकट स्थानमा प्रयोग गरिने कुराले पनि यो पेशा साह्रै उपयोगि समेत छ ।”

नेपालका २९ वटा जिल्लामा चौरी पालन हुन्छ । जसमा दोलखामा ५०५० , सिन्धुपाल्चोक ४६५१ वटा, रसुवामा २२८ वटा, रामेछापमा ५२१ चौरी रहेको तथ्याङ्क छ । यस्तै धादिङ्ग मा जिल्लामा १७७,र नुवाकोटमा ९०० वटा देशभर करिब ११,५२७ वटा चौरी गाईहरू रहेको तथ्याङ्कले देखाएको छ ।

चौरी चराउन ३२/३५ सय मिटरको उचाइमा लगिने भन्दै शुद्ध खानपिन, जडीबुटी खाने हुँदा हतपत रोग नलाग्ने विज्ञहरूको भनाई छ । डेरी विज्ञ लालकुमार के.सी.ले चौधरीले दिने दुध अत्यधिक पोषिलो र फुल फ्याटको हुने बताए ।

उनले भने,“यो जनावरको सबै कुरा उपयोगि छ । हड्डी, रौं, सिंङ, पुच्छर आदि सबै बहुमूल्य हुन् । चौरी बहुउपयोगी जनावर हो ।” नेपालका २५ वटा हिमाली जिल्ला मध्य १५ जिल्लामा चौरी पालन हुँदै आएको छ । विज्ञ के.सी.ले भने,“हिमाली जिल्लामा ४० प्रतिशत खर्क र वन जंगल छ । जहाँ चौरी पालनको अत्यन्तै सम्भावना छ ।”