सेयरबजारमा ‘एसएमई प्लेटफर्म’को पर्खाइ


तीन वर्ष अघि साना तथा मझौला उद्योगहरू (एसएमई)को छुट्टै सेयर कारोबार हुने गरी एसएमई प्लेटफर्म निर्माण गर्ने नीति लिएको नेपाल धितोपत्र बोर्डले बल्ल नियमावलीको मस्यौदा तयार गरेको छ ।

२०७९ चैत्र १६ गते बोर्डले एसएमएई प्लेटर्फमको संचालनको लागि ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली, २०७९’को मस्यौदा सार्वजनिक मस्यौदा तयार पारेर बोर्डले वेवसाइटमार्फत सार्वजनिक गरेको हो । साथै बोर्डले उक्त मस्यौदामा केही गल्ति कमजोरी देखिएमा सल्लाह सुझाव दिन सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

बोर्डले तयार पारेको उक्त मस्यौदा मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउने बोर्डका अध्यक्ष रमेश हमालले बताए । उनले भने “हामीले आज मस्यौदा तयार गरेका छौं मस्यौदा तयार भएसँगै सम्बन्धित सरोकारवालाहरुको सुझाव लिएर मस्यौदालाई बोर्डबाट पारित गरि स्वीकृतिको लागि अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाईने छ ।”

एसएमई प्लेटर्फममा जानको लागि पब्लिक लिमिटेड कम्पनीहरू हुनुपर्ने हुन्छ । थोरै चुक्ता पुँजी भई आफ्नो व्यावसाय विस्तार गर्नको लागि सर्वसाधारणबाट पुँजी संकलन गर्न खोजिरहेका कम्पनी यसमा समावेश हुन सक्छन् । यसमा नचलेका, साना तथा उच्च जोखिम भएका कम्पनीहरू समेत हुनेछन् ।

नेपाल धितोपत्र बोर्डले तीन वर्षअघि साना तथा मझौला उद्यम (एसएमई) को छुट्टाछुट्टै सेयर कारोबार हुने गरी एसएमई प्लेटफर्म निर्माण गर्ने नीति लिएको थियो तर यो नीति अझै कार्यान्वयनमा आउन सकेको छैन । हाल नेपालको पुँजी बजारमा ठुलासाना कम्पनीहरूको सम्पूर्ण कारोबार सोलोडोलोबाट मापन गरिन्छ, जसले गर्दा नेप्से सूचक निर्धारण एकातिर वस्तुपरक हुन सकेको छैन भने सट्टेबाजीको कारोबार भइरहेको छ ।

साना सेयर कारोबार, जसलाई ‘माइक्रोक्याप ट्रेडिङ’ पनि भनिन्छ । यो एक अभ्यास हो जहाँ लगानीकर्ताहरूले कम बजार पँुजीकरण भएका साना कम्पनीहरूको सेयर कारोबार गर्ने गर्छन् । यस प्रकारको कारोबार जोखिमपूर्ण हुन सक्छ, किनकि साना कम्पनीहरू बजारको उतारचढावको लागि बढी संवेदनशील हुन्छन् । उनीहरूलाई बजार जोखिमबाट बचाउन, सेयर बजार सूचकांकलाई थप भरपर्दो तुल्याउन, बजारमा मूल्यको कर्नरिङ घटाउन र सूचकाङ्कमा अनावश्यक उतारचढाव कम गर्न एसएमई प्लेटफर्म’को अवधारणा ल्याइएको थियो ।

नीति कार्यान्वयन गर्न तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको कार्यकालमै बोर्डले एसएमई प्लेटर्फम अध्ययन समिति बनायो । बोर्डले आर्थिक वर्ष २०७७र०७८को नीति तथा कार्यक्रममा ‘साना तथा मझौला कम्पनीहरूको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्नका लागि नेप्सेलाई सहजीकरण गर्ने’ भन्ने व्यवस्था गरेको थियो ।

सो व्यवस्था अनुसार सेयर कारोबारलाई चुक्ता पुँजीको आधारमा ‘एसएमई प्लेटफर्म’ र ‘मेन बोर्ड’ गरी दुई भागमा विभाजन गरिने उल्लेख छ । अहिले सानाठुला सबै कम्पनीको एउटै बोर्डबाट कारोबार हुँदै आएको छ ।‘यसरी बजारलाई दुई भागमा विभाजन गर्दा सेयरबजारको मूल्यमा हुने कर्नरिङ अधिकतम घट्ने र अनावश्यक रूपमा सूचकमा हुने उतार चढाव पनि रोकिने बोर्डको अपेक्षा छ ।

बोर्डले बनाएको अध्ययन समितिको प्रतिवेदनका आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई साना कम्पनीको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म बनाउन सिफारिस समेत गरियो ।‘एक्सचेन्जको प्रणालीमा थप व्यवस्था गरेर कारोबार गराउन सकिने भनिएको भए पनि नेप्सेका अधिकारीहरू सो प्रतिवेदनमा विश्वस्त नहुँदा अलग कारोबार गर्ने प्रणालीमा जान मानेनन् । बोर्डका वर्तमान अध्यक्ष रमेश हमालले पनि बोर्डको नेतृत्व लिएपछि ‘एसएमई प्लेटफर्म’ सञ्चालन गर्ने कार्य आफ्नो प्राथमिकतामा राखेका छन् ।

‘जसअनुसार बोर्डले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा ‘साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्लेटफर्म लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आवद्ध गरिनेछ’ भन्ने व्यवस्था गर्दै एसएमई प्लेटर्फम ल्याउने नीतिलाई निरन्तरता दिएको छ । २०७९ असारअघि नै एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउने भनिए पनि अहिलेसम्म बोर्डले नियमावली बनाउन सकेको थिएन ।

नेप्सेले कार्यविधि बनाएर नदिँदा नियमावली निर्माण गर्न ढिलो भएको भनेर बोर्डले भन्दै गर्दा नेप्सेले भने बोर्डले नियमावली नबनाई नेप्सेले विनियामवली बनाउन नमिल्ने बताउँदै आएको थियाे ।

एसएमई प्लेटफर्मको लागि यस्तो छ व्यवस्था

बोर्डले सार्वजनिक गरेको मस्यौदामा धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्ता पूँजी बढीमा पच्चीस करोड रूपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । तर साना तथा मझौला संगठित संस्थाको उपस्थिती र बजारको अवस्था हेरी बोर्डले चुक्ता पूँजीको सीमा हेरफेर गर्न सक्ने मस्यौदामा उल्लेख छ ।

साना तथा मझौला संगठित संस्थाले धितोपत्रको सार्वजनिक निष्कासन गर्दा जारी पूँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ । यस्ता कम्पनीहरूले धितोपत्रको सार्वजनिक निष्कासन गर्न विभिन्न शर्तहरू पुरा गर्नुपर्नेछ ।

नियमावलीमा भएको व्यवस्था बमोजिम धितोपत्रको सार्वजनिक निष्कासन गर्ने साना तथा मझौला संगठित संस्थाले पब्लिक कम्पनीको रुपमा कारोबार सञ्चालन गरेको एक आर्थिक वर्ष पुरा हुनुपर्नेछ । बोर्डले साना तथा मझौला उद्योगहरुले पनि प्रिमियममा आइपीओ निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रिमियममा धितोपत्रको सार्वजनिक निष्कासन गर्न संगठित संस्था लगातार पछिल्लो ३ वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको र संगठित संस्थाको प्रतिसेयर चुक्तापुँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी भएको हुनुपर्नेछ।

यसैगरी प्रिमियममा धितोपत्रको सार्वजनिक निष्कासन गर्न संगठित संस्थाको साधारणसभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको र संगठित संस्थाले कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्नेछ।

यस्ता कम्पनीले जारी गर्ने आइपीओमा न्यूनतम २५० कित्ता आवेदन दिन पाइने व्यवस्था रहेको छ । सेयरको अंकित मूल्य साधारणतया एक सय रुपैयाँ हुने जनाएको मस्यौदामा उल्लेख छ । संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिसेयर नेटवर्थको दुई गुणासम्म निष्काशित मूल्य तोक्न सक्नेछ।

कम्पनीहरुको सर्वसाधारण सेयर पनि ५ वर्षसम्म बेच्न नपाइने भएको छ। धितोपत्र संगठित संस्थाले सर्वसाधारण समूहको लागि प्राथमिक सार्वजनिक निष्कासन गरी सेयर बाँडफाँट भएको मितिले ५ वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्था नियमावलीमा छ। आम सर्वसाधरणले भने बेच्न पाउनेछन्।

बोर्डले एसएमई कम्पनीको कारोबार सञ्चालन गर्न मेन बोर्ड र एसएमई प्लाटफर्म गर्ने जिम्मा भने एक्सचेनजलाई नै दिएको छ। जसअनुसार अहिले कै अवस्थामा पनि कम्पनीहरु दोस्रो बजारमा प्रवेश गर्न सक्नेछन्।

के हो एसएमई प्लेटफर्म ?
‘एसएमई प्लेटफर्म’हरू स्टक एक्सचेन्जमा साना र मझौला आकारका उद्यमहरू (एसएमई) का लागि लक्षित कारोबार हुने छुट्टै प्रणाली हो । यो प्लेटफर्मले एसएमईहरूलाई पुँजी संकलन र व्यावसाय विस्तारका लागि सेयर बजारबाट कारोबारमा छुट्टै बजार आधार प्रदान गर्दछ ।

साना तथा मझौला कम्पनीहरूले सर्वसाधारणसँग पुँजी सङ्कलन गर्न धेरै कष्ट नहोस् भनेर एसएमई प्लेटर्फमको अवधाराण ल्याइएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ बताउँछन् ।

“एसएमई प्लेटर्फममा आइपीओ जारी गर्नेदेखि कारोबारसम्मको मोडल फरक हुन्छ” श्रेष्ठले भने,“अहिले सामान्य आइपीओ जारी गर्दा सबैलाई १०÷१० कित्ताको दरले बाँडिन्छ भने एसएमईजमा प्राय अलि धेरै कित्ता सेयर बाँडिन्छ । ठुला कम्पनीको आइपीओभन्दा एसएमइज आइपीओ अलि फरक हुन्छ, यसको कारोबारको विधि नै फरक हुन्छ ।”

एसएमई प्लेटफर्ममा थोरै पुँजी भएका, अलि जोखिम रहेका कम्पनी, स्टार्टअप कम्पनी तथा साना साना कम्पनी हुने उनको भनाइ छ । साना तथा मझौला उद्योगहरूका लागि आर्थिक स्रोत उपलब्ध गराउनुका साथै एसएमई प्लेटफर्मले साना लगानीकर्तालाई पनि फाइदा पुर्‍याउन सक्छ । यी प्लेटफर्ममार्फत एसएमईहरूमा लगानी गरेर लगानीकर्ताहरूले उनीहरूको विकासको प्रारम्भिक चरणमा उच्च वृद्धि कम्पनीहरूमा एक्सपोजर प्राप्त गर्न सक्छन् ।

अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बनेको उक्त अभ्यास नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन लागेको हो ।‘विकसित देशहरूले स्थानीय स्टक एक्सचेन्ज मार्फत त्यस्ता कम्पनीलाई सूचीकृत हुने अवसर दिन्छन् । सूचीकृत हुने अवसर प्राप्त गर्नु भनेकै सार्वजनिक निष्कासन मार्फत पूँजी सङ्कलन गर्ने अधिकार दिनु हो तर सबै कम्पनीले निष्कासन अनुमति पाउँछन् भन्ने छैन । निश्चित मापदण्डभित्र परेका कम्पनीले सूचीकृत हुने अवसर पाउँछन् ।

भारतमा बीएसई एसएमई प्लेटफर्म र एनएसई इमर्ज प्लेटफर्म, सिंगापुरमा एसजीएक्स क्याटालिस्ट प्लेटफर्मसहितका अन्तर्राष्ट्रिय सेयर बजारका अनुभवका आधारमा नेपालमा पनि यस्तो ‘एसएमई प्लेटफर्म’को अवधारणा ल्याइएको हो । एसएमई प्लेटफर्म कार्यान्वयनमा आएपछि स्टार्टअप कम्पनीहरूलाई व्यावसाय विस्तारको लागि पुँजी संकलन गर्न सहज हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

कस्ता कम्पनी आउँछन् ?
एसएमई प्लेटर्फममा साना तथा मझौला कम्पनीहरूको कारोबार हुन्छ । अन्तर्राष्ट्रिय अभ्यास अनुसार २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीहरू एसएमई प्लेटफर्ममा आउन सक्ने धितोपत्र बोर्डले जनाएको छ ।

एसएमई प्लेटर्फममा जानको लागि पब्लिक लिमिटेड कम्पनीहरू हुनुपर्ने हुन्छ । थोरै चुक्ता पुँजी भई आफ्नो व्यवसाय विस्तार गर्नको लागि सर्वसाधारणबाट पुँजी संकलन गर्न खोजिरहेका कम्पनी यसमा समावेश हुन सक्छन् । यसमा नचलेका, साना तथा उच्च जोखिम भएका कम्पनीहरू समेत हुनेछन् ।

कारोबारको लागि नयाँ विकल्प
एसएमई प्लेटर्फम कार्यान्वयनमा आउँदा सर्वसाधारण लगानीकर्तालाई कारोबारको लागि एउटा विकल्प हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।

प्रवक्ता पराजुली भन्छन्,“विश्वभरको सेयर बजारको इतिहास हेर्दा साना कम्पनी भनेको दोधारे तरबार जस्ता हुन् जोखिम पनि बढी हुन्छ, नाफा पनि बढी हुन्छ । ठुला कम्पनीको तुलनामा साना कम्पनीहरूलाई व्यावसाय विस्तार गर्ने ठाउँ हुन्छ । नाफा अनुमान नगरेको पनि हुन सक्छ, घाटा पनि हुन सक्छ ।”

अहिले साना ठुला कम्पनीहरू एकै ठाउँमा छन् । यस्तो अवस्थामा कतिपय कम्पनीहरूको सेयर खरिदबिक्री हुँदा मूल्य एकैपटक उछालियो भन्ने टिप्पणी हुन्छ तर एसएमई प्लेटफर्म लागु हुँदा यस्ता समस्या कम हुने सेयर बजारका जानकारहरू बताउँछन् ।

“अहिले जसरी मेन बोर्डमा आपूर्र्ति नपुगेर सेयरको मूल्य बढ्ने, प्रतिफल नमिल्ने गुनासोे छ । एसएमई प्लेटफर्ममा जाँदा यस्ता समस्या कम हुनेछ । यहाँ कारोबार गर्ने केही सीमित मान्छे मात्र हुन्छन् । त्यसमा अलिकति बुझ्ने मात्र आउँछन्,” बजारका जानकारहरू भन्छन् ।

यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास
विश्वका विभिन्न मुलुकहरूमा कुनैमा साना कम्पनीको कारोबारका लागि अलग एक्सचेन्ज हुने गरेको छ भने कुनैमा मुख्य स्टक एक्सचेन्ज अन्तर्गतको सहायक बोर्डप्लेटफर्म बनाइने गरेको छ ।

सन् २०१२ देखि भारतमा बम्बई स्टक एक्सचेन्ज (बिएससी) ले ‘स्मल एन्ड मिडियम इन्टरप्राइजेज प्लेटफर्म (एसएमई प्लेटफर्म) सञ्चालनमा ल्याएको छ । सो प्लेटफर्ममा ४ सयभन्दा बढी कम्पनी सूचीकृत भएका छन् । जसमध्ये १ सय ६४ कम्पनी मेनबोर्डमा पुगिसकेका छन् ।

भारतमा साना कम्पनीहरू कारोबार हुने प्लेटर्फममा रहने कम्पनीको चुक्ता पुँजी सर्वसाधारणमा सेयर जारी गरेपछि पनि २५ करोड भारू भन्दा बढी हुन नहुने व्यवस्था रहेको छ तर मेनबोर्डमा समेत २५ करोडभन्दा कम पुँजी भएका कम्पनी छन् । त्यसैले त्यहाँ चुक्ता पुँजीकै आधारमा मात्र कम्पनीहरू अलग्याइएको देखिँदैन।

यस्ता साना प्लेटर्फममा कारोबार हुने कम्पनीलाई प्राथमिक सेयरको रेटिङसमेत आवश्यक नपर्ने व्यवस्था गरिएको छ तर कम्तीमा ५० जनाले प्राथमिक बजारबाट सेयर पाएको हुनुपर्ने व्यवस्था छ । त्यस्तै प्राथमिक बजारमा बिक्री गरिएको मध्ये कम्तीमा १ लाख भारू मूल्य बराबरको सेयर बिक्री भएको हुनुपर्ने व्यवस्था छ । यी कम्पनीहरूले अर्धवार्षिक रूपमा वित्तीय विवरण प्रकाशित गरे पनि हुने व्यवस्था रहेको छ ।

यस्तै, नेसनल स्टक एक्सचेन्ज अफ इन्डिया (एनएसई) ले सन् २०१२ मा एनएसई इमर्ज प्लेटफर्मको स्थापना गरेको थियो । आफ्नो स्थापनाकालदेखि नै एनएसई इमर्ज प्लेटफर्मले ३ सयभन्दा बढी कम्पनी सूचीकृत भएका छन् । एनएसई इमर्ज प्लेटफर्ममा सूचीकृत हुनका लागि, पनि २५ करोड भारुभन्दा‘कमको चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, सिंगापुर एक्सचेन्ज (एसजीएक्स)द्वारा डिसेम्बर सन् २००७ मा एसजिएक्स क्याटलिस्ट प्लेटफर्म सञ्चालन गरिँदै आइएको छ । जसमा आवद्ध हुनका लागि पुँजीकरण न्यूनतम ४ करोड सिंगापुर डलर हुनुपर्ने सीमा तोकिएको छ । सो प्लेटफर्ममा २०० भन्दा अधिक साना तथा मझौला कम्पनीहरू सूचीकृत छन् ।