‘महासंघमा व्यावसायीले नेतृत्व खोज्ने होइन नेतृत्वले व्यावसायी खोज्ने वातावरण बनाउने छौँ ’


नानिराज घिमिरे, फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष हुन् । मकवानपुर हेटौँडाका स्थायी वासिन्दा घिमिरे २०४४ सालदेखि व्यावसायिक क्षेत्रमा क्रियाशील उनी २०४९ सालदेखि भने फुटवेयर व्यावसायमा संलग्न छन् । २०५७ सालमा एसोसिएसन गठन हुँदा घिमिरे संस्थापक थिए । घिमिरे अहिले उद्योग वाणिज्य संघ काठमाडौंँको राजस्व समितिको अध्यक्ष समेत हुन् । उनी यसपटक नेपाल उद्योग वाणिज्य महासंघमा उमेशलाल श्रेष्ठ समूहबाट केन्द्रीय समितिको उम्मेदवार बनेका छन् । यसै विषयमा टक्सारले घिमिरेसँग गरेको कुराकानी :

उद्योग वाणिज्य महासंघको चुनाव नजिकिएको छ । केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । कस्ता मुद्दा बोकेर चुनावी मैदानमा उत्रनुभएको छ ?

म नेपाल उद्योग वाणिज्य महासंघसँग ६ वर्षदेखि परिचित छु । उक्त समयमा राजश्व समितिको सदस्य थिएँ भने अहिले कृषि समितिको बोर्ड सदस्य छु । महासंघलाई नजिकबाट हेर्दा १२३ वटा नै वस्तुगत संगठनहरूको व्यावसायीको पहुँच कम हो कि जस्तो लाग्छ । नेतृत्वले जित्नुभन्दा पहिला एउटा कुरा गर्ने र जितेपछि कम चासो दिने गरेको मेरो अनुभव छ ।

अर्को कुरा, महासंघको संरचना यसरी बन्यो कि त्यहाँ आयात गर्ने पनि छन् र उत्पादन गर्ने पनि छन् । राज्यले आयातमुखी अर्थतन्त्रमा जोड दियो, जसका कारण उत्पादन क्षेत्रमा लाग्नेलाई खासै राम्रो तरिकाले हेरेको अवस्था छैन । महासंघमा साना तथा मझौला उद्यमीहरू जो उत्पादन उद्योगमा क्रियाशिल छन् ।

उहाँहरूको समस्यालाई पनि आजको दिनसम्ममा पूर्ण प्रथमिकतामा राखेको छैन । त्यसैगरी मेरो आफ्नो उम्मेदवारी भनेको विभिन्न फुटवेयर जस्तै १२३ वटै वस्तुगत संगठनको पहुँच महासंघमा स्थापित गराउनु, महासंघ मार्फत सरोकारवाला निकायसम्म हामी जस्ता साना तथा मझौला व्यावसायीको समस्या पु¥याउनु हो ।

अब ठुला व्यावसायिका पहुँच माथिसम्म हुने भएकाले उहाँहरूलाई केही समस्या त भएन । ठुलाहरू धेरै जसो आफ्ना फाइदाहरूलाई प्रयोग गरेको देखेका छौँ । उहाँहरूले आफ्नो पहुँच प्रयोग गर्दा नराम्रो नमानेका पनि छैनौँ । उहाँहरूलाई के भन्छौँ भने मह काड्नेले हात चाट्छ तर साना तथा मझौलालाई प्रयोग मात्र गरेर आफ्नो दुनो सोझ्याउनुमा हाम्रो बिमति हो ।

म वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र वस्तुगत उपाध्यक्ष हेमराज ढकालको टिममा छु । हामी १४ जना कार्यकारी सदस्य र एक जना उपाध्यक्ष गरेर वस्तुगततर्फ १६ जनाको टिम हुन्छ । यदि हाम्रो टिमले जितेर गएको अवस्थामा अथवा मैले जितेर गएको अवस्थामा हामी सरहका साना तथा मझौला व्यावसायीहरूको आवाजलाई सरोकारवाला निकायसम्म पुर्‍याउनका लागि के गर्न सकिन्छ ? त्यसको लागि साम, दाम, दण्डभेद जे प्रयोग गर्न सकिन्छ गर्ने हो ।

अब हामीले नेत्तृव कहाँ छन् भनेर खोज्ने भन्दा पनि हाम्रो टिमले जितेर गयो भने वस्तुगत संघसँग समस्या के के छन् आउनुहोस् बसेर छलफल गरौँं भनेर नेतृत्वले व्यावसायी खोज्ने वातावरण हामीले बनाउने छौँ ।

यस पटक वस्तुगत संघबाट जसले उम्मेदवारी घोषणा गर्नुभएको छ, उहाँहरूसँग अलि बढी महासंघको विगतका नेतृत्वप्रति गुनासो छ र महासंघले आफ्ना मुद्दाहरूलाई राम्रोसँग सम्बोधन गर्न नसकेको वा चासो नदिएको भन्नुभएको छ । विगतदेखि नै वस्तुगतबाट उपाध्यक्ष निर्वाचित भएकै छन् । कोटा अनुसार प्रतिनिधित्व भएकै थियो तर वस्तुगतबाट यस पटक बढी नै चलायमान देखिन्छ किन होला ?

बिगतमा हेर्नुभयो भने महासंघले बोल्दा सरकारले सुन्थ्यो । यिनीहरूले बोले हामीले सुन्नुपर्छ र तुरुन्त गर्नुपर्छ भनेर सरकारले कार्यान्वयन पनि गथ्र्यो । यदि त्यो गरेन भने महासंघ एकजुट भएर त्यसको विरोधमा उत्रिँदा सरकार बाध्य हुन्थ्यो । यो पछिल्लो समय कमजोर बनेको छ । केही भएन भन्ने त होइन तर केही विषय छुटेकै छन् ।

पछिल्लो एक दुई कार्यकाल हेर्दा यो महासंघले के गर्छ र ? भन्ने कुराको नकारात्मक प्रभाव परेको छ । महासंघ केही होइन भनेर सरोकारवाल निकायलाई लागेको छ । त्यो कुरालाई हाम्रो टिमले मनन् गरेको छ । त्यस कारण हाम्रो टिमले जित्यो भने एउटा त त्यो गुमेको विश्वासलाई फिर्ता ल्याउँछौँ र अर्को व्यवसायीले नेतृत्व खोज्ने होइन कि नेतृत्वले व्यावसायी खोज्ने माहोल बनाउने छौँ ।

सम्भव भएसम्म बहुमत अथवा सम्पूर्ण टिम चयन हुने वातावरण बन्यो भने आफूले चाहे अनुसार काम त गर्ने नै छौँ । यदि यसो हुन सकेन भने पनि मतदान सकिएपछि त हामी सबै एकै हौँ । मिलेरै काम गर्छौँ । यद्यपी अहिले हाम्रो अपिल के छ भने हाम्रो समग्र टिमलाई नै जिताऊँ भनेर अनुरोध छ ।

फुटवेयर क्षेत्रको नेतृत्व गरिरहनुभएको छ । यस क्षेत्रका समस्या के छ ?

यो क्षेत्रका समस्या धेरै छन् । मेरा अग्रजहरू जो अध्यक्ष भएर आउनु भयो र महासंघमा जानुभयो । उहाँहरूको पालामा धेरै कुरा समाधान भए । समयान्तरसँगै समाधान गर्ने तरिका पनि फरक हुन्छ । फुटवेयर क्षेत्रमा हामीसँग ठुला साना गरेर १५ सय हाराहारी उद्योग छन् । १ सयदेखि १५० सम्मलाई रोजगार दिनेलाई मझौला भन्छौँ भने ५ सयभन्दा बढीलाई रोजगार दिनेलाई ठुलो उद्योग भन्छौँ । ठुला उद्योग ५० देखि ६० वटा छन् । ३० अर्बको लगानी भएको छ भने बैंकले मात्रै ४ अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गरेका छन् ।

हाम्रो अहिलेको उत्पादनको क्षमता हेर्ने हो भने १६ करोड जुत्ता बनाउने क्षमता छ । खपत १० करोड जोरको छ तर आज पनि हामी आत्मनिर्भर छैनौँ । नीतिगत रूपमा सरकारले हामीलाई धेरै कुरा दिएको छ तर कार्यान्वयन फितलो छ ।

नीतिगत रूपमा भएका व्यवस्थालाई कार्यन्वयन गराएर नेपाललाई पूर्ण आत्मनिर्भर बनाएर उद्योगहरू सहज रूपमा सञ्चालन गर्न सक्दा पूर्ण आत्मनिर्भर हुन सक्छौँ । आयातलाई प्रतिस्थापन गर्नमात्र सक्यौँ भने विदेशी मुद्राको सञ्चित बढ्छ । त्योसँगै फुटवेयर क्षेत्र भनेको निर्यात गर्न सकिने ठुलो सम्भावना बोकेको क्षेत्र पनि हो तर समस्या के छ भने छिमेकी मुलुकसँग हामीले प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ ।

आर्थिक वर्ष २०७८/०७९ को भन्सार तथ्याङ्क हेर्दा साढे दुई करोड जोर जुत्ता आयात भएको देखिन्छ । हाम्रो उत्पादन खपतको तथ्याङ्क निकालेका छौँ, जसमा ६ करोड जोर जुत्ता खपत भएको देखिन्छ । यो जोड्दा आठ करोड जोर जुत्ता भयो । बाँकी कहाँबाट आयो ? यो मुख्य प्रश्न हो । यो भनेको अवैध रूपमा भन्सार छलेर आएको हो ।

फुटवेयरको कच्चा पदार्थको समस्या कस्तो छ ?

आठ वर्ष अघि हेर्ने हो भने जम्मा १० प्रतिशत नेपाली कच्चा पर्दाथ नेपालको प्रयोग हुन्थ्यो । आजको दिनमा आउँदा नेपाली कच्चा पर्दाथको प्रयोग ४० देखि ५० प्रतिशत रहेको छ । रबर सोलका उद्योगहरू स्थापना भएका छन् । पीभीसी सोलमा नेपाल पूर्ण रूपमा आत्म निर्भर छ । पीयू सोल नेपालबाट निर्यात हुने गरेको छ ।

स्पोर्टस् जुत्ताको सोलको प्लान्ट लाग्ने क्रममा थियो तर आर्थिक मन्दीका कारण सम्भव भएन । राज्यले थोरै भए पनि प्रथामिकतामा राख्ने हो भने हामी दुई चार वर्षमा ७० प्रतिशत कच्चा पदार्थ नेपालकै प्रयोग गर्न सक्ने स्थितिमा छौँ । आजको दिनमा हामीले ५० प्रतिशत नेपाली कच्चा पर्दाथ र बाँकी विदेशी प्रयोग गरेका छौँ ।

यो चोरीपैठारी जस्ता कारणले गर्दा तयारी जुत्ता आउन सजिलो छ । यसले गर्दा यहाँ दिक्क भएर उद्योग बन्द गर्नुपर्ने स्थिति छ । यो कुरा हामीले प्रधानमन्त्रीसामु पनि राखेका थियौँ । राज्यले चाहने हो भने हामीले नेपालको कच्चा पर्दाथ प्रयोग गर्न सक्छौँ ।

फुटवेयर एसोसिएसनको मुद्दालाई महासंघको चुनावमा कसरी उठाउनुभएको छ ?

मैले बोकेर हिँड्ने भनेको संस्थाको कुरा हो । मुख्य कुरा सरोकारवालासँग जोड्नु हो । एउटा मात्र संघ नभएर समग्र वस्तुगत संंघ, उद्योगीहरू छन् । हाम्रो उद्देश्य भनेको उद्योगीहरूको समस्या सरोकारवालासँग कसरी ल्यौजाने भन्ने हो ? उद्योग सञ्चालन गर्ने वातावरण कसरी सिर्जना गर्ने र हामीसँग भएका समस्यालाई महासंघले समाधानै त गर्ने होइन तर महासंघमा बसेर सरोकारवाला सामु लैजाने, नीति निर्माणको तहमा बस्नेलाई झक्झकाउने, नीति नियमलाई परिमार्जन गरेर व्यापार घाटालाई न्युनीकरण गर्ने, आयातलाई प्रतिस्थापन गर्न आत्मनिर्भरतातर्फ उद्योगलाई धकेल्ने जस्ता कार्य गर्न मैले सरोकारलाई दबाब दिनेछु ।

मतदातालाई के भन्न चाहनुहुन्छ ?

हाम्रो अर्थतन्त्रमा ७० प्रतिशत योगदान नीति क्षेत्रको छ । संरचनागतको कुरा गर्दा नेपाल उद्योग वाणिज्य महासंघ देशभर पुगेको राज्यपछिको ठुलो छाता संगठन हो । राज्यको संरचनापछि सबै जिल्लामा पुगेको अरू संगठन छैन । निजी क्षेत्रको ७० प्रतिशत अर्थतन्त्रमा भएको योगदानलाई सयप्रतिशत बनाएर हेर्ने हो भने ७५ देखि ८० प्रतिशत साना तथा मझौलाको योगदान रहेको छ ।

ठुला उद्योगमा प्रविधिको उच्चतम प्रयोग हुन्छ, जसमा रोजगारी संख्या नै कम हुन्छ तर साना तथा मझौलामा जनशक्तिको प्रयोग हुन्छ । जस्तो कि नेपालमा एउटा व्यक्तिले तीन जोर जुत्ता बनाउँछ तर भारतमा त्यै एक जनाले आठ जोर जुत्ता बनाउँछ किनभने प्रविधिको प्रयोग हुन्छ ।

यसको पहिचान गरेर राज्यले प्रविधिको उच्चतम प्रयोग गर्ने वातावरण बनाउनु पर्‍यो । यो अवस्थामा साना तथा मझौला उद्योगीको आवाज नै मेरो आवाज हुनेछ । वस्तुगत संगठनमा ९० देखि ९५ साना तथा मझौला उद्योगीहरू छन् । महासंघकै कुरा गर्ने हो भने वस्तुगत संघ साना तथा मझौलाले नै चलेको छ । त्यसैले साना तथा मझौला उद्योगीहरू, वस्तुगत संगठनहरूको समस्याका लागि कुनै पनि ठाउँमा बोल्न तयार हुने छौँ ।

जुन तरिकाले महासंघ किन चाहियो ? केही गरेन भनेर आलोचना भएको छ त्यसलाई सुधार गरेर महासंघ किन चाहिन्छ भनेर प्रमाणित गर्ने र महासंघको साख पहिलाको जस्तो बनाउन पहल गर्ने छु । यी कुरालाई आधार मानेर हामीलाई मत दिने १२३ जना नै वस्तुगत संघ सदस्यहरू, जुन भोटको अधिकार लिएर आउनु भएको छ, उहाँहरूले जिताउने विश्वास लिएको छु ।