नेपाल र चीनबीच सदियौंदेखि लामो समयदेखि व्यापारिक सम्बन्ध रहँदै आएको छ । नेपालको व्यापारको ठूलो हिस्सा उत्पादित वस्तु र प्रविधिलगायत आयातीत वस्तुको हुने भएकाले नेपाल चीनबाट हुने आयातमा निर्भर छ । यससँगै दुई देशबीच व्यापार घाटा बढ्दै गएको छ ।
नेपालले ऊनका सामान, जडीबुटी, खाद्यान्न र काठ चीनतर्फ निर्यात गर्दै आएको छ भने चीनबाट सबैभन्दा बढी विद्युतीय उपकरण, मोटरसाइकल, मेशिन, सवारी साधन र खाद्य वस्तु आयात हुने गरेको छ । नेपालले चीनतर्फ निर्यात भन्दा बढी आयात गर्छ, जसले गर्दा व्यापारमा असन्तुलनको अवस्था छ । नेपाल र हाल चीनको स्वशासित क्षेत्र तिब्बतबीच लिच्छवीकालदेखिकै व्यापारिक सम्बन्ध भएको इतिहास छ, जुन सन् १९५५ मा दुई देशले औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेसँगै विस्तारित भएको हो ।
नेपाल र चीनबीचको व्यापार घाटा निरन्तर बढ्दै गएको छ । नेपालमा कुल आयातमध्ये चीनबाट करिब १५ प्रतिशत आयात हुन्छ भने निर्यात १ प्रतिशत भन्दा कम रहेको छ । नेपाल र चीनको व्यापार २०७२ सालको भूकम्पभन्दा अघि राम्रै भए पनि त्यसपछि खस्कँदै गएको देखिन्छ । आव २०७८/७९ मा १ खर्ब ९ अर्ब ९७ करोड ८७ लाख रुपैयाँ बराबरको आयात हुँदा ३४ करोड ११ लाख १ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष २०६९/७० मा ६८ अर्ब ३० करोड ४८ लाख ८२ हजार रुपैयाँ बराबरको आयात भएको थियो भने २ अर्ब १७ करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आर्थिक वर्षमा सरकारले आयातमा प्रतिबन्ध लगायो र चीनले पनि अघोषित नाकाबन्दी गरेका कारण आयात निर्यात नै कम भएको हो । चीन सरकारले विभिन्न बहाना देखाउँदै सामानको नेपाल हुने आयात र नेपालबाट हुने निर्यात रोकेको थियो ।
चिनियाँ भाषामा उत्पादनको ब्राण्डिङ गर्नुपर्ने देखिन्छ
हामीले सामान निर्यात गर्नको लागि गुणस्तरमा ध्यान दिनुपर्छ । चीनमा सामान निर्यातको लागि चिनियाँ भाषामा लेखेर सामान ब्राण्डीङ गर्नुपर्छ । हामीले सामान निर्यात गर्नको लागि जति गुणस्तरमा ध्यान दियो त्यति नै निर्यात बढ्छ । उर्मिला केसी, उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
जसको लागि नेपालका उद्योगी व्यवसायीहरूले पनि विशेष ध्यान दिनुपर्छ । सरकारले सामानको आयात निर्यातको लागि सहज वातावरण बनाउँदै लगिरहेको छ । भौगोलिक अवस्थाका कारण नेपालबाट चीनतर्फ निर्यात केहि घटेको हो । कोभिड र तरलता समस्याका कारण पनिसामान आयात निर्यात कम भएको हो । बाहिरबाट आउने कच्चा पदार्थ पनि आउन नसकेपछि पछि समस्या भएको थियो । अहिले आयात निर्यात खुलिसकेको अवस्था छ । अहिले सहज स्थिति बन्दै छ । विस्तारै आयातसँगै निर्यात पनि चीनतर्फ सामान आयात निर्यात बढ्दै छ । अर्थतन्त्रको समस्या कम हुँदै विदेशी विनिमय सञ्चिति पनि बढ्दै गएका कारण व्यापार बढ्दै जान्छ ।
नेपालमा चीनबाट आयात निर्यात हुनेतर्फ ९ भन्सार नाका रहेको विभागले जनाएको छ । मुगु, मुस्ताङ, रसुवा, तातोपानी (सिन्धुपाल्चोक), किमाथान्का (संखुवासभा), यारिनाका (हुम्ला), ओलाङचुङ्गोला (ताप्लेजुङ), लामाबगर (दोलखा) र लार्के (गोरखा) बाट दुई देशबीचको व्यापार हुने गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को ६ महिना (पुससम्म)मा रसुवागढी नाका र तातोपानी नाकाबाटमात्र आयात भएको छ । नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । नेपाल–चीन आर्थिक सहयोग सन् १९५० को दशकमा द्विपक्षीय सम्बन्धको औपचारिकतादेखि भएको हो । सन् १९५६ अक्टोबरमा नेपाल र चीनबिच आर्थिक सहायतासम्बन्धी पहिलो सम्झौतामा हस्ताक्षर भएको थियो ।
नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर नेपाल र चीन व्यापार लिच्छवीकालबाटै भइरहेपनि १९५९ देखि द्विपक्षीय सम्बन्धको औपचारिकता पाएको बताउँछन् । उनका अनुसार सन् १९५९ मा केरुङ नाका हुँदै भूमार्गबाट चीन र तिब्बतसँग व्यापार हुँदै आइरहेको छ । २०७२ को भूकम्पले सडक बिग्रिएपछि तातोपानी नाकाबाट आयात निर्यातमा समस्या देखिएको हो ।
कोरोना र भुकम्पको समयमा ठप्प भएको नेपालको व्यापार माघ महिनादेखि पुनः सुचारु भएको तुलाधर बताउँछन् । चीनबाट ल्यापटप र नोटबुक, टेलिफोन अथवा कर्डलेस नेटवर्किङ, युरिया, स्याउ, गार्मेन्टका सामान, फाइबर लगायतका समान आयात हुने गरेको छ । नेपालबाट निर्यात हुनेमा रुद्राक्ष, इन्ट्राओकुलर लेन्स, संगीत वाद्य यन्त्र, एयर क्राप्mट इन्जिन, पेन्टिङ, चित्रहरू, बिरुवाहरू र बिरुवाका भागहरू (बीउ र फलहरू सहित), कार्पेट, ऊन लगायतका सामान रहेका छन् ।
अध्यक्ष तुलाधरले चीनले नेपालबाट जडिबुटीदेखि तिब्बतमा भएको जनावरहरूलाई खुवाउने घाँस सहित नेपालबाट ल्याउने भनेर वनस्पति सेवा केन्द्रले भनेको तर कार्यान्वयन नआएको उनले बताए ।
सरकारले ध्यान दिएमा निर्यात बढ्छ
अहिले नेपाली गलैँचा उद्योगहरू चीनमा निर्यात भएर बाँचिरहेका छन् । अहिले अमेरिका, जर्मन, युरोपमाभन्दा धेरै गलैँचा चीनमा निर्यात भइरहेको छ । केरुङ नाका पनि अहिले खुलेको छ । केरुङको बाटो हुँदै सामान निर्यात गर्दा लागत कम लाग्छ । अब विस्तारै निर्यात बढ्दै जान्छ । केरुङको बाटो हुँदै तिब्बत भएर चीनसम्म पनि गलैँचा पुग्छ । हाम्रो जनशक्ति सस्तो र उनीहरूको जनशक्ति महँगो भएका कारण पनि नेपालबाट गलैँचा निर्यात हुने गरेको छ । नेपालबाट निकासी गर्न सक्दा धेरै सामानहरू रहेका छन् । तर सरकारले निकासीको लागि सुविधाहरू दिइरहेको छैन । सरकारले चाहेमा निकासी बढ्न सक्छ । निर्यात बढाउन सरकारले स्पष्ट नीति लिनुपर्छ । क्वारइनटाइनको व्यवस्था हटाउनुपर्छ ।
“नेपालबाट जडिबुटीदेखि जनावरहरूको लागि घाँसपात निर्यात गर्ने वनस्पति केन्द्रले भनेको छ । तर यो हालसम्म कार्यान्वयन भएको छैन,” तुलाधर भन्छन्,“ हाम्रो बाँझो खेतबारीमा घाँस रोपेर तीन–तीन महिनामा लाग्ने योजना छ । हामीले यो एउटा मात्रै गर्न पाए माटो पनि बिग्रदैँन निर्यात पनि बढ्छ ।”
विद्युत् निर्यात पनि अर्को सम्भाव्य क्षेत्र भएको उनको भनाइ छ । “चीनले पनि बाहिरबाट विजुली ल्याएर प्रयोग गरिरहेको छ । नेपालले पनि चीनतिर विजुली बेच्न सक्यो भने व्यापार घाटा कम गर्न सकिन्छ,” उनले भने ।”
चीनले प्रविधिमा धेरै फड्को मारिसकेको अवस्था छ । चीनमा भइरहेको प्रविधिको विकासले पनि नेपालले सिक्न सक्ने अवस्था रहेको तुलाधार बताउँछन् । नेपालले चीनबाट कृषि र नयाँ प्रविधिको बारेमा सिक्न सकिने उनको ठहर छ ।
“नेपालको कफी चीनमा धेरै माग छ तर नेपालको प्रशोधन गरेको हुँदैन भनेर निर्यात हुन सकेको छैन । अन्तर्राष्ट्रिय गुणस्तर पाउने गरि नेपालले कफी प्रशोधनको लागि पहल गर्न सकिएमा यसको निर्यात हुनसक्छ,” तुलाधरले भने । नेपालबाट चीनतर्फ विभिन्न किसिमका कृषिजन्य वस्तु निर्यात गर्न सकिने व्यवयासीहरूको भनाइ छ ।
नेपालले विशेषतः चीनतर्फ दाल निर्यात गर्न सकिने सम्भावना छ । यस्तै नेपाल आँप, खुर्सानी, अम्बा, सुन्तलासहितका फलफूलरूको पनि चीनतर्फ निर्यात गर्न सकिने अवस्था छ । नेपाल भारतपछि चिनियाँ बजारमा यी सामानको दोस्रो ठूलो निर्यातकर्ता रहँदै आएको छ ।
चीनमा हस्तकलासहित चिनियाँ बजारमा विभिन्न प्रकारका वस्तुहरू निर्यात गर्ने आफ्नो सम्भावनाको फाइदा उठाउनको लागि सरकारले ध्यान दिनुपर्ने तुलाधार बताउँछन् ।
(टक्सार म्यागजिन, २०७९ फागुन अंक, पृष्ठ ६० देखि ६१ सम्म)
प्रतिक्रिया दिनुहोस्