विषादि परीक्षणको नीतिगत सवाल


अधिक विषादि प्रयोग भएका कृषि उपजहरूलाई आयातमा रोक लगाउन सक्ने अधिकार कुनै पनि देशलाई सुरक्षित छ र विश्व व्यापार संगठनले पनि यसको सुनिश्चिता गरेको छ ।

कृषिमा विभिन्न प्रकारका विषादिहरूका प्रयोग हुने गरेका छन् । कतिपय विषादि प्राकृतिक छन् भने कतिपय रासायनिक छन् । विश्वमा करिब एक हजार प्रकारका रासायनिक विषादिहरू प्रयोगमा छन् । 

विषादिको प्रयोग अप्रिय अवश्य हो तर कतिपय अवस्थामा यो बाध्यात्मक हुन्छ । मुख्य चासो भनेको विषादिको प्रयोग वैज्ञानिक तवरमा भयो कि भएन भन्ने हो । थप चिन्ताको विषय भनेको विषादिको जथाभावी प्रयोग हो । जुन कतिपय अवस्थामा अज्ञानतावश, कतिपय अवस्थामा मानव स्वास्थ्यको ख्याल नगरी जानीबुझी भएका छन् ।

विषादिको प्रयोग भएपश्चात यो वातावरणको सम्पर्कमा आएर क्रमिक रूपमा विग्रह हुँदै जान्छ र विषकै रूपमा असर कम हुँदै जान्छ तर यसो हुने अवधि विषादि अनुसार धेरै नै फरक छ । पहिलो पुस्ताका डीडीटीजस्ता विषादिहरू माटो तथा पानीमा वर्षौँसम्म रहन सक्छन् । यस्ता विषादिहरूलाई प्रतिबन्ध गर्न सन् २००१ मा स्टकहोम कन्भेन्सन राष्ट्रहरूबिच सहमति भएको थियो । विषादिको प्रकार अनुसार पनि यसको मानिसमा हुने असर फरक हुन्छ ।

जस्तो कि झारनाशक विषादिभन्दा किटनाशक विषादि मानव स्वास्थ्यको लागि ज्यादा हानिकारक हुन्छन् । अर्को पक्ष उही विषादिको पनि मात्रा अनुसार असरमा फरक पर्छ भने कति दिनअघि प्रयोग गरेको थियो भन्नेले पनि धेरै नै फरक पार्छ । यसका साथै विषादि र मानव शरीरको सम्पर्क कसरी भयो भन्नेले पनि असर फरक पर्छ । जस्तो छोएको वा खाएको वा सुँधेको आदि ।

असर

विषादिको नकारात्मक असर प्रायः अविकसित तथा विकासोन्मुख मुलुकमा नै ज्यादा देखिन्छ । हाम्रो सन्दर्भमा त अझै पनि कतिपयले विषादिलाई औषधि नै भन्ने गरेको सुनिन्छ । खाद्य ऐनमा समेत किटनाशक औषधि भनी उल्लेख छ । यसले नै जनाउँछ हाम्रो विषादिप्रति बुझाइको अवस्था । 

विषादिको प्रायः दुई प्रकारका गम्भीर असर देखिन्छ । पहिलो–मानव स्वस्थ्यमा परेको सोझो असर । झुक्किएर वा जानाजानको विषादि सेवन, विषादि प्रयोग गर्दा सुरक्षाकवज र सुरक्षा उपायहरू नअपनाउँदा भएका दुर्घटना र खाद्यान्नमा अधिक विषादिको प्रयोग भई त्यस्तो विषाक्त खाद्यान्नको उपभोगबाट मानव स्वस्थ्यमा पर्ने असरहरूलाई यसमा लिन सकिन्छ । 

विषादिको नकारात्मक असर प्रायः अविकसित तथा विकासोन्मुख मुलुकमा नै ज्यादा देखिन्छ । हाम्रो सन्दर्भमा त अझै पनि कतिपयले विषादिलाई औषधि नै भन्ने गरेको सुनिन्छ । खाद्य ऐनमा समेत किटनाशक औषधि भनी उल्लेख छ । यसले नै जनाउँछ हाम्रो विषादिप्रति बुझाइको अवस्था ।

यसै गरी विषादिको अधिक तथा जथाभावी प्रयोगबाट माटो पानी हावा लगायत वातावरणमा परेको प्रभाव यसको अर्को असर हो । यी दुवैको असर भने अर्थशास्त्रमा झल्कन्छ । स्वास्थ्य उपचारमा भएको व्यक्ति र राज्यको खर्च, निर्यातमा रोकावट भई गुमाउनु परेको असर, अधिक विषादि प्रयोग गर्ने भनी उपभोक्तामा पर्ने नकारात्मक असरदेखि श्रम शक्ति गुमाउनु जस्ता असर आर्थिक असर हुन्छन् ।

सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)ले विषादिको प्रयोग व्यापार र सूचक सम्बन्धि एक प्रकाशन गरेको छ । सन् २०२० मा विश्व भर २.७ करोड टन सक्रिय घटक बराबरको विषादि प्रयोग भएको थियो । यस हिसाबले प्रतिहेक्टर १.८ केजी र प्रतिमानिस ०.३७ केजी प्रतिवर्ष विषादिको प्रयोग भएको देखिन्छ । सन् १९९० को तुलनामा पछिल्लो दशकको विषादि प्रयोग अझै ५० प्रतिशतले ज्यादा देखिन्छ ।

विषादि परीक्षण

विषादि परीक्षण प्रायः दुई प्रकारबाट गर्ने गरिन्छ । पहिलो प्रकार हो–‘क्वालिटेटिभ (गुणात्मक) स्क्रिनिङ’ । यस प्रकारको परीक्षण प्रारम्भिक जानकारीको लागि हुन्छ र यस प्रकारका परीक्षण प्रायः परिमाणात्मक र पूर्ण विश्वसनीय हुँदैन । अहिले नेपालमा चर्चामा रहेको द्रुत विषादि विश्लेषण विधि (राबीपीआर) पनि यसै प्रकारको परीक्षण हो । 

अर्को प्रकारको विषादि परीक्षण विधि भनेको प्रयोगशालामा गरिने परिमाणात्मक परीक्षण विधि हो । यो निकै खर्चिलो र ज्यादा विश्वासिलो हुन्छ । नेपालको सन्दर्भमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको प्रयोगशालाले यस प्रकारको विषादि परीक्षण गर्ने गरेको छ ।

यस प्रकारको परीक्षणको लागि अधिकतम विषादि अवशेष सीमा तोकिनु पर्छ र सोको तुलनामा खाद्य वस्तुहरूमा विषादि तोकिएको सीमाभित्र रहे–नरहेको परीक्षण गरिन्छ । यस प्रकार विषादिको अधिकतम सीमा निर्धारण गर्न प्रायः एफएओ र विश्व स्वास्थ्य संगठनको संयुक्त निकाय कोडेक्स एलिमेन्टारिसले सिफारिस गर्ने गर्छ । देशहरूले आफ्नो वैज्ञानिक अनुसन्धानको आधारमा नयाँ सीमा पनि निर्धारण गर्न सक्छन् ।

आर्थिक पक्ष

उपभोक्ता हकहितलाई मध्यनजर गर्ने हो भने धेरैभन्दा धेरै विषादि परीक्षण गर्ने र तोकिएको सीमाभन्दा ज्यादा भेटिए उक्त तरकारी फलफूल तथा अन्य खाद्य वस्तुहरू नष्ट गर्नु आकर्षक देखिन्छ तर व्यावहारिक रूपमा विकसित मुलुकमा पनि त्यो तहको विषादि परीक्षण आर्थिक रूपले धान्न सक्ने अवस्था हुँदैन । 

विषादि परीक्षण किन गर्ने भन्ने प्रश्नको जवाफबाट यसको किफायती तरिकाहरू पहिचान गर्न सकिन्छ । विषादि परीक्षणको मुख्य उद्देश्य भनेको उपभोक्तालाई स्वस्थ खाना उपलब्ध गराउनु नै हो । उपभोक्ताहरूकोमा पुग्ने खाने कुरा या त देशभित्र उत्पादन भएका हुन्छन् या त आयात गरिएका हुन्छन् ।

स्वदेशी उत्पादनका हकमा विषादि परीक्षणभन्दा ज्यादा लगानी जनचेतना विषादिको प्रभावकारी अनुगमन असल कृषि उत्पादनको प्रवद्र्धनमा गर्नु पर्छ । बजारमा आइसकेका उत्पादनमा विषादि परीक्षण गरी नष्ट गर्नु पर्छ भनेको सुन्दा प्रिय भए पनि आर्थिक र प्राविधिक पक्षबाट उचित मान्न सकिँदैन । किनकि प्रभावकारी असल कृषि अभ्यास मार्फत विषादि प्रयोगलाई स्रोतमा नै नियन्त्रण र व्यावस्थापन गर्न सकिन्छ । तथापी विषादि परीक्षणलाई जनचेतनको एक माध्यमको रूपमा भने पक्कै प्रयोग गर्न सकिन्छ ।

बजारमा गरिने विषादि परीक्षण नियन्त्रणात्मकभन्दा पनि कुन स्थानबाट आएका कृषि उपजहरूमा ज्यादा विषादि प्रयोग हुन्छ भन्ने पहिचान गरेर उक्त स्थानमा स्रोतमा नै विषादिको प्रयोग न्यूनीकरण र असल कृषि अभ्यासको प्रवद्र्धन गर्न प्रयोग गर्न सकिन्छ ।

आयातीत कृषि उपजमा हुने विषादि परीक्षणको विधि तथा तरिका नितान्त भिन्न छ । अधिक विषादि प्रयोग भएका कृषि उपजहरूलाई आयात रोक लगाउन सक्ने अधिकार कुनै पनि देशलाई सुरक्षित छ र विश्व व्यापार संगठनले पनि यसको सुनिश्चिता गरेको छ ।

यस सन्दर्भमा परीक्षण हामीले गर्ने कि विषादि परीक्षणको प्रयोगशाला नतिजा आयातमा अनिवार्य गर्ने भन्ने निर्णय सरकारले लिन सक्छ । आयातमा विषादि परीक्षण नतिजा अनिवार्य गरेर अनुगमनको लागि नमुना संकलन गरी आफू निश्चित हुन परीक्षण गर्न सकिन्छ अथवा अहिले जुन प्रकारको बहस चलिरहेको छ । प्रत्येक नाकामा विषादि परीक्षण गरेर मात्र आयात अनुमति दिने । यस प्रकारको विधि अपनाउँदा निकै खर्चिलो हुने देखिन्छ । 

प्रयोगशाला स्थापनाको खर्च कर्मचारीको खर्च प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने खर्च र प्रयोगशाला सञ्चालन गर्न लाग्ने केमिकल तथा अन्य खर्च निकै ठुलो हुन जान्छ । यसको खर्च सरकारले बहन गरे पनि अन्ततोगत्वा उपभोक्ता र नागरिकमा नै थोपरिन्छ ।

अतः विषादिरहित स्वस्थ कृषि उपज उभोग गर्न पाउने उपभोक्ताको आधारभूत अधिकारलाई सुनिश्चित गर्न प्रभावकारी तथा किफायती विधि निर्धारण गर्न जरुरी छ । यस्ता पक्षहरूमा नीति निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रावधान तथा असर अभ्यासहरूलाई अध्ययन गरेर निर्णयमा पुग्दा प्रभावकारी हुन्छ । साथै कुनै पनि नीतिले उपभोग तथा उत्पादक दुवैलाई यथोचित ध्यान दिनु पर्ने हुन्छ ।