वैदेशिक लगानीको स्वीकृति अनलाइनबाट लिन सकिने


वैदेशिक लगानीको स्वीकृती स्वचालित प्रणालीबाट हुने भएको छ । उद्योग विभागले पत्रकार सम्मेलन गर्दै २ करोडदेखि १० करोड रुपैयाँसम्मको कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्ने जनाएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन यस ऐन तथा प्रचलित कानून बमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरेको छ ।

चालू आ. व. २०७९र०८० को बजेट वक्तव्यको बुँदा नं. ६६ मा रु. १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने ब्यवस्था मिलाईने उल्लेख भएको थियो। सोही अनुसार कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरू स्वचालित मार्गबाट प्रदान गरिने जनाइएको छ ।

साविकमा भौतिक फायल मार्फत् मात्र विदेशी लगानी स्वीकृत गर्ने गरिएकोमा २०७९ श्रावण १ गते देखि अनलाईन प्रणाली (इण्डष्ट्री म्यानेजमेन्ट इन्फरमेशन सिस्टम, आइएमआइएस)ं मार्फत् विदेशी लगानी स्वीकृत गर्ने कार्य प्रारम्भ गरेको छ ।

विभागले यस प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दै नेपाल सरकारका सम्बद्ध निकायहरुसँग आवद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्ने गरी तयारी गरिरहेको छ ।

प्रशासनिक सुधारकै चरणमा निकट भविष्यमा मानवीय संलग्नता विना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने प्रणाली अवलम्बन गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको निर्णय भएर नेपाल राजपत्रमा सूचना प्रकाशन हुने क्रममा रहेको विभागले उल्लेख गरेको छ। विभागले यसको कार्यान्वयनका लागि वेवमा आधारित अटोमेटिक रुट प्रणाली निर्माण गरेको हो ।

विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली संयुक्त लगानी सम्झौता मार्फत् लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बद्ध निकायहरूलाई प्रणाली मार्फत् नै स्वचालित रुपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृती लिईरहनु नपर्ने व्यवस्था यस प्रणालीमा रहेको विभागले उल्लेख गरेको छ ।

हाललाई रु. २ करोड देखि रु. १० करोड सम्मको परियोजना प्रस्ताव भएका तोकिएका उद्योगहरूमा यस प्रणाली मार्फत् विदेशी लगानी गर्न सकिने व्यवस्था गरेको छ । नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गरेपछि कार्यान्वयनमा लैजाने गरी विभागले आन्तरिक तयारी पूरा गरेको जनाएको छ ।

यस प्रणालीको प्रयोग गरी विदेशबाट पनि विदेशी लगानी स्वीकृत गराउन सकिने र विदेशी लगानी स्वीकृत गराउन उद्योग विभाग आईरहनु नपर्ने भएका कारण विदेशी लगानी स्वीकृती प्रक्रिया सरल तथा सहज हुन गई सेवाप्रवाह थप प्रभावकारी हुने आशा विभागले गरेको छ ।