विद्युतीय सवारी: ध्यान दिनुपर्ने कुरा


विद्युतीय गाडी चार्ज गर्दा धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । पूर्ण रूपमा चार्ज गर्दा लाग्ने समय सवारीपिच्छे फरक हुन्छ । यो सवारी अनुसार चार्जर र ब्याट्रीमा निर्भर हुन्छ । निसान लिफ ३० किलोवाट आवरलाई ७ किलोवाटको चार्जरबाट पुरा चार्ज हुन चार घन्टा लाग्छ ।

काठमाडाैँ । सरकारले विदेशी मुद्रा सञ्चितिमा भार परेको भन्दै २०७९ वैशाख १३ गतेदेखि पुस १ गतेसम्म (आठ महिना) पेट्रोलबाट चल्ने जिप, कार, भ्यान र १५० सीसीभन्दा माथिका दुईपङ्ग्रे सवारी साधनको आयातमा प्रतिबन्ध लगायो । सरकारले आयातमा प्रतिबन्ध लगाउँदा विद्युतीय गाडीलाई भने कुनै किसिमको प्रतिबन्ध भने लगाएको थिएन । 

त्यससँगै विद्युतीय गाडीको आयात तीव्र गतिमा बढ्यो । गत आर्थिक वर्ष २०७८/०७९ मा कुल १ हजार ८०५ वटा विद्युतीय (इलेक्ट्रिक) चारपांग्रे गाडी नेपालमा भित्रिएका थिए तर चालु आर्थिक वर्षको पहिलो ९ महिनामा (साउन– चैतसम्म) नेपालमा २ हजार ४५१ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार यसबाट ६ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ भने सरकारले १ अर्ब ९३ करोड राजश्व उठाएको छ।

आर्थिक वर्ष २०७९/०८० शून्यदेखि सय किलोवाटसम्मका सवारी साधनका लागि पुरानै दर अर्थात भन्सार शून्य र अन्तशुल्क १५ प्रतिशत कायमै राखिएको छ । एक सय किलोवाटदेखि दुई सय किलोवाटसम्मका सवारीमा सरकारले अन्तःशुल्क ३० प्रतिशत कायम गरेको छ ।

यस्तै, दुई सयदेखि तीन सय किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ४५ प्रतिशत कायम गरेको  छ र अन्तःशुल्क दर ४५ प्रतिशत नै कायम छ । यी दुवै जोड्दा ९० प्रतिशत कर लाग्ने बनाएको छ ।

यसैगरी तीन सय किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सार शुल्क र अन्तःशुल्क दर पनि ६०/६० प्रतिशत कायम गरिएको छ । यी दुबै जोड्दा एक सय २० प्रतिशत राजस्व तिर्नुपर्ने हुन्छ । महामारीपछि विश्वमा विद्युतीय सवारीको उत्पादन खस्किएका बेला नेपालमा माग अस्वाभाविक रूपमा बढ्दा आपूर्ति पनि प्रभावित भएको छ । 

विद्युतीय गाडीको माग र आपूर्ति व्यापक रूपमा बढ्दा विद्युतीय गाडीको फाइदादेखि यसका पार्टपूर्जाको विषयमा उपभोक्ताहरूमा अवगत हुन अत्यन्तै जरुरी बन्दै गएको छ । विद्युतीय गाडीको फाइदा त अनेकौं छँदै छ तर उपभोक्ताले पनि यसको प्रयोगमा अत्याधिक ध्यान दिनुपर्ने आवश्यक छ । 

चार्जिङ 

विद्युतीय सवारीसाधनको ब्याट्रीलाई स्लो चार्जिङ, फास्ट चार्जिङ र र्‍यापिड चार्जिङ गरी तीन तरिकाले चार्ज गर्न सकिन्छ । विद्युतीय गाडी प्रयोगकर्ताहरूले सकेसम्म स्लो चार्जिङ गर्ने प्रयास गर्नुपर्छ । र्‍यापिड चार्ज गर्दा ब्याट्री तात्तिनेदेखि ब्याट्रीको आयु कम हुँदैजाने निसान ड्याटसन सर्भिस सेन्टरका सर्भिस हेड कृष्णप्रसाद पोखरेलले बताए । पोखरेलले भने, “प्रायःजसो कम्पनीले पनि र्‍यापिड चार्ज गर्नका लागि दिँदैन । मानिसको आवश्यकताको पनि कुरा आउँछ । लामो दूरीमा जाँदा र्‍यापिड चार्ज गर्नुपर्ने हुन्छ तर सकेसम्म र्‍यापिड चार्ज गर्नु हुँदैन ।”

पोखरेलका अनुसार ब्याट्री सतप्रतिशतबाट घट्ने वित्तिकै चार्ज नगर्दा नै उत्तम हुन्छ । उनले भने, “आवश्यकता नभएको बेला गाडी चार्ज नगर्ने र ५० प्रतिशतभन्दा कम छ भने स्लोे चार्ज गर्दा राम्रो हुन्छ । र्‍यापिड चार्ज गर्दा असर पर्ने भनेको ब्याट्रीमा हो । कम्पनीहरूले ब्याट्रीको समयावधि केही वर्षको दिन्छन् तर र्‍यापिड चार्ज गर्दा ब्याट्री छिटो फेर्नु पर्ने स्थिति आउँछ । 

कति घन्टामा चार्ज, लागत कति ? 

विद्युतीय गाडी चार्ज गर्दा धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । पूर्ण रूपमा चार्ज गर्दा लाग्ने समय सवारीपिच्छे फरक हुन्छ । यो सवारी अनुसार चार्जर र ब्याट्रीमा निर्भर हुन्छ । निसान लिफ ३० किलोवाट आवरलाई ७ किलोवाटको चार्जरबाट पुरा चार्ज हुन चार घन्टा लाग्छ । टेस्लाको सुपरचार्जरले भने ३० मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ । घरमै राखिने चार्जरले एक घन्टा चार्ज गर्दा १५ देखि ३० माइल यात्रा गर्न सकिन्छ तर फास्ट चार्जरको प्रयोग गर्दा गाडीको ब्याट्री छिट्टै बिग्रने सम्भावना रहेको पोखरेल बताउँछन् । 

सामान्यतया ६० किलोवाट आवर ब्याट्री क्षमता सहितको एउटा विद्युतीय कारले ७ किलोवाटको चार्जिङ पोइन्टको साथ पूर्णरूपमा चार्ज हुन आठ घण्टाभन्दा कम समय लाग्छ । धेरै विद्युतीय कारहरूको लागि ५० किलोवाट द्रुत चार्जरको प्रयोग गरी ३५ मिनेटसम्ममा पूर्णरूपमा चार्ज गर्न सकिन्छ । 

त्यस्तै विद्युतीय कारमा जडान भएको ब्याट्री क्षमता अनुसार एकपटक पूर्णरूपमा चार्ज गर्न कति खर्च लाग्छ भन्ने निर्धारित हुने पोखरेलले उल्लेख गरे । नेपालको हकमा प्रत्येक चार्जिङ स्टेसनमा गाडी चार्ज गर्दा प्रतियुनिट फरक फरक मूल्य लाग्ने गर्छ । ७१ किलोवाट क्षमताको ब्याट्री रहेको विद्युतीय कारमा ० देखि १०० सम्म चार्ज गर्दा ७१ युनिट नै लाग्ने गर्छ र प्रतियुनिट १० देखि १५ रुपैयाँको दरले औसतमा ७१० रुपैयाँदेखि १ हजार ६५ रुपैयाँ लाग्ने गर्छ ।

कुनै स्थानमा ८० किलोवाट, ७१ किलोवाट र ५० किलोवाट क्षमताको ब्याट्री प्याक जडान भएको कार क्रमशः पूर्णरूपमा चार्ज गर्ने हो भने तीनवटै गाडीमा छुट्टाछुट्टै युनिट बिजुली खपत हुने गर्छ । त्यसबाहेक, कारको चार्ज गर्ने अवधिसम्ममा ब्याट्रीमा रहेको चार्ज कति छ र कति चार्ज गर्न आवश्यक पर्छ, त्यही अनुरूप खर्च लग्ने उनको भनाइ छ ।

त्यस्तै घरको बिजुलीमा चार्ज गर्दा एकपटकको पूर्ण चार्जमा कति युनिट बिजुली खपत हुन्छ भन्ने गाडीको ब्याट्री क्षमतामा निर्भर हुन्छ । नेपालमा भित्रिने सम्पूर्ण विद्युतीय सवारीसाधन एकचोटि ब्याट्री फुल चार्ज गर्न १० देखि ८० युनिट विद्युत् खपत हुने पोखरेल बताउँछन् । 

सरकारले नेपालमा विद्युत् खपत गरेबापत उपभोक्ताका लागि प्रतियुनिट १०.५० देखि १२ रुपैयाँ तोकेको छ । त्यसैअनुरूप, प्रत्येक फुल चार्जमा अघिकतम १२ रुपैयाँको दरले १० देखि ८० युनिट विद्युत खपत भएको खण्डमा १२० रुपैयाँदेखि ९ सय ६० रुपैयाँ लाग्छ । 

गाडी चार्ज गर्दा प्रयोगकर्तालले ० देखि ८० प्रतिशत मात्र गर्दा ब्याट्रीमा समस्या कम हुने पोखरेलको भनाइ छ । अन्तत स्लो चार्जिङमा सामान्यतया तीन किलोवाट पावरमा अफिस वा घरमा रातभर अथवा आठ दश घण्टाभित्र चार्ज गर्न सकिन्छ ।

त्यस्तै पार्क, सुपरमार्केट वा अफस्ट्रिट पार्किङमा रहेका फास्ट चार्जिङमा औसत सात किलोवाटदेखि २२ किलोवाट पावरमा तीनदेखि चार घण्टासम्म लाग्ने गर्दछ । त्यस्तै र्‍यापिड चार्जिङले ४३ किलोवाटबाट ३० देखि ६० मिनेटसम्ममा ईभी फुल चार्ज गर्न सकिन्छ । 

यात्रा गर्दै गर्दा रोकिन सक्छ 

नेपालको हकमा लामो यात्रामा विद्युतीय गाडी प्रयोग गर्न अझै पनि उचित छैन । २०७६ सालमा नेपाल सरकारले देशभरका ५१ वटा स्थानमा चार्जिङ स्टेशन बनाउनको लागि ठेक्का दिएको थियो तर अहिले काठमाडौँको रत्नपार्कमा मात्र उक्त चार्जिङ स्टेशन बनिसकेको छ भने अन्य स्थानको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

अहिले विद्युतीय गाडी लामो दूरीसम्म लिएर हिँड्नको लागि उचित मानिदैन । कारणबस लिएर हिँड्दा योजना बनाएर हिड्न आवश्यक रहेको पोखरेलले बताए । “काठमाडौँदेखि पोखराको यात्रा छ भने चार्जिङ स्टेशन कहाँ छ ? गाडीमा कति चार्ज छ ? भन्ने विषयमा अवगत हुनुपर्छ,” उनले भने, “कम्पनीले गाडीसँग एउटा चार्जर दिएको हुन्छ, त्यो बेला त्यो चार्जर होटल वा वरिपरिको वस्तीमा जडान गरेर उक्त समस्याबाट मुक्त हुन सकिन्छ तर स्लो चार्ज गर्न आवश्यक छ ।”

पानीसँग सावधान !

नेपालमा आयात हुने विद्युतीय गाडी प्राय जसो धुलो, पानी तथा हिलोमा जोखिम नै हुन्छ । विदेशबाट केही ब्राण्डेड कम्पनीका विद्युतीय सवारीहरूमा धुलो तथा हिलोले त्यति असर त पार्दैन तर नेपालमा मापदण्ड विपरीत एसेम्बल भएका गाडीहरूमा एक किसिम्मको जोखिम रहेको पोखरेल बताउँछन् । 

“गाडीमा पानीको लेबल टायरभन्दा माथि छ भने प्रयोगकर्ताले विद्युतीय गाडी प्रयोग नगर्दा राम्रो हुन्छ,” उनले भने, “विद्युतीय गाडीमा उच्च भोल्टेजको (डिसी ब्याट्री) हुनाले करेन्ट लाग्ने सम्भावना धेरै हुन्छ । त्यसकारण उपोभक्ताले आफूले खरिद गर्न लागेको सवारीबारे विशेष अध्ययन गर्ने र पानी, हिलो, धुलोमा गाडी गुडाउँदा असर पार्छ कि पार्दैन भनेर बुझ्न जरुरी छ ।”

मर्मत कहाँ गर्ने ?

नेपालमा विद्युतीय सवारीको मर्मत गर्न सकस नै छ । नेपालमा रहेको प्राविधिकहरू पेट्रोलियम गाडीको सर्भिस गर्न माहिर छन् भने विद्युतीय गाडी मर्मतको गर्ने दक्ष जनशक्ति कम छ । विद्युतीय गाडीको मर्मतको विषयमा हरेक कम्पनीसँग गाडीको पार्टपुर्जाको बारेमा ज्ञान हुन आवश्यक हुन्छ । 

पोखरेलका अनुसार उपभोक्ताले पनि विद्युतीय गाडी किन्ने बेलामा यसमा ध्यान दिन जरुरी छ । उनले भने, “कुनै पनि कम्पनीको गाडी किन्ने बेलामा सर्भिस सेन्टर कहाँ छ ? कम्पनीसँग गाडी मर्मत गर्ने दक्ष जनशक्ति छ कि छैन ? बुझ्न जरुरी छ ।” 

पेट्रोलियम गाडीको पार्टपूर्जासँग यसको अवस्था मिल्ने भए पनि फरक भनेको मोटर र इन्जिनमा हो । पोखरेलका अनुसार कम्पनीले आफ्ना गाडी प्रयोगकर्ताहरूलाई मोटरको बारेमा पर्याप्त मात्रमा ज्ञान दिन जरुरी छ । 

नेपालमा विद्युतीय गाडी मर्मत गर्नको लागि चाहिने सामाग्रीहरू पाउन निकै गाह्रो रहेको पोखरेलको भनाइ छ । वर्कसपमा उच्च भोल्टेजमा काम गर्दा अपनाउनु पर्ने सुरक्षा र त्यसको लागि आवश्यक पर्ने सुरक्षा उपकरण तथा मर्मत सम्भारको लागि सो अनुसारको योग्य र दक्ष जनशक्ति अभाव छ ।

त्यसका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सरकार, सीटीईभीटी, संम्बन्धित आयातकर्ता, अटोमोबाइल व्यावसायीहरूको संगठन नाडा जस्ता संस्थाको कुनै ठोस योजना छैन । सम्बन्धित कम्ंपनीले दिएको सामान्य तालिम वा सामान्य तालिम नपाएरै काम गर्दा भविष्यमा हुन सक्ने दुर्घटनाको जिम्मेवार को हुने भन्ने विषयमा अझै पनि अन्योलमा रहेको पोखरेल बताउँछन् । 

मर्मत खर्चको बचत कसरी गर्ने ?

विद्युतीय कारमा इन्जिन आयल परिवर्तन गरिरहनु पर्ने झन्झट पनि हुँदैन । यसमा घर्षण हुने पार्ट्स पनि थोरै हुने भएकाले विद्युतीय कारको मर्मत खर्च पेट्रोल वा डिजेलबाट चल्ने सवारीभन्दा निकै कम हुन्छ तर सवारीको ब्याट्रीमा समस्या आयो भने महँगो पर्न जान्छ । त्यस कारण ब्याट्रीको सुरक्षालाई ध्यानमा राखेर उपभोक्ताले मर्मत खर्चमा बचत गर्न सक्छन् ।

(टक्सार म्यागजिन, २०७९ चैत अंक, पृष्ठ ५४ देखि ५६ सम्म)