आईएमएफका सर्तले सामाजिक खर्च घटाउँदै निम्न-मध्यम आय भएका देशहरू


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)  को ऋणमा जोडिएका सर्तका कारण धेरै देशहरूले आफ्नो सामाजिक खर्च कटौती गर्न बाध्य भएको एक अध्ययनले देखाएको छ। यसले कमजोर जनसंख्याको लागि स्वास्थ्य सेवा र शिक्षा जस्ता अत्यावश्यक सेवाहरूमा पहुँचमा कमी ल्याएको अक्सफामले सार्वजनिक गरेको ‘आईएमएफ सोसल स्पेन्डिङ फ्लोरः अ फिग लिफ फर अस्टेरिटी’ शीर्षकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अक्सफामले निम्न र मध्यम-आय भएका देशहरू (एलएमआईसी) मा मुद्रा कोषको कोभिड-१९ महामारीको पहिलो दुई वर्ष अवधिमा प्रवाहित  विस्तारित क्रेडिट सुविधा (ईसीएफ) र विस्तारित कोष सुविधाहरू (ईएफएफs) को विश्लेषण गरेर सो प्रतिवेदन सार्वजनिक गरेको हो ।  

अक्सफामले ६३ निम्न र मध्यम-आय भएका देशहरू (एलएमआईसी)को अध्ययन गरेर कोभिड महामारीले सबैभन्दा बढी प्रभावित तुल्याएको पहिलो दुई वर्षमा केही देशहरूले आफ्नो शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्र खर्च कटौती गरेको जनाएको छ ।

आईएमएफद्वारा  कोभिड-१९ सँग जोडिएको ऋण मध्ये ८५ प्रतिशतमा मितव्ययिता उपायहरू अवम्बन गर्न भनिएको थियो, जसको दबाबमा परि निम्न र मध्यम-आय भएका देशहरूले सामाजिक सुरक्षा खर्चमै कटौती परेको प्रतिवेदनम उल्लेख छ ।

प्रतिवेदनअनुसार सन् २०२४ सम्म, १२५ निम्न र मध्यम-आय भएका देशहरू (एलएमआईसी) देशहरू मध्ये ५९ ले सन् २०१० को तुलनामा सामाजिक क्षेत्र मा कम खर्च गर्ने देखिएको छ, यसबाट ती देशमा बसोबास गर्ने २ अर्ब मानिसहरूले सामाजिक क्षेत्र बजेट कटौतीको हानिकारक परिणाम भोग्नुपर्ने जोखिम छ  ।

“सार्वजनिक खर्चको यो कमीले निम्न-मध्यम आय भएका देशहरूमा असमानता बढाउने सम्भावना छ, विशेषतः महिला, युवासहित कमजोर वर्गमा यसको असर पर्नेछ,” प्रतिवेदनमा भनिएको छ ।