नयाँ स्टक एक्सचेन्जमा ३ वटा र कमोडिटी एक्सचेन्जमा लागि ४ वटा आवेदन दर्ता


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ स्टक एक्सचेन्ज र कमोडिटि एक्सचेन्जको लागि ७ वटा आवेदन परेको छ ।

हिजो (वैशाख १० गते) कार्यालय समयसम्म नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि ३ वटा कम्पनी र कमोडिटिज एक्सचेन्जका लागि ४ वटा आवेदन परेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

श्रेष्ठकाअनुसार नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको हो। हिमालयनले गत शुक्रबार र नेसनल र अन्नपूर्ण स्टक एक्सचेजन्जले आज लाइसेन्सका लागि आवेदन दिएका हुन् ।

यसैगरी कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि म्याक्स नेपाल, मल्टी डेरिभेटिभ, हिमालयन कमोडिटी र नेपाल मल्टी कमोडिटीको आवेदन परेको प्रवक्ता श्रेष्ठले बताए ।

नेशनल स्टक एक्सचेन्जमा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको छ ।

हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुपका शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाका साथै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगर, ज्योति समूहका शौरभ ज्योति, दीपक भट्टलगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी रहेको छ ।

अन्नपूर्ण स्टक एक्सचेन्जमा अन्नपूर्ण मिडिया हाउसका सञ्चालक रामेश्वर थापाको प्रमुख लगानी रहेको छ । यसमा सुरेन्द्रराज वाग्ले, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, शेखर सुवेदीलगायतको पनि लगानी रहेको बताइन्छ।

नयाँ स्टक एक्सचेन्जका लागि ३ अर्ब रुपैयाँ चुक्तापुँजी चाहिन्छ । कुल चुक्ता पुँजीको ३० प्रतिशत साधारण सेयर जारी गर्नुपर्ने प्रावधान रहेको छ ।