नेपाल र फ्रान्स व्यापार कुटनीतिः क्षेत्रगत पहिचानमा समस्या


नेपाल र फ्रान्सबिच वर्षौदेखि व्यापारिक सम्बन्ध रहे पनि दुई देशबिचको व्यापारको परिमाण तुलनात्मक रूपमा कम छ । नेपालले मुख्यतया टेक्सटाइल, गलैंचा, हस्तकला र कृषिजन्य उत्पादनहरू फ्रान्समा निर्यात गर्दै आएको छ भने फ्रान्सबाट नेपालमा मेसिनरी, फार्मास्युटिकल्स र विद्युतीय उपकरणहरू आयात हुँदै आएको छ ।

ऐतिहासिक रूपमा नेपाल र फ्रान्सबिच प्रगाढ सांस्कृतिक सम्बन्ध रहँदै आएको छ र फ्रान्स नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमा मुलुकमध्ये एक हो । नेपाल र फ्रान्सबिच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो भने सन् १९५९ मा सांस्कृतिक सम्झौता र १९६५ मा व्यापार सम्झौता भएको थियो भने सन् २०१८ मा दुई देशबिच द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (बिप्पा) मा हस्ताक्षर भएको थियो ।

नेपाल र फ्रान्सबिचको उल्लेखनीय व्यापार असन्तुलन रहँदै आएको छ । कुल आयातमध्ये फ्रान्सबाट ०.३ प्रतिशत आयात हुने गरेको छ भने नेपालबाट फ्रान्स निर्यात हुने हिस्सा ०.६ प्रतिशत छ । आर्थिक वर्ष २०७८/७९ मा नेपालले फ्रान्सबाट ६ अर्ब १५ करोड ७३ लाख ४६ हजार रूपैयाँ बराबरको आयात गर्दा १ अर्ब ६६ करोड ३६ लाख ६७ हजर रूपैयाँ बराबरको निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ६ करोड ४९ लाख २८ हजार रूपैयाँ बराबरको ४३ हजार २८ ओटा पासपोर्ट नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । नेपालले पासपोर्टको आयात चेक रिपब्लिक र फ्रान्सबाट गर्ने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । पासपोर्ट आयातमध्ये चेक रिपब्लिकबाट १५ करोड ५५ लाख ३० हजार रूपैयाँ बराबरको ८ हजार ३०६ पासपोर्ट नेपाल आएको हो ।

फ्रान्सबाट नेपाल पासपोर्ट, हवाइजहाजको इन्जिन, वाइन, स्मार्टकार्ड, औषधि, अफसेट प्रिन्टिङ मेसिन आयात हुने गरेको छ भने कार्पेट, ऊन, ऊनको सल, स्कार्फ, मफलर, ब्लाङ्केट, बाध्यबादनका साधन, सुकेको च्याउ, आलु लगायतका सामान नेपालबाट निर्यात हुने गरेको छ । नेपालमा उत्पादन हुने सामान सीमित भएको कारण व्यापार घाटा बढेको नेपाल फ्रान्स उद्योग वाणिज्य संघका अध्यक्ष श्याममोहन श्रेष्ठले बताए । 

व्यापार व्यावसाय गर्ने वातावरणको अभाव

श्याममोहन श्रेष्ठ
अध्यक्ष, नेपाल—फ्रान्स उद्योग वाणिज्य संघ

फ्रेन्चहरूले नेपालमा व्यापार व्यावसाय गर्नको लागि उपयुक्त वातावरण छैन । सरकारले नीतिहरू पनि परिवर्तन गरिरहन्छ । प्रत्यक्ष वैदेशिक लगानी ल्याउन हरेक किसिमको सुविधा दिनुपर्छ । यहाँ सरकारी तहमा जाँदा विदेशी लगानीकर्तालाई अभैm पनि समस्या रहेको छ । ऐन कानुन पनि उत्साहजनक छैन । यी सबै कारणले नेपालको व्यापार बढेको छैन । 

सार्क देशकै कुरा गर्ने हो भने बंगलादेश, पाकिस्तान श्रीलंकाको तुलनामा निर्यात बढाउन सकेको छैन । नेपालले निर्यात गर्ने सामानमा कानुनी समस्या त छैन तर सुनचाँदीका गहनामा युरोपले कडाइ गरेको छ । फ्रेन्चहरूले चीन, भियतनाम, लाओस, कम्बोडियामा पे्रmन्च लगानीमा उद्योग खोलिरहेका छन्, नेपालमा पनि ल्याउन पहल गर्नुपर्छ भनेर सरकारलाई पनि भन्दै आइरहेका छौँ । नेपालमा जग्गा कामदार सस्तो छ । ठुला बजार भएका भारत र चीन पनि नजिकै छन् । अन्य देशमा हुने लगानी नेपाल ल्याएर गर्न सकिन्छ ।

“नेपालमा उत्पादन हुने सामानहरू सीमित छन्, जसको कारण व्यापार बढ्न सकेन । हस्तकला पनि सीमा तोकिएका कारण व्यापार घाटा बढ्दै गयो । कोभिड, नाकाबन्दी, भूकम्प लगायतका विभिन्न समस्याको कारण पनि व्यापार बढ्न सकेको छैन,”उनले भने,“अहिले पनि व्यापारीहरू पर्ख र हेर नै को अवस्थामा छन् । फ्रान्सबाट आयात पनि बढिरहेको छैन । नेपालले फ्रान्सबाट ५/६ वर्षअघि हेलिकप्टर किन्दा निकै व्यापार भएको थियो ।” 

नेपाल फ्रान्सबिचको व्यापारमा सहजीकरण गर्न नेपाल– उद्योग वाणिज्य संघको स्थापना २०५२ मा भएको हो । संघले दुई देशबिचको व्यापार तथा लगानी प्रवद्र्धनमा सहजीकरण गर्दै आएको श्रेष्ठ बताउँछन् ।

नेपाललाई फ्रान्सले आर्थिक तथा प्राविधिक सहयोग गर्दै पनि आइरहेको छ । सन् १९५० को दशकमा फ्रान्सले नेपाललाई कृषि, वन तथा सिँचाइका क्षेत्रमा प्राविधिक सहयोग गरेको थियो भने सन् १९६० र १९७० को दशकमा सडक, पुल, विमानस्थल लगायत विभिन्न पूर्वाधार परियोजनाका लागि आर्थिक सहयोग गरेको थियो ।

आयातलाई क्षेत्रगत हिसाबले प्रतिस्थापन गर्न सकिन्छ

डा. चन्द्रमणि अधिकारी
अर्थविद्

हामीले आयातलाई प्रतिस्थापन गर्नको लागि लगानी गर्नुपर्छ । आयातलाई क्षेत्रगत हिसाबले प्रतिस्थापन गर्न सकिन्छ । यहाँ बढी सम्भावना भएको क्षेत्र कृषि हो । 

फलफुल, काठको पनि आयात प्रतिस्थापन गर्न सकिन्छ । नेपाली जंगलमा काठ खेर गइरहेको छ तर हामीले मलेसिया, इन्डोनेसियाबाट ल्याउँछौं । यसलाई व्यवस्थित गर्नुपर्छ । आयात प्रतिस्थापनको लागि कृषि, पशुपालन, वन र पानी बिचको सम्बन्ध स्थिापित गर्नुपर्र्छ । यी बिच अन्तरसम्बन्ध हुन्छ तर हामीले यो प्रणालीलाई बिगारेका छौं ।

यस्तै, सन् १९८० को दशकमा फ्रान्सले नेपाललाई गरेको सहयोग सामाजिक क्षेत्र, विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा थियो भने सन् १९९० को दशकमा फ्रान्सले नेपाललाई दिएको विकास सहायता गरिबी न्यूनीकरण र दिगो विकासमा केन्द्रित थियो । यसबिचमा फ्रान्सले नेपालमा लघु जलविद्युत् आयोजना निर्माण, कृषि वनको विकास र पर्यटन प्रवद्र्धनजस्ता विभिन्न परियोजनामा सहयोग गदै आएको छ भने हालैका दिनमा सौर्य उर्जासहितका परियोजनामा सहयोग गर्ने गरेकोछ ।

फ्रान्सले नेपाललाई फ्रान्सेली विकास नियोग (एएफडी) मार्फत शिक्षा, स्वास्थ्य, कृषिलगायत विभिन्न क्षेत्रमा विकास सहायता प्रदान गर्दै आएको छ । फ्रान्सेली लगानीकर्ता यता आउने मात्र नभई नेपाली व्यावसायीहरू पनि फ्रान्समा सम्भावना खोज्दै जाने गरेका छन् । “नेपालीहरूले पनि फ्रान्समा उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) कम्पनीहरु खोल्ने काममा सहभागी हुँदै आएका थिए, अहिले पनि नेपाली व्यावसायीहरू सम्भावना खोज्दै जाने गरेका छन्,” श्रेष्ठ भन्छन् ।

नेपाल फ्रान्स उद्योग वाणिज्य संघले नेपाली र फ्रान्सबिच व्यापारको पुलको काम गर्दै आइरहेको छ । नेपालीहरूलाई फ्रान्समा र फ्रेन्चहरुलाई नेपाल आउँदा चाहिने सहयोग गर्दै आइरहेको उनी बताउँछन् । फ्रान्सका कम्पनीहरू नेपालमा उद्योग सम्बन्धि ऐन, नियम, कानुन, करको विषयमा नेपाल फ्रान्स उद्योग वाणिज्य संघसँग समन्वय गरेर आउने श्रेष्ठले जानकारी दिए । 

“हामीलाई उनीहरूले विभिन्न विषयमा सोध्ने गरेका छन्” उनले भने, “फ्रान्सबाट नेपाल डेलिगेसनमा आउँदा हामीले समयहरू मिलाइदिने गरेका छौं । फ्रान्समा हामीले प्रदर्शनीहरू पनि ग¥यौं । दुई देशबिच व्यापार प्रबद्र्धनको लागि प्रदर्शनी हुने गरेका छन् ।” 

नेपालमा अन्य देश जस्तो फ्रान्सबाट प्रत्यक्ष वैदेशिक लगानी आउनको लागि गाह्रो रहेको उनले बताए । “यहाँको अर्थतन्त्रको आकार पनि सानो छ । लगानी गर्नको प्रक्रिया झन्झटिलो छ । नेपाल फ्रान्सबिच बिप्पा सम्झौता भए पनि त्यसको कार्यान्वयन कमजोर छ,” उनले भने ।

अर्थविद् डा. चन्द्रमणि अधिकारी नेपाली भएको ब्राण्ड बिक्री गर्नुपर्ने बताउँछन् । “हिमालबाट जोडिएका जडिबुटीबाट औषधिीबनाउन सकियो भने त्यसको ब्राण्ड बिक्री गर्ने हो । ब्राण्ड बिक्री गर्दा मान्छेले मूल्य हेर्दैन उपयोगिता हेर्छ । उच्च स्थानमा रहेको रारा ताललाई पनि ब्राण्डिङ गरेर प्रचार गर्न सकिन्छ,” उनले भने, “नेपाल सरकारले २१ वस्तु पहिचान गरेको छ, त्यसलाई निकासीको लागि प्रयास गर्न सकिन्छ । सगरमाथा विश्वमा अन्य देशमा छैन हाम्रोमा मात्र भएकोलाई ब्राण्ड बनाएर बेच्नुपर्छ । भ्यालु एड कम हुने वस्तु निकासी गरेर हामीलाई केही पनि हुँदैन ।”

नयाँ यार्सागुम्बाको खेती प्रणालीलाई विकसित गरेर संरक्षित गरेर त्यसबाट बनेका उत्पादन पनि नेपालले निकासी गर्न सक्दछ तर नेपालले अन्य सामान निर्यात के के गर्न सकिन्छ भनेर पहिचान गर्न नसकेकाले निर्यातका लागि नयाँ क्षेत्र पहिचान गर्नुपर्ने श्रेष्ठ बताउँछन् । 

अन्य देशको तुलनामा फ्रान्सका पर्यटकले बढी खर्च गर्ने श्रेष्ठले बताए । सन् १९५० को दशकदेखि नै पर्वतारोहणका लागि फ्रान्सेली आरोहीहरू नेपाल आएका थिए । नेपालस्थित फ्रान्सेली राजदूतावासले विभिन्न पहलमार्फत नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्दै आएको छ । नेपालको प्राकृतिक सुन्दरता, संस्कृति र साहसिक खेलको अवलोकनका लागि हरेक वर्ष ठुलो संख्यामा फ्रान्सेली पर्यटक नेपाल आउने गरेका छन् ।

(टक्सार म्यागजिन, २०७९ चैत अंक, पृष्ठ ४६ देखि ४७ सम्म)