राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याबारे सार्वजनिक महत्वको प्रस्ताव पेश


काठमाडौँ । राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।

राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेश भएको हो । राष्ट्रिय सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्ताव पेस गरेकी हुन् ।

उनले प्रस्ताव पेस गरेसँगै छलफल गर्ने क्रममा एमाले सांसद्हरूले अर्थमन्त्री डा.प्रकाशशरण महतको उपस्थिति नभएको भन्दै छलफलमा भाग नलिने भएपछि बैठक स्थगित भएको छ ।

प्रस्ताव पेश गर्दै साहले नेपाली जनताका समस्या समाधान गदै राजनीतिप्रति वितृष्णा र निराशा हुनबाट जोगाउने वर्तमान सरकारको दायित्व भएको बताइन् ।

उनले मुलुकको अर्थतन्त्र सुधार गरी मुलुकमा समाजवादका आधारहरू तयार गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्ने बताइन् । मुलुक आर्थिक रुपमा श्रीलंका र पाकिस्तानको बाटोमा जान नदिनको लागि सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको साहको भनाई थियो ।

उहाँले सरकारले पुँजीगत खर्च गर्न नसक्नु राष्ट्रिय रोग जस्तो भएको बताउनु भयो । उहाँले सरकारले विकास खर्च गर्न नसक्दा मुलुकको विकास महँगो हुने बताउनु भयो ।