‘कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण’


काठमाडाैँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताएका छन्।

बिहीवार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय आयातमा कमी आउँदा सरकारको राजश्व संकलन गत वर्षको भन्दा घटेको बताए । उनले राजश्व संकलनमा कमी आएसँगै बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताए ।

बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको अधिकारीकाे भनाइ छ । पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेका चर्चा गर्दै उनले बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परेकाे बताए ।

गभर्नर अधिकारीले १० बिलासी वस्तुको आयात रोके पनि शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा निरन्तर सुधार आएसँगै राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको जानकारी गराए। उनले अहिले शोधानान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घटन लागेको बताए।

शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा आएको निरन्तर सुधारका कारण बैंकिङ प्रणालीको तरलता स्थितिमा सुधार आएको तथा बैंकको ब्याजदरमा परेको दबाब कम हुन थालेको भनाइ छ । “बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको ब्याजदर घटाउन थालेका छन्, चालु आर्थिक वर्षका आर्थिक वृद्धिदर औसत स्थरमा रहने देखिन्छ, पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेको छ,” उनले थपे।

पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी गभर्नर अधिकारीकाे छ । अहिले निक्षेप र आधारदर घटेको चर्चा गर्दै उनले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधार हुँदै आएको बताए ।

उनले नेपाल सरकार र राष्ट्र बैंकले लिएका नीतिले गर्दा गत असोजबाट शोधानान्तर वचत हुन गई विदेशी मुद्राको सञ्चितिमा सुधार हुन थालेकाे बताए । शोधानान्तर स्थितिमा आएको सुधारसँगै सरकारले  केही वस्तुमा लगाएको आयात प्रतिवन्ध हटाएको तथा राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिनको व्यवस्था हटाएको जानकारी गराए ।

“आयातमा कमी आउँदा आवमा सरकारको राजश्व संकलन भने गत वर्षको भन्दा घटेको अवस्था छ । कमजोर राजश्व परिचालन बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परको अवस्था छ ।” अधिकारीले भने ।

उनले २०७९ फागुनमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निस्कृय कर्जाको अनुपात कुल कर्जाको २.६ प्रतिशत रहेको कुल तरल सम्पती कुल निक्षेपको २४.३ प्रतिशत रहेको जोखिम भारति सम्पतीको १२.९ प्रतिशत कुल पुँजी कोष रहेकाले नेपालका बैंक तथा वित्तीयको वित्तीय स्थिति सुधार रहेको जानकारी गराए ।

पूर्वगभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तीय संस्थाको संख्या घटेपनि जोखिम बढ्नसक्ने बताए। उनले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरीवेक्षण नगरे जोखिम बढ्नसक्ने उल्लेख गरे। उनले कोरोनापछि राष्ट्र बैंकले उदार नीति जारी गरेका कारण अर्थतन्त्र कोल्याप्स हुनबाट जोगिएको बताए ।

भट्टराइले राष्ट्र बैंक पूर्ण स्वायत्त भएको हुँदा अर्थतन्त्रमा परेको समस्यामा समाधान भएको बताए । राष्ट्र बैंकले लिने मौद्रिक नीति माध्येमार्गि हुन जरुरी रहेको उनकाे भनाइ छ ।

डेपुटी गभर्नर डा.निलम ढुंगाना तिमिल्सिनाले राष्ट्र बैंकले ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको बताइन् । उनले व्यापार चक्रमा कहिले तेज र कहिले सुस्त हुने बताउँदै सबैलाई संयमित भएर काम गर्न आग्रह गरिन्। उनले नितिगत व्यवस्था कटौति गरेर कोरोना कालमा अर्थतन्त्र चलायमान गरेको दाबी गरिन्।