नयाँ स्टक एक्सचेन्जलाई लाईसेन्स दिने प्रक्रिया अबिलम्ब रोक्नुपर्छ : सोविता गौतम


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने तयारी रोकिनुपर्ने बताएकी छन् ।

शुक्रबार संसद बैठकमा बोल्दै गौतमले सरकारी स्वामित्वको स्टक एक्सचेन्ज हुँदा हुँदै नेपालको पुँजीबजार कुनै एक निश्चित समुहको कब्जामा हुनेगरी लाइसेन्स दिन भइरहेको तयारी अबिलम्ब रोकिनुपर्ने बताइन्।

२० महिना अगाडी नेपालको पुँजीबजार ३२ सय इन्डेक्समा थियो अहिले १८८९.७५ इन्डेक्समा आउँदा अवस्थामा लगानीकर्ताले लाखौ रकम गुमाएको बताइन् ।

उनले भनिन्, ‘यस्तो गम्भिर परिपेक्षमा सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज जसले सरकारलाई प्रतिवर्ष लगभग १ अर्ब योगदान गरिरहेको छ । यस्तो संस्थालाई कमजोर गराई यसबाट भइरहेको विजनेस नयाँ स्टक एक्सचेन्जमा डाइभर्ट गराई नेपालको पुँजीबजार निश्चित समुहको कब्जामा हुने गरी लाईसेन्स दिने तयारी भइरहेको छ यो अबिलम्ब रोकिनुपर्दछ ।’

यस अघि सरकारी पुर्नबिमा कम्पनीलाई धरासायी बनाउने गरी नयाँ पुर्नबिमा कम्पनी स्थापना जग जायर रहेको गौतमले बताइन् ।