घोराही सिमेन्टको आइपीओमा आवेदन खुला, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज बैशाख १९ गतेदेखि प्रिमियम मूल्यमा ३ लाख ९७ हजार १९० कित्ता सेयरआइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ७५ लाख ४६ हजार ६११ कित्ता सेयरको १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६१ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।

कम्पनीले आईपीओमा उद्योग प्रभावित क्षेत्र दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९ का बासिन्दाले आवेदन दिन सक्नेछन्। दाङकै बिंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाले पनि यो आईपीओमा आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले जेठ २ गतेसम्म आवेदन दिनु पर्नेछ सो अवधिमा उक्त कित्ता बिक्री नभएमा भने आवेदन दिने अवधि जेठ १७ गतेसम्म लम्बिने छ ।

स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा जेठ २ गते र ढिलोमा जेठ १७ गते बैंकिङ समयपछि हुनेछ। स्थानीयले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इन्डस्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले जेठ २ गतेसम्म आवेदन दिन सक्नेछ । उनीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। नागरिक लगानीकोषले घोराही सिमेन्टको आईपीओको प्रत्याभूति गरेको छ ।