कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान घट्यो


काठमाडौँ । कुल ग्राहस्थ उत्पादनमा कृषि वन तथा मत्स्यको योगदान घट्दो अवस्थामा रहेको देखिएको छ । आर्थिक वर्ष २०७९ /८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले कृषिको योगदान घट्दै गएको उल्लेख गरेको छ ।

चालू आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनमा कृषिको हिस्सा २४.१२ प्रतिशत हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यो हिस्सा २४.६७ प्रतिशत रहेको थियो । तर पनि चालू आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको हिस्सा बढी रहेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर स्थिर मूल्यमा २.६९ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा धान लगायतका वर्षे वालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीका साथै दूध अण्डा तथा मासुको उत्पादनमा भएको ह्रासका कारण यसको वृद्धि हुन नसकेको हो ।

कुल ग्राहस्थ उत्पादनमा कृषि पछि थोक तथा खुद्रा व्यापार, गाडि तथा मोटरसाइकल मर्मत सेवाको रहेको छ । यसको हिस्सा १५.३९ प्रतिशत रहेको जनाइएको छ ।

यस्तै, घर जग्गा कारोबारको ८.३७ प्रतिशत, शिक्षाको ८.२२ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा ८.१५ प्रतिशत, वित्तीय मध्यस्तता ७.३७ प्रतिशत, यातायात तथा भण्डारण ६.७९ प्रतिशत योगदान रहेको छ ।

निर्माणकाृ ५.५२ प्रतिशत, उद्योगको ५.५२ प्रतिशत, आवास तथा भोजन सेवाको १.९८, सूचना तथा सञ्चार १.९७ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्य १.९२ प्रतिशत, विद्युत, ग्याँस, वाष्प तथा वातानुकिलत आपूर्ति सेवा १.६४ प्रतिशत हिस्सा रहेको छ ।