एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दिप विरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दिप रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले तत्कालीन ऊर्जामन्त्री रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेको प्रहरीले जनाएको छ ।

यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

सन्दीपले अमेरिका पठाइदिने भनेर एक करोड रुपैयाँको चेक लिएको पाइएको स्रोतले जनाएको छ ।

यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।