औद्योगिक सहरदेखिको आईटी उडान


सन् २०१० बाट व्यावसायिक रूपमा सुरु भएको डाइनामिक एकेडेमिक इआरपी सफ्टवेयरका प्रयोगकर्ता अहिले देशभरि सबै जिल्लामा १५ सय बढी शैक्षिक संस्थामा फैलिएको छ । तीन जनादेखि सुरु भएको योे यात्रामा ८५ बढी कर्मचारी जोडिएका छन् ।

आफै उद्यमशीलता सुरु गर्ने हुटहुटी नहुँदो हो त वीरगञ्जका दीपक शाह अहिले कुनै कम्पनीको सूचना प्रविधि (आईटी) शाखामा जागिरे भेटिन्थे । करिब २५ वर्षअघि दीपकका बुवाले वीरगञ्ज चिनी कारखानामा कम्प्युटराइज्ड अकाउन्टिङको काम थाल्दा नै उनमा कम्प्युटर चलाउने कौतुहल थियो । १२ कक्षा उत्तीर्ण गरिसक्दा दीपकमा कम्प्युटर सफ्टवेयर क्षेत्रमा रुचि बढ्न थाल्यो । 

नेशनल इन्सच्युट अफ इन्फरमेसन टेक्नोलोजी (निट) को शाखा वीरगञ्जमा भर्खर खुलेको थियो । दीपक र उनका साथी सचिन निटमा पढ्न थाले । कम्प्युटर ‘बेसिक’बाट उनीहरूले सी प्लस प्लस, जाभा हुँदै वेव डेभलपमेन्ट, प्रोग्रामिङ, नेटवर्किङ, इन्फरमेसन सेक्युरिटीसम्म अध्ययन गरे ।

व्यापारिक पृष्ठभूमि भएको पारिवारिक माहोलमा हुर्किएका दीपक पढाइमा मध्यम तर व्यवस्थापनमा अलि अब्बल थिए भने उनका साथी सचिन पढाइ उत्कृष्ठ त थिए नै पूर्ण प्राविधिक ज्ञानमा रुचि राख्ने । उनीहरूले पढ्दा पढ्दै जाभामा आफैले अभ्यासका लागि विभिन्न प्रोग्राम निर्माण गर्न थाले । करिब डेढ दशकअघि वीरगञ्जमा प्रोग्रामिङ गर्ने मान्छे भेट्न मुस्किल थियो ।

उनीहरूलाई बाटो देखाउने मान्छे नहुँदा आफै आईटीमा नयाँ गोरेटो कोर्न थाले । दुई साथी मिलेर एउटा सफ्टवेयर निर्माण गर्ने योजना बनाए । आममानिसको दैनिक जोडिने क्षेत्रमा सफ्टवेयर बनाउन सके त्यो प्रभावकारी हुने देखेपछि अनुभवका लागि स्कुलमा चाहिने सफ्टवेयर निर्माण गरे । इन्सिच्युटका गुरूहरूले त्यो सफ्टवेयर रुचाएपछि उनीहरूमा ऊर्जा थपियो । 

वल्र्डलिंकको वीरगञ्ज शाखाका डाइरेक्टरले उनीहरूले बनाएको सफ्टवेयर देखेपछि आकर्षक तबलसहित जागिरको ‘अफर’ गरे । स्नातक तहको पढाई नसकिँदै डेभलपरका रूपमा २५ र ३० हजारको जागिरबाट दीपक र सचिनले करियरको सुरुवात गरे । 

‘डाइनामिक एकेडेमिक इआरपी’ बन्यो व्यावसायिक

“झण्डै एकवर्षको जागिर अनुभवबाट धेरै सिक्दै र विद्यार्थी सोचबाट अलि व्यावसायिक सोचाइ गयौँ,” दीपक भन्छन्, “निर्माण भएको सफ्टवेयरलाई स्कुल र अभिभावकसँग कसरी जोड्ने चुनौती थपियो ।” अभ्यासका लागि बनाएको स्कुल सफ्टवेयर अब तीन साथीको हातेमालोमा व्यावसायिक रूपमा अघि बढ्ने भयो, जसको नाम ‘डाइनामिक एकेडेमिक ईआरपी’ राखे । उनीहरूले सन् २००९ मा करिब १० हजार रुपैयाँमा एक वर्षका लागि स्कुल सफ्टवेयर दिने गरी वीरगञ्जको सेन्ट जेभियर स्कुलसँग सम्झौता गरे ।

सम्झौता गरेको ६ महिनासम्म पनि सफ्टवेयर दिन नसकेपछि जँगिर छोडेर दुवै साथीले कम्पनी दर्ता गरेर आफैले बनाएको स्कुल सफ्टवेयर (डाइनामिक एकेडेमिक इआरपी) को योजनालाई बृहत् बनाएर अघि बढाउने निधोमा पुगे । अफिस खोल्नुभन्दा अघि अर्का साथी अर्जुन साह पनि उनीहरूको उद्यममा जोडिए । “त्यस बेला वीरगञ्जमा सफ्टवेयर किनेर चलाउनुपर्छ भन्ने कर्पाेरेट हाउस बाहेकलाई थाहा थिएन्,” दीपक भन्छन्, “तीन जना साथीले केही महिना लगाएर सफ्टवेयरमा एचआर, पे रोल लगायतका विभिन्न सुविधा थप गर्दै लग्याैँ ।” 

अन्तत अभ्यासका लागि बनाइएको डाइनामिक एकेडेमिक इआरपी प्रतिवर्ष १० हजार रुपैयाँमा विद्यासदन, मास्र्कड र एन्जल स्कुलसँग व्यावसायिक सम्झौता भयो । 

वीरगञ्जदेखि देशभर फैलिएको स्कुल सफ्टवेयर 

वीरगञ्जको सीमित आइटी बजारबाट उदय भएको डाइनामिक टेक्नोले बनाएको डाइनामिक एकेडेमिक ईआरपी सफ्टवेयर सन् २०१७ सम्मै झण्डै ५० जिल्लामा फैलियो । यसपछि देशका सबै जिल्लामा स्कुल सफ्टवेयर पुर्‍याउने उनीहरूको योजनामा थप असहजता देखिन थाल्यो । 

“नयाँ जिल्लामा बजार विस्तारका लागि जाँदा माथिदेखि तलसम्म हेर्थे, कारण थियो वीरगञ्जदेखिको उदय,” दीपक भन्छन्, “अझ वीरगञ्जमा स्थापना भएर काठमाडौँका स्कुललाई सर्भिस दिन्छौँ भनेर बुझाउन धेरै मेहनत गर्नु परेकोे थियो । टेक्नोलोजीको फैलावट काठमाडौँदेखि बाहिर जान्छ भन्ने अधिकांशको बुझाइ हुँदा थप चुनौती थियो ।” सन् २०१० बाट व्यावसायिक रूपमा सुरु भएको डाइनामिक एकेडेमिक इआरपी सफ्टवेयरका प्रयोगकर्ता अहिले देशभरि सबै जिल्लामा १५ सय बढी शैक्षिक संस्थामा फैलिएको छ । तीन जनादेखि सुरु भएको योे यात्रामा ८५ बढी कर्मचारी जोडिएका छन् । 

बजार विस्तार हुँदै गएपछि आवश्यक जनशक्ति वीरगञ्जमा पाउन मुस्किल भयो । व्यावहारिक रूपमा पनि वीरगञ्जदेखि देशका अन्य जिल्ला पुग्न टाढा भएपछि दीपकको टिमले सात वर्षअघि काठमाडौँमा शाखा खोले । वीरगञ्जमा सिंगो घर भाडामा लिएर कर्पाेरेट अफिस बनाइसकेको डाइनामिक टेक्नो टिमले काठमाडौँमा भने बानेश्वरमा साथीको फ्ल्याटको एउटा कोठाबाट सेवा सुरु गरेको थियो । 

डाइनामिक एकेडेमिक सफ्टवेयरका प्रयोगकर्ता बढ्दै गएपछि बानेश्वरको एक कोठाबाट चलेको अफिस १० जनाको टिमसहित बबरमहलमा सर्‍यो । केही समयमै २२, २५ हुँदै अहिले ४० जना बढीका टिमले काठमाडौँको शाखा चलाएको छ भने १३ वर्षअघि वीरगञ्जबाट उदय भएको डाइनामिक टेक्नोसफ्टले स्वदेशमा अहिलेसम्म काठमाडौं, बुटवल, इटहरी, पोखरामा शाखा विस्तार गरिसकेको छ । गतवर्षदेखि उनीहरूको टिमले छिमेकी देश भारतमा पनि शाखा खोलेर सेवा दिन सुरु गरेको छ ।

“इन्डियामा हामीले बिहार र चेन्नाईमा शाखा खोलेर २५ जनाको टिमले करिब ८० स्कुलमा हाम्रो सेवा दिइरहेका छौँ,” दीपक भन्छन्, “सफ्टवेयर र डिजिटल सोलुसन भारतबाट नेपाल आउने प्राक्टिस चिर्दै एकेडेमिक प्रोडक्टबाट आम्दानी भित्र्याएका छौँ ।”

स्थापनाको समयमा भीभीमा निर्माण भएको सफ्टवेयर अहिले वेव र कोर डट नेटमा रि–इन्जिनियरिङ भएको जानकारी दिँदै दीपकले थपे– “चारदेखि पाँच पटकसम्म यसमा पुनरावलोकन गरेर थप परिष्कृत गरिएको छ । अहिले डाइनामिक एकेडेमिक इआरपी सफ्टवेयरमा एउटा विद्यालयका लागि चाहिने ३० भन्दा बढी मोडलमा उपलब्ध छ ।” एकेडेमिक इआरपी सफ्टवेयरबाट सुरु भएको डाइनामिक टेक्नोसफ्ट डाइनामिक टेक्नो ग्रुपमा रूपान्तरण भएको छ ।

ग्रुपको नेतृत्वमा यसबाहेक डाइनामिक एकान्ट इआरपी, डाइनामिक हस्पिटल सफ्टवेयर, डिलरसाथी, मेरो मेम्बर इआरपी, डाइनामिक एचआर एन्ड पेरोल सिस्टम छ ।  केही वर्षयता ग्रुपले व्यापारको काममा पनि हात हालेको छ । दुगड ग्रुप, सारदा ग्रुप, हुलास स्टिल, गोदावरी स्टिल लगायतका डेढ दर्जनभन्दा बढी कर्पाेरेटलाई एकाउन्ट ‘इन्टरप्राइज रिर्सोर्स प्लानिङ’ (इआरपी)को सेवा दिएको छ । 

१० हजार रुपैयाँदेखि व्यावसायिक यात्रा शुरु गरेको डाइनामिक ग्रुप २० करोड रुपैयाँभन्दा बढीकोे वार्षिक कारोबार गर्ने संस्था बनेको छ । उद्योग वाणिज्य संघको व्यावस्थापकीय सफ्टवेयरलाई पुनरावलोकन गरेर मेरो मेम्बर डट कम पोर्टलको अवधारण ल्याएको छ । जापान रेमिटमा सफ्टवेयरको काम गरिरहेका ग्रुपले आउने वर्षभित्र भुटान, युएई लगायतका एसियाली देशहरूमा सेवा विस्तारको योजना बनाएको छ । 

‘सफ्टवेयरमा विशिष्टीकरण जरुरी छ’

केही वर्षअघिसम्म आममानिसले यस्ता सफ्टवेयर मार्कसिट छाप्ने र बिल निकाल्ने विधिका मात्र बुझ्थे भन्दै उनी कोभिडयता त्यो बुझाइमा फरक आएको बताउँछन् । “सात/आठ वर्ष अघिसम्म सफ्टवेयरमा अहिलेजस्तो धेरै भेराइटी हुँदैनथे, अब सफ्टवेयरमा विविधीकरण जरुरी छ,” उनी भन्छन्, “अहिले ‘स्पेसल सोलुसन’मा प्रतिस्पर्धा भइरहेको छ, सफ्टवेयर यति गहिराइमा पुगिसके कि संस्था र आवद्घ व्यक्तिलाई सफ्टवेयर वा एप्लिकेसन जोड्ने पुल बनेको छ ।” 

सफ्टवेयर कम्युनिकेटरका रूपमा अघि बढिसकेको उनको बुझाइ छ । दीपकका अनुसार स्कुल सफ्टवेयर जहाँ विद्यालय परिवारले अकाउन्ट, एचआर, बसहरूको जीपीएस, वार्षिक कार्यक्रम लगायतका दुई दर्जन बढी मोडुल्समा गतिविधि अनलाइनमा राख्न सक्छन भने, अभिभावकले छोराछोरीको स्कुलको सबै जानकारी मोवाइलमा पाउँछन् । डाइनामिक एकेडेमिक इआरपीमा जोडिएका विद्यालयका अभिभावकले वार्षिक १५० रुपैयाँदेखि २५० रुपैयाँसम्म तिरेर स्कुल सफ्टवेयरको सेवा लिन पाउँछन् ।

करिब डेढ दशकअघि वीरगञ्जमा प्रोग्रामिङ गर्ने मान्छे भेट्न मुस्किल थियो । उनीहरूलाई बाटो देखाउने मान्छे नहुँदा आफै आईटीमा नयाँ गोरेटो कोर्न थाले । दुई साथी मिलेर एउटा सफ्टवेयर निर्माण गर्ने योजना बनाए ।

“अबका सफ्टवेयर भनेको त कम्युनिकेटर हुनुपर्छ । विद्यालयको ड्राइभर र किचेनको मेसदेखि लिएर शिक्षक, सञ्चालक पनि जोडिनु पर्छ,” उनी भन्छन, “त्यसमा जोडिने हरेक व्यक्ति एपमा उसलाई आवश्यक एउटा निश्चित परिधिसम्म मात्र पुग्न सक्छन् । सञ्चालकले विद्यालयको सबै जानकारी हेर्ने भए, मेसका कर्मचारीले मेसको खाद्यान्न, उपस्थित विद्यार्थीको संख्या अनि अभिभावकले स्कुल बसको जीपीएस हेरेर बच्चा लिन र पु¥याउन पुग्लान । सबैले आफूलाई आवश्यक फिचर पाउने भए ।” 

कोभिडपछि सफ्टवेयरमा आकर्षण बढ्दो 

कोभिडले अधिकांश क्षेत्रको विकासमा बाधा थपे पनि सफ्टवेयरमा कर्पाेरेटहरूसहित आम मानिसको आकर्षण भने बढ्यो । अहिले सहकारीदेखि अस्पताल, विद्यालयदेखि धेरै संस्थाहरूले अनलाइन सेवा दिन थालेका छन् । कोभिडपछि कर्पाेरेटहरूले सफ्टवेयर कम्पनीलाई सम्पर्क गर्न थाले । 

“हाम्रो समस्या कहाँ छ भने हामी नयाँ प्रविधिको प्रयोगमा जान रुचि राख्दैनौँ तर कोरोनामा कक्षा, अन्य सेवाहरू सकेसम्म अनलाइनबाटै प्रवाह गर्नुपर्ने बाध्यता भएपछि मात्र प्रयोग गर्‍याैँ,” उनी भन्छन्, “कोरोनाको समयमा धेरै कुरामा परिवर्तन भयो । शिक्षा, स्वास्थ्य र समग्र क्षेत्रलाई अनलाइनमा ल्याउन कोरोनाले पाँच सात वर्ष हतार लगाएकै हो ।”

यसले सफ्टवेयरमा विविधीकरण र नयाँ स्टार्टअपलाई सम्भावनाको ढोका खोलेको उनको बुझाइ छ । “अनलाइन सर्भिसका नयाँ मोडल जन्माउन सके ब्रान्डिङको यो उत्कृष्ट समय हो,” उनी भन्छन्, “अहिले कर्पाेरेट र आम मानिस तिनका प्रयोगकर्ता दुवै पक्ष एकसाथ अनलाइन वा सफ्टवेयरमा जान चाहिरहेका छन्, यो माहोल यसअघि थिएन ।” 

स्थानीय बजारको विस्तार

राम्रो उत्पादन र सेवा दिन सके नेपालमा पनि सफ्टवेयरको बजार दिनप्रतिदिन उचालिँदै गएको दीपकको अनुभव छ । “खास तल्लो तहका सर्वसाधरणले सूचना प्रविधिको प्रयोग बढाएको त कोभिड आएपछि हो । सफ्वेयरमा लैजान बाँकी धेरै क्षेत्र छन्, हामीले त्यो क्षेत्र समात्न सकेनौँ भने बाहिरका कम्पनीले त्यहाँ प्रोडक्ट बेच्छन,” उनले भने । 

राम्रो उत्पादन र सेवा दिने कम्पनीका लागि नेपाल निकै सम्भावना भएको बजार देख्छन् उनी । “चलिरहेको प्रोडक्टमा अस्वस्थ्य प्रतिस्पर्धा गर्नुभन्दा नयाँ योजनासहित स्टार्टअप सुरु गरे त्यो लामो समयसम्म टिकिराख्छ,” दीपक भन्छन्, “ भइरहेकै प्रोडक्टमा प्रतिस्पर्धा गर्न आएका बढी स्टार्टअप असफल भएको देख्छु । २० वटा प्रोडक्ट भएको क्षेत्रमा २१ बनेर आउँदा सफल हुने सम्भावना अति न्यून हुन्छ ।” 

‘सरकारले संयन्त्र बनाउनु पर्छ’

सरकारले पछिल्लो समय शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई सफ्टवेयर प्रणालीमा लैजान पहल गरिरहेका कुरा आफैमा सह्रानीय भएको भन्दै उनी सरकारले एउटा संयन्त्र बनाएर उपत्यकाबाहिरका कम्पनीलाई पनि जोड्न सके स्थानीय स्तरका स्टार्टअप अगाडि बढ्ने धारणा व्यक्त गर्छन् ।

सरकारले दिने सेवामा एकरुपता ल्याउने भए सरकारले आफ्नै प्रणालीगत मानक तोक्नुपर्ने उनको भनाइ छ । “प्रविधिलाई स्तरोन्नति गराएर काम गर्न इच्छुक कम्पनीलाई एउटा मापदण्ड राखेर जोड्नुपर्छ । केन्द्रको कम्पनीले सेटिङ मिलाएर देशभरका निकायमा एउटै कम्पनीलाई जिम्मा दिँदा स्थानीय स्तरमा संघर्ष गरेका स्टार्टअप माथि उठ्न सकिरहेका छैनन्,” दीपक भन्छन्– “उपत्यकाबाहिर पनि आइटीका कजेल, इन्सिटिच्यूट खोल्न सरकारले केही सहयोग वा सहुलियत दिने हो भने यो रेमिट्यान्स भित्र्याउने सम्भावना बोकेको क्षेत्र हो ।”

(टक्सार म्यागजिन, २०८० बैशाख अंक, पृष्ठ ६३ देखि ६५ सम्म)