सिटी होटलको आइपीओमा आजदेखि आवेदन खुल्यो


काठमाडौं । सिटी होटल लिमिटेडले आजदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको छ । कम्पनीले आज वैशाख २५ बाट सर्वसाधारणको लागि साढे १३ लाख बढि कित्ता सेयर आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

क्रम्पनीले पहिलो चरणमा चैत्र २१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्कासन गरेर वैशाख ५ गते बन्द गरेको थियो।

कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपियाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपियाँ बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । कूल निष्काशन मध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ६६ हजार ९ सय ६० कित्ता कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणहरुका लागि छुट्टाएको छ । कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

उक्त आइपीओलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।