स्रोतको सिमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना छः अर्थमन्त्री महत


काठमाडाैँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले स्रोतको सिमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले सबै ठाउँमा दिएकाे भन्दै कनिका छरे जस्तो गरी बजेट नछर्ने बताए।

आफूलाई बजेट छर्ने दबाब रहेको भए पनि आफूले त्यस्तो नगर्ने संकेत गर्दै उनले एउटा आर्थिक वर्षमा एउटा काम देखिने गरी गर्नु पर्ने धारणा राखे ।

डा. महतले सरकारसँग स्रोतको सुनिश्चिता रहेकाले स्रोत सुनिश्चिता अनुसार काम गर्नुपर्ने अवस्था रहेको चर्चा गर्दै बजेटमा क्षेत्रगत मात्रै प्राथमिकताका नभएर अब क्षेत्रगत भित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताए।

बजेटको चुनौति भनेकै महत्वकांक्षा र आवश्यकताहरु धेरै भएको भन्दै साधन र स्रोतको सिमिततामा बस्नुपर्ने अवस्था रहेको बताए। उनले भने, “जनताको आवश्यता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको आवश्यकता छ । माग गर्नु स्वभाविक हो तर, स्रोतको सिमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको छ । सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जसरी बजेट नछरौं । एउटा गरौं, देखिने गरी गरौं । अर्को वर्ष अर्को गर्छ भन्नुको विकल्प छैन।”

डा. महतले सरकार आगामी बजेटमा जनतामा राज्य प्रतिको भरोसा र भविष्य प्रति आशा जगाउनेतर्फ उन्मुख हुनेगरी बजेट ल्याउने प्रतिवद्धता जनाए। वर्तमान समस्या र चुनौति समाधान गरी राज्यप्रति जनताको भरोसा टुटन नदिन सरकारले गम्भिरताका साथ अग्रसर रहेको दाबी उनकाे छ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति र वित्त नीतिको तारतम्य एउटै गन्तव्यमा हिँड्नुपर्ने बताए । “कसिलो राष्ट्र बैंकको मौद्रिक नीति र अर्कोतर्फ सरकारबाट पुँजीगत खर्च नहुनुले अर्थतन्त्रमा सिशथलता ल्यायो,” उनले भने, “अर्थतन्त्रलाई चलायमान गराउन मौद्रिक नीतिलाई खुकुलो बनाउनुपर्छ, खुकुलो बनाउँदा ब्याजदर कम हुन्छ, ब्याजदर कम हुँदा उद्योग व्यवासायमा ऋण लिन चाहन्छन् ।”

सांसदहरुले उठाए जस्तो मुलुकको अर्थतन्त्र धराशायी भइसक्यो, खत्तम भइसक्यो भन्ने अवस्था नरहेकाे तर्क उनकाे छ । डा. महतले भने, “यो ओरालो लागेको पनि होइन, अर्थतन्त्र तिब्ररुपमा उकालो चढ्नुपर्ने भएपनि त्यसरी चढेको छैन । अहिले पनि आर्थिक वृद्धि पोजेटिभ नै छ ।”

अर्थतन्त्र उकालो नै लागि रहेको उनकाे भनाइ छ । “तर जुन रफतारमा उकालो लाग्नुपर्ने थियो । लाग्न सकेको छैन । मैले त्यो स्वीकार गरेको छु । सामान्यतया विनियोनित बजेटको सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्दा अर्थतन्त्रमा यी कमजोरीहरु छन् भनेर विगतमा बजेट प्रश्तुत गर्ने प्रचलन थिएन ।” उनकाे भनाइ छ ।

सरकारलाई ऋणको दायित्व बढ्दै गएको डा. महतले बताए।अर्थतन्त्रमा देखिएका शिथिलता विदेशी मुद्रालाई व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनकाे भनाइ छ । मुलुक श्रीलंका बन्ने बहस हुँदा त्यसलाई मध्यनजर राखेर मौद्रिक नीति ल्याउँदा र आयातमा प्रतिवन्ध लगाउँदा केही समस्या आएको बताए।