काठमाडौँ महानगरमा सहकारीविरूद्ध उजुरीकाे चाङ, बचतकर्ताकाे रकम धरापमा


काठमाडौँ । पछिल्लो समय देशभरका सहकारी संस्थाहरू बढी कमाउने होडमा बचतकर्ताकाे रकम अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्यामा परेका छन् । काठमाडौँ महानगरपालिकाको क्षेत्रधिकार पर्ने १ हजार ९५५ संस्थाहरू मध्ये १७५ वटा उजुरीहरू महानगरको सहकारी विभागमा परेको विभागले जनाएकाे छ ।

नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका आर्थिक विकास एक बहुउद्देश्यीय, बहुक्षेत्रीय, बहुआयामिक अवधारणा हो । यसले अर्थतन्त्रको समृद्घिको अवस्था सिर्जना गर्छ । यसमा भौतिक तथा मानवीय पक्षको विकास पनि समावेश हुन्छ भन्ने नै हो । राज्यले अवलम्बन गरेको तीन खम्बे अर्थनीति सार्वजनिक, निजी र सहकारीमध्ये एक खम्बाका रूपमा सहकारी क्षेत्रलाई समेत लिएको छ ।

तर पछिल्लो समय संस्थाहरू मूल्य मान्यता विपरित बचतकर्ताको निक्षेप अनुत्पादक क्षेत्रमा लगानी गर्दा महानगरमा उजुरीको चाङ थुप्रदै गएकाे काठमाडौँ महानगरपालिका सहकारी विभागकी उप -निर्देशक विमला कोइरालाले बताइन् । उनले भनिन्, “सहकारीको मूल्य मान्यता अनुसार बचत ऋण भनेर दर्ता गरेपछि बचत ऋण नै गर्नुपर्ने थियो । बहुउद्देश्य भनेर दर्ता गरेपछि उत्पादन क्षेत्रमा नै लगानी गर्नुपर्ने थियो । तर बढी कमाउने होडमा ठूला कम्पनीदेखि, गाहना पसल, घर र गाडीमा लगानी गर्दा यस्तो नतिजा आयो ।’’

६२ वटा सहकारी कारवाहीकाे प्रक्रियामा

देश संघीयतामा गएसँगै सहकारी दर्ता, नियमन र खारेज गर्ने अधिकार स्थानीय तहलाई छ । स्थानीय तहको मातहतमा २६ हजार, प्रदेश मातहतमा ६ हजार र एक सय २५ वटा सहकारी विभागअन्तर्गत छन् । योसँगै आफ्ना कार्यक्षेत्रभित्र परेका संस्थाहरूमा यदि समस्या आयाे भने त्यसकाे समाधान गर्नदेखि कारबाहीकाे दायरामा ल्याउने जिम्मा तीनै तहमा रहेको हुन्छ । काठमाडौँ महानगरपालिकाभित्र रहेका १ हजार ९५५ सहकारी मध्ये महानगरको विभागले अहिले १७५ वटा सहकारीको उजुरी सुनुवाई गरिरहेको छ । जसमध्ये ११३ वटा आफैँ हेरिरहेको छ भने ६२ वटा सहकारीका संचालकलाई कारबाही गर्नको निम्ति प्रहरीमा पठाएको विभागकी उप-निर्देशक कोइरालले बताइन् ।

उनका अनुसार महानगरपालिकामा आएका उजुरीका आधारमा अध्यक्षदेखि संचालकलाई बोलाउने र बचतकर्ताकाे निक्षेप कहिलेसम्म फिर्ता गर्ने भन्रे विषयमा दुबै पक्षलाई मिलाएर समाधान गर्ने गरेका छौँ । “केही सहकारीहरू जुन हामीले विभागमा बाेलाउँदा पनि नआउने र बचतकर्ताको रकम फिर्ता गर्नपनि नखोज्नेलाई प्रहरीको पठाएको छौँ ।” उनले भनिन्, “फिर्ता गर्न खोजेका संस्थाहरूले महिनाको ५० हजारदेखि १ लाखसम्म फिर्ता गर्दै आएका छन् ।’’

उजुरी परेका सहकारीकाे लगानी अनुत्पादक क्षेत्रमा

सहकारी संस्थाले कुल ऋणको ५१ प्रतिशत ऋण उत्पादन तथा आयमूलक व्यवसायमा केन्द्रित गर्नुपर्ने हुन्छ । तर संघीयता पछि संस्थाको नियमन प्रभावकारी नहुदाँ संस्थाहरू जोखिममा परेका छन् । उप-निर्देशक कोइरलाले विभागमा आएका सबै उजुरीहरू अनुत्पादक क्षेत्रमा भएको बताइन् । उनले भनिन्, “प्राय जसो सबैले बचतकर्ताको निक्षेप घर, जग्गा कारोबारदेखि सेयर बजारमा लगानी गरेका पाइएको छ । त्यो लगानी गरेको रकम अहिले नै उठ्ने अवस्थामा पनि छैन । जग्गाको कित्ता काट खुलेपनि त्यसको बजार मूल्य निकै कम छ त्यसले गर्दा भर्खर रकम फिर्ता गर्न समस्या छ ।’’

सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्ययले देशभर ठूला भनिएका सहकारीमा समस्या आउनुको मुख्य कारण नै अनुत्पादक क्षेत्रमा लगानी हुदाँ आएको बताएका छन् । उपाध्ययले आफूहरू देशभरका सहकारी नियमन गर्न हिड्दा समस्यामा परेका सहकारीहरूले ठूला -ठूला कम्पनी र घरजग्गामा भएको बताएका छन् ।