तुलनात्मक लाभका वस्तुहरूको उत्पादन बढाएर प्रतिस्थापनको बाटोमा जानुपर्छ : अध्यक्ष अग्रवाल


काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आयात रोक्नु समाधान नभएको भन्दै तुलनात्मक लाभका वस्तुहरूको उत्पादन बढाएर यसलाई प्रतिस्थापनको बाटोमा जानुपर्नेमा जोड दिएका छन् ।

‘मेक इन नेपालः स्वदेशी समिट २०२३’लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आयातमा निर्भर उपभोगका बिदेशी मुद्रा संचितिमा पर्ने दबावको दिगो समाधानका लागि हामीले आयात प्रतिस्थापन गर्नुपर्ने र विदेशी मुद्राका स्रोतहरू बलियो बनाउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसंघले स्थापनादेखि नै नेपालमा औद्योगिक विकासका लागि पहल गर्दै आएको बताउँदै गतवर्ष मंसिरमा आयात बढेर विदेशी मुद्रा संचिति छोटो अवधिमै साढे २ अर्ब डलरले घटेपछि सबैले औद्योगिकरण र आन्तरिक उत्पादनको महत्व झन् राम्रोसँग बुझेको अध्यक्ष अग्रवालको भनाई छ ।

अध्यक्ष अग्रवालले आयातमा निर्भर उपभोगका कारण विदेशी मुद्रा संचितिमा पर्ने दबावको दिगो समाधानका लागि हामीले आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए ।

परिसंघले दुई दशकअघि नै यो आवश्यकताको आँकलन गरेर नेपालमा उद्योग र औद्योगिक वातावरण प्रवर्द्धनको नेतृत्व गर्दै आएको छ अध्यक्ष अग्रवालको भनाई छ ।

उनले भने,“उद्योगले ठुलो लगानी मात्र आकर्षित गर्दैन, व्यापक रोजगारी सिर्जना गर्छ । आन्तरिक उत्पादनबाट आयात प्रतिस्थापनका साथै सरकारलाई राजस्वको दिगो स्रोतको सुनिश्चितता पनि गर्छ ।”

यो वास्तविकतालाई मनन गरेर परिसंघले उद्योग मन्त्रालयसँगको सहकार्यमा करिब दुई वर्षअघि महत्वाकांक्षी अभियान ‘मेक इन नेपालः स्वदेशी’ सार्वजनिक गरेको उनले जानकारी दिए ।

उनले यो अभियानको मुख्य उद्देश्य नेपालमा उत्पादन र नेपाली वस्तुको उपभोग बढाउने र दोस्रो, नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाएर विश्वबजारमा पुर्‍याउने रहेको उल्लेख गरे । यस वृहत् अभियानको कार्यान्वयनबाट स्पष्ट चार उद्देश्य हासिल हुने अपेक्षा परिसंघको छ ।

वार्षिक १ हजार नयाँ उद्योग दर्ता,एसडीसीको लक्ष्यअनुसार कुल ग्राहस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५% पुर्याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना र ५ वर्षभित्र वार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पुर्‍याउने उल्लेख छ ।