नेपालको छुर्पी उद्योगमा ५ अर्ब रुपैयाँ भन्दा बढी लगानी,करले अन्योलमा


काठमाडौँ । नेपालको छुर्पी उद्योगमा ५ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार विदेश निर्यात हुन थालेपछि छुर्पी उद्योगमा लगानी बढ्दै गएको छ ।

एसोसिएसनको तथ्याङ्क अनुसार छुर्पी उद्योगमा ५ अर्ब रुपैयाँ भन्दा बढी लगानी पुगिसकेको छ । यो अझै बढ्ने क्रममा रहेको एसोएिसनका अध्यक्ष प्रल्लाद दाहालले जानकारी दिए ।

छुर्पीको लागि मात्रै दैनिक ५ लाख लिटर दुध खपत हुने गरेको छ भने उद्योग तथा किसान तहमा १ लाख ५० हजार जनाले रोजगारी भएको एसोसिएसनको तथ्याङ्क छ ।

सहरबाट गाउँसम्म नगद प्रवाह दैनिक २ करोड भइरहेको र विदेशी मुद्रा वार्षिक आम्दानी ३ देखि ४ अर्ब छ ।

एसोसिएसनका छुर्पी तथा चिज संयोजक निराजन कोइरालाले भने,“छुर्पीले विदेशी मुद्रा स्वदेशमा भित्राइरहेको छ । यसले डेरी क्षेत्रलाई पनि उत्साहित बनाइरहेको छ ।”

यद्यपी राज्यले निर्यातमा अनुदान दिए पनि छुर्पी उत्पादन कर्तालाई अनुदानले समेट्न नसकेको उनको गुनासो छ ।

छुर्पीमा आयकर र भ्याटको कुरा स्पष्ट नभएकोले छुर्पी उत्पादन र बिक्री अन्योलमा परेको अध्यक्ष दाहालले जानकारी दिए ।

समस्या समाधानका लागि छुर्पी उद्योगिहरूले अर्थ मन्त्री, कृषि मन्त्री लगायत सरोकारवाला निकायलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका छन् ।

एसोएिसनका महासचिव हेमचन्द्र खनालले भने,“देशका लागि यस उत्पादनको महत्वलाई ध्यानमा राख्दै छुर्पीमा कर लाग्ने हो कि होइन भन्ने अन्योल उद्योगको विकासमा ठूलो बाधक बनेको छ । उत्पादक र निकासीकर्ताले ढुक्क भएर व्यापार गर्न सकेका छैनन् ।”

एकपटक उत्पादनलाई कर नलाग्ने भनी स्पष्टगरेपछि सबै व्यापारीहरूले औपचारिक रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने छुर्पी तथा चीजका संयोजक कोइरालाको भनाई छ ।

उनले भने,“त्यसपछि उनीहरूले उपयुक्त बैंकिङ सेवाहरूको आनन्द लिन सक्छन् र निर्यात बढाउन आवश्यक वित्तीय जोखिम लिन सक्छन् ।”

छुर्पी नेपालको आफ्नै मौलिक उत्पादन भएको भन्दै अहिले भारत लगायत युरोपमा पनि बन्न शुरुवात भईसकेको एसोसिएसनको भनाई छ ।

विदेशमा उत्पादित छुर्पी समेत नेपालको नामबाट बिक्री वितरण गर्दै आउन थालिसकेको भन्दै एसोसिएसनले छुर्पीको ‘प्याटेन्ट राईट’ विदेशी मूलुकले लिएको खण्डमा आफ्नै मौलिक उत्पादन भएता पनि नेपालले रोयल्टि तिर्नुपर्न सक्ने उल्लेख गरेको छ ।

एसोसिएसनले भनेको छ,“आफ्नो मौलिक उत्पादनको जगेर्ना गर्दै नेपालले प्याटेन्ट राईट लिएमा रोयल्टि मार्फट विदेशी मुद्रा समेत आर्जन गर्न सकिने छ र आफ्नो मौलक उत्पादनको जगेर्ना पनि हुनेछ ।”