इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न पौडेलको माग


काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रूपमा बढाउन लागेको भन्दै रोक्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेटको मूल्य अनुचित रूपमा बढाउन लागेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

“हरेक व्यक्ति प्रविधिसँग जोडिन चाहन्छ । राज्यले सबै क्षेत्रलाई प्रविधिकरण गर्ने राष्ट्रिय अभियानजस्तै सुरु गरेको छ । प्रविधिकरणका लागि इन्टरनेट अनिवार्य हुन्छ । अहिले उपलब्ध सेवामा गुणस्तरीयता, गति, क्षमता, निरन्तरता केही पनि छैन । सेवा अवरुद्ध हुँदा अवधि बराबरको सेवा प्रदान गर्ने वा अबरुद्ध अवधिको शुल्क नलाग्ने शर्त समेत पालना गरिएको छैन ।” उनले भने, “इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिस्पर्धा गरिरहेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नुभन्दा रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको छ । तसर्थ इन्टरनेट कम्पनीहरूले बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न उनीहरूलाई स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण बनाउन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।”

इन्टरनेट सेवा प्रदायकले सेवाको गुणस्तर बढाउनुपर्ने पौडेलले बताए । गुणस्तर वृद्धिमा नलागेर मूल्य बढाउन लागेको भन्दै उनले आपत्ति जनाएका हुन् ।