क्रिकेट खेलाडीलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मान गर्दै हौसलाका लागि सम्मान गरेको छ ।

बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरूलाई सोमबार एक समारोहकाबिच नगदसहित सम्मान गरेको हो । हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरूलाई जनही एक लाख रुपैयाँ र ८ जना टिम अफिसिलयलहरूलाई जनही ५० हजार रुपैयाँ नगद बैंकले प्रदान गरेको बैंकले जनाएको छ ।

नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा। बलराम पाठकले खेलाडी तथा टीम अफिसिलयहरूलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताए ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तराष्ट्रिय रूपमा क्रिकेले राष्ट्रको नाम उच्च बनाएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गर्ने बताए ।