तातोपानी नाकामा व्यवसायीका दुःख, दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी


काठमाडाैँ । नेपाल र चीनबीचको व्यापारीक नाका तातोपानी सञ्चालनमा आएपनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो । तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनिय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरूले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन् ।

पछिल्लो समय सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट व्यवसायीहरुका सामान आयात गर्नै छोडेका छन् । सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीहरुले अर्को नाकाबाट सामान आयात गर्ने गरेको गुनासो गरे । सडकको स्तारोन्नति र बिस्तार हुन नसक्दा व्यवसायीहरुले वर्षेनी सास्ती भोग्नुपरेको छ ।

तातोपानी क्षेत्र भौगोलिक रूपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम शुरु भएसँगै सडकमार्ग जिर्ण छ । नेपाल—चीन जोड्ने नेपालको प्रमुख व्यापारीक तातोपानी नाका भएपनि सडक मार्गको समस्याले सधैँ ग्रसित छ । चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरो लगायतका समस्याका कारण सधैँ भासिने गरेको छ ।

व्यवसायीहरूले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालिन मर्मत गर्न नसक्दा सधैँ जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गर्छ ।

व्यापारीक नाका भएकाले सामान बोकेर ठूला कन्टेनर सहज रुपमा गुड्नसक्ने अवस्था नहुँदा सडक दुर्घटनाको ठूलो जोखिम भएपनि अहिलेसम्म सरकारले उक्त सडकको स्तरोन्नति गरी दीर्घकालिन समस्या समाधानको उपाय खोज्न सकेको छैन । चीनबाट तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यवासायीहरू नाकाको मुख्य सडक मर्मत नहुँदा समान ढुवानी गर्न समेत समस्या भएको गुनासो गर्छन् ।

व्यवसायी दामोदर सत्यालले ४० फिटको कन्टेनर सामान बोकेर काठमाडौँसम्म ल्याउनको लागि सडक जिर्ण भएकाले असहज भइरहेको बताए ।

उनले सरकारले चीनसँगको प्रमुख व्यापारीक तातोपानी नाका जोड्ने सडक पूर्वाधार मजबुत बनाउन नसकेको बताए । उनले सडक पूर्वाधार मजबुत भए मात्रै नाका सञ्चालनमा सहज हुने बताए । उनले सडक जिर्ण भएकै कारण चीनबाट आयात गरिएको सामानको मूल्य काठमाडौं पुर्याउँदा बढ्ने गरेको बताए । उनले भन्सारमा व्यवासायीका लागि आवश्यक सबै सुविधा सरकारबाट प्राप्त भएपनि सडक मार्ग भने राम्रो बनाउन नसक्दा सधैँ समस्या भएको गुनासो गरे ।

अर्को व्यवसायी विजय शेर्पाले बाह्रबिसेदेखि तातोपानी नाकासम्म २४ किलोमिटर सडक जोखिमपूर्ण रहेको बताए । उनले सामान बोक्ने ठूला कन्टेनर सडकमा गुड्न लागेकाले समस्या भइरहेको बताए । स्थानीय पालिका र व्यवसायीहरुले सरोकारवाला निकायहरूलाई सडक मार्ग स्तर उन्नतिका लागि पहल गर्न आग्रह गर्दा पनि अहिलेसम्म हुन नसकेको भन्दै उनले गुनासो गरे । उनले सरकारले तातोपानी नाका जोड्ने सडक समयमानै स्तर उन्नति गरे स्थानीयदेखि व्यवसायीहरूलाई समेत सहज हुने बताए ।

त्यस्तै,तातोपानी सडकका कन्टेनर चालक पेम्बाछिरिङ तामाङले तातोपानी सडकमा ढुवानीको कन्टेनर चलाउन असहज रहेको बताए । उनले सडक सानो र साँघुरो भएकाले दुई तर्फबाट कन्टेनर आउँदा साइट दिने ठाउँ समेत नहुने अवस्था रहेको बताए । उनले कन्टेनर बेला—बेलामा सडकमाथिको पहाडमा ठोक्किने समस्या रहेको समेत बताए ।

तोतापानी नाका पूर्णरुपमा सञ्चालनमा आउँदा सडकमा सवारी साधनको चाप बढ्ने तर सडकको अवस्था भने दयनीय छ । तातोपानी नाका सहज रूपमा सञ्चालनमा आएपनि सडक मार्गको अवस्था नाजुक र जिर्ण रहेका कारण सामान ढुवानीमा समस्या छ । कोदारी लोकमार्गको विभिन्न खण्डमा वर्षा याममा बाढी र भेलले सडक वर्षैपिच्छे क्षतिग्रस्त हुने गरेको छ । तातोपानी नाका जोड्ने बाह्रबिसेदेखि नाकासम्मको सडकखण्ड व्यवस्थित बनाउन सरकारले दीर्घकालीन योजना बनाइ सडकको समस्या समाधान गर्न आवश्यक देखिन्छ ।